खुलामञ्च बन्यो डम्पिङ साइट, धुवाँले क्यान्सरको खतरा
बाजुरा : सदरमुकाम मार्तडीमा रहेको खुलामञ्च पछिल्लो समय डम्पिङ साइट बनेको छ। माटो, वालुवा, ढुङ्गा, गिट्टिलगायत फोहोर फाल्ने ठाँउ बनेको छ। यसरी सार्वजनिक ठाँउमा डम्पिङ क्षेत्र बनाउँदा सम्बन्धित निकाय भने मुखदर्शक बनेको स्थानीयले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय प्रमुखको निवास, बडिमालिका नगरपालिकाको कार्यालय र बडिमालिका नगरपालिका-८ वडा कार्यालयको बीचमा खुला मञ्च छ। तर डम्पिङ क्षेत्र बन्दासम्म सबै मुख दर्शक बनेका छन्। पटक पटक माटो हटाउनका लागि प्रशासनलाई आग्रह गर्दा पनि वास्ता नभएको नेकपा जिल्ला कमिटी सदस्य काशी विकले बताए। नगरपालिकाले नै ठेकेदार विजय पण्डितलाई माटो फाल्न लगायो। फेरि जिल्ला प्रशासन कार्यालय प्रशासनले निर्माण सामाग्री नहटाउँदा स्थानीय होटेल पसलवालाले फोहोर फाल्ने गरेपछि पुरै बजार दुर्गन्धित बनेको विकले बताए।
खुलामञ्च डम्पिङ क्षेत्र बनेको १ वर्ष भइसकेको छ। मञ्च अस्तव्यस्त भएपछि कार्यक्रम गर्न मालिका उच्च मावि र जिल्ला समन्वय समितिको चौरमा हुने गरेका छन्। खेल खेल्न मैदानका रुपमा प्रयोग हुने गरेको मञ्च एक वर्षदेखि भलिबलसमेत खेल्न बन्द भएको भलिबल खेलाडी सुरेश खडकाले बताए। स्थानीयले खुला मञ्च खालि गर्न पटक पटक आग्रह गरे पनि समाधान नभएको स्थानीय तुलाबहादुर रोकायाले बताए। ‘कसैलाई केही वास्ता छैन्। मञ्च बनाइएको छ। सबै अलपत्र अवस्थामा छ’ उनले भने ‘वर्षा हुँदा मञ्चबाट फोहोर बगेर बजारमा दुर्गन्धित हुने गरेको छ।’
सुरुमा नगरपालिकाले ठेकेदार पण्डितलाई माटो थुपार्न लगाएको थियो। त्योसँगै जिल्ला प्रशासनले पनि सबै साम्रागी त्यहीँ जम्मा गर्यो। विस्तारै अरुले पनि माटो र फोहोर फाल्दै गए। वडा नम्बर ८ का अध्यक्ष प्रकाश रावलले पनि घरको माटो ल्याएर त्यहिँ थुपारेका छन्। खुला मञ्च डम्पिङ क्षेत्र बन्दा नजिकै रहेको वाल मन्दिर आधारभुत विद्यालयसमेत प्रभावित भएको छ। मञ्चमा डम्पिङ बनाएपछि बालबालिकालाई आवतजावत गर्न समस्या र खेलबाट वञ्चित भएको प्रधानाध्यापक सुशिला बुडथापाले बताएकी छन्।
प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले यो तत्काल हटाउन लगाउने बताए। बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले भनिन्, ‘हामीले कसैलाई फाल्नु भनेकै होईन, हामीले पनि त के गर्नु?’ उनले गैरजिम्मेवारी जवाफ दिइन्। ‘खुला मञ्चको जग्गा जिल्ला समन्वय समितिको हो, नजिकै समन्वय प्रमुख बस्ने निवास छ, तर उहाँले पनि बेवास्ता गर्नुभयो’ एक स्थानीयले भने। उनलाई किन यसरी जम्मा गर्न लगाएको भन्ने प्रश्नमा उनी सल्लाह गरौंला भन्दै पन्छिए। ‘अरुले फालेकाले केही दिनका लागि माटो ल्याएर फालेको हुँ केही दिनमा हटाउँछु’ वडा अध्यक्ष रावलले भने ‘तर प्रशासन र पहिला फाल्ने ठेकेदारले हटाउनुपर्छ।’
प्लाष्टिकको धुवाँले क्यान्सर हुने खतरा
बडिमालिका नगरपालिकाले सडक छेउमै खुला ठाउँमा डम्पिङ साइड बनाएको छ। सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर त्यहीँ छेउमै फालेर वातावरण दुर्गन्धित बनाएको छ। साँफे मार्तडी सडकखण्डको थुवाँले छेउमै नगरपालिकाले खुला ठाउँमा चार वर्षदेखि फोहोर फालिरहेको छ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ मा फोहोरमैला व्यवस्थापनको जिम्मा स्थानीय तहलाई रहेको छ। स्थानीयको सहमति र वातावरणमा असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने ऐनमा उल्लेख रहेको छ। तर नगरपालिकाले भने मानवलाई प्रत्यक्ष असर पार्ने गरि डम्पिङ साइड बनाएको गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा स्थानीय काशी विकले बताएका छन्।
डम्पिङ साइडको छेउबाटै बाहुली नदी रहेको छ। मार्तडीबाट फोहोर बोकेर टिपरले सडकबाट तल फाल्ने गरेको छ। प्लाष्टिकजन्य पदार्थ पनि त्यहाँ फालेर बाल्ने गरेका छन्। प्लाष्टिकको धुवाँले क्यान्सर बनाउने सबै भन्दा खतरा रहेको डा. दुर्गाराज महर्जनले बताए। उनले भने ‘सडकको छेउमै खुला ठाउँमा फोहोर फाल्नु र जलाउनुले स्वास्थ्यमा गम्भीर असर हुने बताए। प्लाष्टिकको धुवाँले सबै भन्दा ठुलो असर क्यान्सर हुने गरेको महर्जनले बताएका छन्।
सदरमुकाम मार्तडी र चौराटा गाउा पनि डम्पिङ साइडको नजिकै रहेकोले धुवाँले मानव वस्तिमा असर गर्ने गरेको छ। सडकमा आवतजावत गर्दा त दुर्गन्धित नै छ, तर प्लाष्टिकको धुवाँले मानव वस्तिमा र वातावरण असर पारिरहेको स्थानीयले बताएका छन्। अर्को नजिकै बाहुली खोला भएकाले फोहोर बगेर नदीमा मिसिने गरेको छ। बाहुली हुँदै बुढिगंगा नदीसम्म असर पार्ने गरेको छ। बडिमालिका नगरपालिका–९ मा यो क्षेत्र पर्ने गरेको छ, वडा अध्यक्ष विनोदकुमार विकले भने ‘डम्पिङ साइड खुला ठाउँमा भएको थाहा छ, अरु कुनै जानकारी छैन्।’ डम्पिङ साइड बनाउँदा वातावरणीय प्रभाव मुल्याङ्कन गरेर मात्र बनाउनु परेको छ। तर नगरपालिकाले केही अध्ययन बिनानै डम्पिङ साइड बनाइरहेको स्वीकार गरेको छ। नगरपालिकाका नगर प्रमुख पदम बढुवालले भने ‘ठाउँ नपाएर व्यवस्थापन गर्न गाह्रो रहेको भएको बताए। ‘नगरपालिकामा जग्गाका लागि पटक पटक छलफल भइरहेको छ, उपयुक्त ठाउँ नपाउँदा समस्या भएको हो’ प्रमुख बढुवालले भने।
नगरपालिका-७ मा रहेको खडका बाडाको गाउँमाथि डम्पिङ साइड बनाएको छ। ‘तल गाउँमा ७५ परिवार रहेका छन्, माथि डम्पिङ साइड निर्माण भएको छ’ वडा अध्यक्ष अशोक कुमार दानीले भने। डम्पिङ साइड नगरपालिका-५ र ७ को सिमाना पर्ने दाडी चौरमा बनाउन लागे पनि स्थानीयको विवादपछि त्यहाँबाट सारेर गाउँ माथि निर्माण भएको स्थानीयले बताए।
‘वातावरणिय प्रभाव मुल्याङ्कन गरेर मात्र निर्माण गर्नुपर्ने हुन्छ’ उपप्रमुख सृष्टि रेग्मीले भनिन् ‘पहिलो बनाउने ठाउँको त विवादपछि बनाएको थियो, अहिले निर्माण भएको ठाउँमा भने कुनै अध्ययन बिना नै बनाएको हो। सरासर गलत हो। कुनै योजनाबिना नै बनाउनु। तर पहिलाको ठाउँमा नहुने भएपछि रकम फिर्ता जाने सम्भावना रहेकोले अर्को ठाँउमा बनाउन नगरपालिका बाध्य भएको हो।’ स्थानीयले विरोध स्वरुप बुढिन्नदा नगरपालिकामा ताला लगाएका थिए। डम्पिङ साइडको निर्माणको जिम्मा हण्डिक ईन्जिनियर एण्ड कन्टलसेन्सले पाएको थियो।