राजधानीबाटै बालबालिका अपहरण : होटलबाटै फिरौतीको ‘बार्गेनिङ’
काठमाडौं : एउटै व्यक्तिको मुख्य योजनामा भएका दुई अपहरणको घटनामा अपहृत व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ।
गत सोमबार रुपादेवी विश्वकर्माकी छोराछोरी र भान्जी अपहरणमा परेका थिए। अपहरणको मुख्य योजनाकार थिए, धनगढी कैलाली घर भएर बानेश्वर बस्ने आशिष सिजापती। सिजापतीको विश्वकर्मासँग लेनदेनको कारोबार थियो। सहज रुपमा पैसा नपाउने भएपछि सिजापतीले विश्वकर्माको सामाखुसीस्थित डेरामा रहेका बच्चालाई अपहरण गर्ने योजना बनाएका थिए।
प्रहरीका अनुसार सिजापती कामकाजको सिलसिलामा गत शनिबार पोखरा गएकी थिइन्। डेरामा आफन्तको रेखदेख गर्न छाडेको बच्चा एक्कासी अपहरणमा परेको सूचना पाएपछि उनले प्रहरीलाई खबर गरिन्। सिजापती विश्वकर्माको डेरामा आउजाउ गर्थे। विश्वकर्माका बच्चाहरुले सिजापतीलाई चिन्थे। विश्वकर्मा पोखरा गएको मौकामा उनले बच्चाहरुलाई ‘तिम्रो ममीले तिमिहरुलाई होटलमा लगी राख्नु भनेको छ’ स्कुल जान लागेको बच्चाहरुलाई टोखा शान्तिटोलस्थित होटल ब्लु स्टार को कोठा नम्बर ४०४ मा पुर्याइ बन्धक बनाएका थिए। बच्चा कब्जामा लिएपछि सिजापतीले विश्वकर्मालाई फोन गरि ‘तिम्रो बच्चा मेरो कब्जामा छ। तीन लाख दिने भएमात्रै बच्चा छाड्छु’ भनेर धम्की दिए।
प्रहरीलाई बच्चा अपहरणमा परेको खबर विश्वकर्माले नै दिएकी थिइन्। लगत्तै महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले फोन लोकेशनको आधारमा बच्चा राखेको होटल पहिचान गर्यो। होटलको कोठामा बच्चा कुरेर बसेका थिए, गोरखाका विनोद थापामगर। अपहरणको मुख्य योजनाकार सिजापतीको खोजीमा जुट्दै गर्दा उनी भने अर्को अपहरणको घटनामा मकवानपुरबाट समातिएका थिए।
सिजापतीले रामेछाप दोरम्बा गाउँपालिकाका नरेश थापामगरलाई अपहरण गरेका थिए। अपहरणमा उनी एक्लै संलग्न थिएनन्। प्रहरीले नरेशलाई बुधबार हेटौंडा उपमहानगरपालिकास्थित लामासुरेबाट उद्धार गरेको थियो। उद्धारका क्रममा धादिङ नेत्रावती गाउँपालिका किसन गुरुङ, सोही ठाउँ बस्ने आशिक लामा, कन्चनपुर श्रीपुर गाउँपालिकाका सुनिता धामी र मकवानपुर हेटौंडा उपमहानगरपालिका लामसुरे बस्ने चितवन मेघौली घर भएकी सरस्वती तामाङललाई प्रहरीले पक्राउ गरेको थियो। यो समुहले थापामगरलाई टोखाबाटै बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा राखेर अपहरण गरेको थियो। प्रहरी अनुसन्धानका क्रममा यो घटनामा पनि लेनदेनकै विवाद देखिएको छ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले दुई अपहरणको घटनाका मुख्य योजनाकार सिजापति हुन्। उनकै योजनामा तीन बालबालिका र एक युवकको अपहरण भएको हो। बोगटीले भने, ‘ हामी टोखामा भएको बालबालिका अपहरणबारे अनुसन्धान गर्र्दै थियौं। मकवानपुर प्रहरीले मुख्य योजनाकार सिजापतिलाई अर्कै अपहरणको घटनामा पक्राउ गर्यो।’