विप्लव समूहका ६ जना विद्यार्थी धरौटीमा छुटे
दार्चुला : नेत्रविक्रम चन्द (विप्लव) समूहका ६ जना विद्यार्थी धरौटीमा रिहा भएका छन् । गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, अभद्र व्यवहार गर्न नहुने जस्ता आरोप लगाएर मुद्दा लगाइएको थियो।
पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २२ वर्षीय ललित सार्की, पर्शुराम नगरपालिका–५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुङ्गल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर, खप्तड छन्ना गाउँपालिका– ८ का २५ वर्षीय सुभास जोशी, दार्चुलाको मार्मा गाउँपालिका–४ का १९ वर्षीय धनसिंह धाँमी र बाजुराको बूढीगङ्गा नगरपालिका–१० का २१ वर्षीय दीपक रावतलाई जनही आठ हजार रुपैयाँ धरौटी लिएर जिल्ला प्रशासन कार्यालयले छोडेको हो।
विद्यार्थी भएका कारण थोरै धरौटी रकममा रिहाई गरेको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरको भनाइ छ।