विद्यार्थीलाई गृहकार्य होइन उत्प्रेरणा दिनुपर्छ

विद्यार्थीलाई गृहकार्य होइन उत्प्रेरणा दिनुपर्छ

सुनसरीमा जन्मिएका कुमार थापा वृहस्पति विद्या सदन नक्सालमा विगत दुई वर्षदेखि प्रधानाध्यापकको रूपमा कार्यरत छन्। वृहस्पतिभन्दा पहिले उनले जोन देबे स्कुल बालुवाटारमा पाँच वर्षसम्म प्रधानाध्यापककै जिम्मेवारी निभाएका थिए। उनी शिक्षण पेसामा लागेको २४ वर्ष भयो।

आठ महिना पनि नपुगी जन्मेका र जन्मिँदा तौल दुई केजी पनि नभएकाले उनी बाँच्ने आशा कमै थियो। बुवाको काम घर बाहिर र आमा मानसिक रूपमा अशक्त हुनाले उनले आमाबुवाको प्रत्यक्ष माया पाएनन्। ठूलीआमा र घर वरिपरिका छिमकीको काखमा उनी हुर्के।

गाउँकै स्कुलमा पढे। त्यो समयमा उनी २० मिनेट हिँडेर प्राथमिक स्कुलमा पुग्थे। प्राथमिक स्कुलपछिको अर्काे स्कुलमा पुग्न ४५ मिनेट लाग्थ्यो। ८ कक्षासम्म उनी हिँडेरै स्कुल पुगे। पछि साइकलमा जान थाले। उनका साथीहरू सबै बदमास किसिमका थिए। बाल्यकाल सम्झिँदै उनी भन्छन्, ‘स्कुल पढ्ने समयमा हामी कक्षा छाडेर फिल्म हेर्न जान्थ्यौँ।’

सानैदेखि गाउँका बूढापाकासँग बस्न र उनीहरूका कुरा सुन्न मन पथ्र्याे उनलाई। सानोमा रेडियोमा समाचार पनि खुब सुन्थे। त्यो बेला सम्झिँदै उनी भन्छन्, ‘अहिले सम्झँदा उहाँहरूसँग बसेको मलाई फाइदै भएको रहेछ। त्यसले पनि मलाई छिट्टै परिपक्व हुन सिकायो।’

एसएलसी उनले सुनसरीबाटै दिए। एसएलसी पछि गाउँमा प्राविधिक विषय पढ्ने माहोल थियो। उनका बुवालाई पनि छोरो डाक्टर कि इन्जिनियर बनोस् भन्ने लाग्थ्यो। बुवाको रहरले गर्दा पनि उनले आईई पढ्न थाले। पढ्नमा राम्रै थिए। पहिलो सेमेस्टरमा पनि राम्रै नम्बर ल्याएर पास गरेका थिए। दोस्रो सेमेस्टर सुरु भएपछि उनलाई इन्जिनियरिङप्रति विस्तारै वितृष्णा जाग्न थाल्यो। उनले इन्जिनियर पढ्न रमाइलो नलागेको अनुभव गर्न थाले। सधँैं सर्भे गर्नुपर्ने, भोलुम, एरिया, हाइट, सिलिन्डरको कुरा गर्नुपर्ने। सम्झेरै दिक्क लाग्न थाग्यो। त्यसपछि घरमा कसैलाई नभनी एक्लै यात्रामा निस्के। यात्राबाट फर्केपछि उनले इन्जिनियरिङ पढ्न छाडिदिए। धनकुटा गए र आईएडमा भर्ना भए।

मानिससँग कुरा गर्न मन पर्ने उनलाई इन्जिनियरको फलाम इँटा नापनक्सा मन परेन। आईएड पढ्दै गर्दा आफूभन्दा साना भाइबहिनीलाई पढाउँथे। शिक्षकले बुझाउन नसकेको कुरा आफूले सजिलै बुझाउन सक्छु भन्ने लाग्थ्यो। त्यसपछि शिक्षण पेसा मन पर्न लाग्यो। उनी शिक्षणमै रमाउन लागे। आफू जन्मेको शिक्षण गर्नकै लागि हो जस्तो लाग्न थाल्यो। उनी भन्छन्, ‘आफ्नो जीवनलाई अर्थपूर्ण बनाउने कुरामा मैले शिक्षण पेसाबाहेक अरू केही देखिनँ।’

आईएडपछि काठमाडौं आएर उनी स्कुलमा पढाउन थाले। युट्युब, गुगल, टेकटकले उनलाई शिक्षासम्बन्धी नयाँ आइडिया दियो। आफूले त्यो समयसम्म पढेको कोर्सभन्दा बढी उनले नेटबाटै सिके। उनी भन्छन्, ‘मैले नेटबाटै धेरै आइडिया लिएँ। अहिले मानिसले पुरानो शैलीमा शिक्षण गर्नु हुँदैन भन्छन्। तर, मैले त्यहीअनुसारको प्रोग्राम बनाउँछु। परम्परागत विधिमा शिक्षण नगरी प्रयोगात्मक प्रोग्राम बनाउँछु।’

शिक्षण जस नपाउने पेसा

उनी शिक्षणमा शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध भए पनि पर्याप्त अन्तरसंवाद नहुने भएकाले ग्याप भएको अनुभव गर्छन्। उनी भन्छन्, ‘शिक्षण थ्यांकलेस जब होइन शिक्षकको पीडा अभिभावक र विद्यार्थीलाई, विद्यार्थीको कुरा अभिभावक र शिक्षकलाई बुझाउन नसकिएको मात्र हो।’ उनी एक वर्षमा अभिभावकसँग ६० पटकभन्दा बढी मिटिङ गर्छन्। अभिभावक, शिक्षक र विद्यार्थीमा भएको ग्याप मेटाउने कोसिस गर्छन्। यही ग्यापले एकले अर्काेलाई दोष लगाउने चलन छ। उनी भन्छन्, ‘म त्यो ग्याप मेटाउन पनि बढी मिटिङ राख्छु। अभिभावकको कुरा सुनेर शिक्षक र विद्यार्थीलाई सँगै लैजाने काम गर्छु।’

शिक्षामा समस्या

समस्या सबै स्कुलमा छ तर सरकारी स्कुलमा बढी भएको उनको विचार छ। पाठ्यक्रमको तहमा सरकारी स्कुलमा शिक्षकले तालिम लिए पनि कतिपय कुरामा भने परम्परागत शैलीमा चलिरहेको कुरा उनलाई मन पर्दैन। सरकारी स्कुलका शिक्षकलाई प्राविधिक कुरामा भने केही ज्ञान नै नभएको उनी बताउँछन्। उनी भन्छन्, ‘जुन स्कुलले राम्रो नतिजा ल्यायो त्यही स्कुललाई राम्रो भनिदिने, पाठ्यक्रम १० वर्षदेखि परिमार्जन तथा परिष्कृत नै नगर्ने छन्।’

शिक्षा भनेको संवेदनशील कुरा हो। शिक्षकमा त्यो संवेदनशीलता नभएको उनी बताउँछन्। ‘शिक्षामा जुन परिवर्तन हुनुपर्ने हो त्यो भएकै छैन ’, उनले भने।

सरकारले शिक्षाको महत्त्व बुझ्न नसकेकोमा उनको गुनासो छ। ‘शिक्षा संकाय पढ्न कुनै कलेजमा जानुपर्योन भने डी प्लस आए पनि पढ्न पाइन्छ। मानिस सजिलोसँग पाइने पेसा भनेको शिक्षण हो भन्छन्। शिक्षक पनि कक्षामा गयो पढाए झैँ गरे पुग्छ भन्ने सोच्छन्। यो मूल समस्या हो।’

समाधान के

पद्धतिमा मात्रै परिवर्तन गरेर शिक्षामा परिवर्तन हुन्छ भन्ने उनलाई लाग्दैन। उनको विचारमा स्कुलमा सबैभन्दा प्रभाव पार्ने व्यक्ति भनेको प्रधानाध्यापक हो। ती प्रधानाध्यापक नै तालिम प्राप्त छैनन्। उनीहरूलाई तालिम दिनुपर्ने उनको राय छ। प्रायः प्रअ हुने भनेको माविको शिक्षकले धेरै वर्ष पढाएपछि हुने परम्परा छ। एउटा प्रधानाध्यापकमा विषयको ज्ञान मात्र नभई देश, काल, परिस्थिति सबैको ज्ञान हुनुपर्ने र प्रशस्त तालिम दिनुपर्ने उनी बताउँछन्।

विद्यार्थीलाई मोटिभेसन

बिहानदेखि साँझसम्म पढेर र पढाएर विद्यार्थीको विकास हँुदैन। यो उपलब्धि होइन। पहिलेका मानिसले पढेको पढ्यै गर्योद भने राम्रो हुन्छ भन्ने बुझें। मानिसले कसरी सिक्छ र दिमागले कसरी काम गर्छ भनेर राम्ररी अनुसन्धान गरेका छैनन्। गरेका होलान् तर प्रयोग गरेका छैनन्। सिकाइ हुनलाई प्रशस्तै ब्रेक चाहिन्छ। शरीरमा पढ्ने कुरा र दिमाग मात्र त छैन। यो कुरा नबुझेर त्यसरी लादिएको हो। गृहकार्यले हुने केही होइन। मोटिभेसनले हुने हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.