सञ्चार क्षेत्रमा प्रदेश-३ को नयाँ अभ्यास

सञ्चार क्षेत्रमा प्रदेश-३ को नयाँ अभ्यास

काठमाडौं : आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन कार्यान्वयनका क्रममा अहिले प्रदेश ३ को सञ्चार क्षेत्रमा प्रगति देखिएको बताएका छन्। सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश ३ ले शुक्रबार काठमाडौंमा गरेको अनलाइन पत्रकारिता अवस्था, सम्भावना र चुनौती विषयक गोष्ठीमा मन्त्री जम्कट्टेलले त्यस्तो अधिकारसहितको राजनीतिक नियुक्त नेपालमा नयाँ अभ्यास भएको बताए। 

‘त्यही व्यवस्था राख्दा प्रदेश सञ्चारमाध्यम व्यवस्थापन विधेयकको मस्यौदा तीन महिनासम्म अगाडि बढन सकेको थिएन। अहिले प्रदेश ३ को सञ्चार रजिष्टारको कार्यालयले पत्रकारको हितमा अगाडि सारेका कार्यक्रम परिणामुखी देखिएका छन्’, मन्त्री जम्कट्टेलले भने, ‘लोकसेवा पास गर्नेको क्षमता मात्रै विशिष्ट हुने होइन, अरुको पनि विशिष्ट क्षमता हुन्छ। अहिलेको कर्मचारी प्रशासनले सरकारलाई असफल बनाउने गरी ढिलासुस्ती गर्ने, मन्त्री र जनप्रतिनिधिले चाहदा चाहदै पनि काम गर्न नसक्ने देखिएको छ। यो बिषयमा समीक्षा हुन जरुरी छ।’ 

प्रदेश सञ्चारमाध्यम सम्बन्धी ऐनमा समस्या देखिएमा संशोधनको प्रक्रियाबाट अगाडि बढन सकिने धारणा पनि मन्त्री जम्कट्टेलले व्यक्त गरे। ‘हामीले बनाएका कानुन संघीय कानुनसँग विवादित छैनन, हामी संघीय सरकारसँग विवाद गर्ने पक्षमा पनि छैनौँ। हामीले संविधानसँग बाझिने गरी कानुन बनाएका पनि छैनौँ। यसको स्वामित्व सबैले लिनुपर्छ’, मन्त्री जम्कट्टेलले भने। 

 
कार्यक्रममा प्रदेशसभामा नेकपाका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयालले कानुनमा भएका गल्ती सच्याउने आश्वसन दिँदै प्रदेशको स्थायी राजधानी एक महिना भित्र टुंगो लगाउने बताए। ‘एक महिनापछि प्रदेश ३ लेख्नु पर्ने अवस्था रहने छैन’, फुयालले भने। 

प्रदेशसभाका प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन बनाउने समयमा विषयगत विज्ञलाई सञ्चार रजिष्टार नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको उल्लेख गरे। उनले सञ्चार क्षेत्रप्रति प्रतिबद्ध नभएको व्यक्तिले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन लागू गर्न नसक्ने निष्कर्षसहित पूर्ण सञ्चार रजिष्टार नियुक्त गर्ने व्यवस्था गरेको बताए। 

सञ्चार रजिष्टार रेवतीप्रसाद सापकोटाले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीमा रहेको व्यवस्था जानकारी गराए। ‘पाठक, स्रोता, दर्शक र विज्ञापनदाताको आकर्षण बढदै जाँदा अनलाइन पत्रकारितामा सम्भावना बढदै गएको छ’, रजिष्टार सापकोटाले भने, ‘अनलाइन पत्रकारितामा देखिएका विकृति र विसंगति हटाउँदै पत्रकारितालाई विश्वसनीय र गुणस्तरिय सूचना सामग्री पस्कनु आजको हाम्रो चुनौती हो।’

रजिष्टार सापकोटाले डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न पनि अनलाइन पत्रकारितामा देखिदै आएका विकृति र विसंगतिलाई हटाउँदै व्यवसायिक ढंगले अनलाइन पत्रकारिताको विकास गर्नुपर्ने आवश्यकता औँल्याए। 

कार्यक्रममा पत्रकार प्रवेश सुवेदी र उमेश श्रेष्ठले अनलाइन पत्रकारिताको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि नेपाल पत्रकार महासंघको पूर्वसभापति विष्णु निष्ठुरी, प्रेस काउन्सिका पूर्वसदस्य सुदर्शन आचार्य, सामाजिक विकास मन्त्रालयका असिम घिसिङ, नेपाल पत्रकार महासंघ उपत्यका समितिका अध्यक्ष नारायण दाहाल, नेपाल पत्रकार महासंघ काठमाडौँका अध्यक्ष शान्तराम विडारी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याल, पत्रकार राजकुमार रेग्मी, दीपक आचार्य र बालकुमार नेपालले अनलाइन पत्रकारिताको अवस्था, संभावना र चुनौतीका बारेमा सुझाव दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.