सदाबहार सन्तोष

सदाबहार सन्तोष

एक दशकअघि नेपाली घरेलु लिग फुटबलको स्तर धेरै माथि थियो। खेलाडी ईख र भोकले मैदानमा खेल्थे। केही गोल्डकपबाहेक राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता कमै हुन्थे। तर सहिद स्मारक ‘ए’ डिभिजन लिग नियमित नै थियो। लिगमा चलेका खेलाडीले आठ दस हजार रुपैयाँ पारिश्रमिक पाउँथे।

सन् २०१०/११ मा नेपाली फुटबल लिग उत्सर्गमा थियो। सेयर बजारको नेप्से एक्सासि बढेझैं ‘ए’ डिभिजन लिगका लागि क्लबहरूले खेलाडी अनुबन्धको भाउ पनि ह्वात्तै बढाएका थिए। घरेलु फुटबलमा ललितपुरको थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको प्रतिस्पर्धा रोचक थियो। यस्तोमा यी दुई क्लबबीच खेलाडी अनुबन्धमा पनि होडबाजी चल्थ्यो।

विदेशी खेलाडीको भन्दा नेपाली राष्ट्रिय टोलीका खेलाडीले घरेलु लिगमा बढी प्राथमिकता पाउँथे। यही बेला मनाङले थ्रीस्टारका चर्चित स्ट्राइकर सन्तोष साहुखललाई अनुबन्ध गर्‍यो। त्यति बेला मनाङले सन्तोषलाई मासिक ५० हजार रुपैयाँ पारि श्रमिकमा अनुबन्ध गरेको थियो। सन्तोष घरेलु फुटबलका महँगा खेलाडी मात्र भएनन्, त्यसले लिग फुटबलमा एक खालको तहल्कै मच्चाएको थियो।

नेपाली फुटबलरले धेरै पैसा पाएको र फुटबल व्यावसायिक धारमा गएको विषय मुख्य चर्चामा थियो। मनाङको यही पथलाई विस्तारै अन्य क्लबले पछ्याउन थाले। राम्रा खेलाडी अनुबन्धमा क्लबहरूको होडबाजी चल्यो। एक दशक राम्रोसँग चलेको घरेलु लिग भूकम्सपछि शिथिल बन्यो। भूकम्पले दशरथ रंगशाला जीर्ण भयो। लिग फुटबलको चार्म पनि हरायो। खेलाडीहरू रोजीरोटीका लागि विदेश पलायन भए। नेपाली फुटबलका महँगा स्ट्राइकर सन्तोषले पनि जापानको बाटो सेझ्याए। सन्तोष जापान जानुको मुख्य कारण घरेलु लिग नहुनु नै थियो।

पाँच वर्षअघि जापान हानिएका उनै सन्तोष अघिल्लो वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिग हुने भएपछि स्वदेश फर्किए। उनी च्यासल युवा क्लबबाट केही खेल खेलेर फेरि जापान गएका थिए। नेपाली लिग फुटबल र राष्ट्रिय टोलीमा पाएको इज्जतलाई सन्तोषले बिर्सिएका छैनन्। उनलाई जापानमा पनि यही फुटबलले टिकाएको छ। त्यसैले त उनी ‘ए’ डिभिजन लिग खेल्न अहिले फेरि नेपाल आएका छन्। यसपटक उनी ढुक्कसँग लिग सकेर जापान फर्र्कने तयारीमा छन्। उनले यसपालि पनि च्यासल क्लबबाट लिग खेलेका छन्। संयोगवश यसपटक उनीसँगै उनका दाजु बालगोपाल साहुखल च्यासलको प्रशिक्षक छन्। गत सोमबार दशरथ रंगशालामा यी साहुखल दाजुभाइको संयोग रोचक थियो। प्रशिक्षण बक्समा बसेर बालगोपाल भाइ सन्तोषलाई निर्देशन दिँदै थिए। सन्तोष विपक्षी संकटालाई खेलभर तर्साइरहेका थिए।

उमेरले ३५ काटेका सन्तोषको मैदानमा बल नियन्त्रण र आक्रमणको शैली रत्तिभर घटेको थिएन। फुटबाट ढाटा रहने समयमा पनि सन्तोषले झनै निखारिएको प्रदर्शन गरे। टोलीका कप्तानसमेत रहेका सन्तोषको दुई गोल सहयोगमा च्यासलले संकटालाई २–० गोलले हरायो। सन्तोषले ‘ए’ डिभिजन लिगमा पहिलो पटक प्रशिक्षकको भूमिका निर्वाह गरेका दाइ बालगोपाललाई पनि खुसी बनाए।

‘हामी दाजुभाइ धेरै समय मैदानमा सँगै खेल्यौं। सानैदेखि म भाइको मेन्टर पनि हुँ। प्रशिक्षकका रूपमा आज मेरा लागि पहिलो खेल थियो। लिगको पहिलो खेल खेलाउन प्रशिक्षकलाई निकै दबाब हुन्छ। पहिलो जितमा दुवै गोल भाइले गर्‍यो। प्रशिक्षकमा मेरो डेब्यु विशेष बन्यो’, बालगोपालले भने।

भूकम्पपछि सन्तोषले पनि पहिलो पटक दशरथ रंगशालामा खेलेका हुन्। १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि दशरथ रंगशाला तयार भएसँगै फुटबलको माहोल पनि फर्किएको छ। कहिले एउटै टोलीमा र कहिले विपरीत टोलीबाट खेल्दै आएका साहुखल दाजुभाइका लागि च्यासलको फरक भूमिका अहिले रोचक बनेको छ। फुटबलमा व्यावसायिक करिअरको सुरुआतमा यी दाजुभाइ दुवै थ्रीस्टार क्लबमा थिए।

पाँच वर्षअघि जापान हानिएका उनै सन्तोष अघिल्लो वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिग हुने भएपछि स्वदेश फर्किए।

सन्तोषले २०६० सालबाट ‘ए’ डिभिजन लिग खेलेका हुन्। लिगमा शतक गोलको सँघारमा पुगेका उनी अहिले पनि खेलिरहेका छन्। ९८ गोल गरिसकेका उनको सयको आँकडा अब टाढा छैन। ‘ए’ डिभिजनसँगै सन्तोषले राष्ट्रिय टोलीबाट पनि लामो समय खेले। लिगमा जस्तो राष्ट्रिय टोलीमा भने उनले चर्चा बटुल्न सकेनन्। सन् २०१५ पछि उनी राष्ट्रिय टोलीमा छैनन्। तर उनको प्रदर्शन अहिले पनि राष्ट्रिय टोलीका कुनै पनि स्टार खेलाडीको भन्दा कम छैन।

लिग रोकिएकै कारण पाँच वर्षअघि जापान भासिएका सन्तोषले जापानमा पनि फुटबललाई आफ्नो कर्म बनाएका छन्। जापानमा उनी गैरनाफामूलक संस्था एफसी रियालेमा बालबालिकालाई फुटबल सिकाउँछन्। अनि त्यहाँको जे–८ लिगअन्तर्गत एसएस इजु क्लबबाट व्यावसायिक फुटबल पनि खेल्छन्। सन्तोषले अखिल नेपाल फुटबल संघ (एन्फा)ले निकालेको लिगको खेल तालिकाअनुसार लिग खेल्न जापानमा बिदा मिलाएर आएको बताए। ‘एन्फाकै तालिकाअनुसार नेपाल आएको हुँ। तालिका फेरबदल भएन भने पूरै समय खेल्नेछु’, सन्तोषले भने।

उमेर ढल्किए पनि सन्तोषको खेल्ने शैली र बल नियन्त्रणमा कुनै कमी आएको छैन। विपक्षी रक्षकलाई दबाबमा राख्न सक्ने सन्तोषको क्षमता बेजोडको छ। सानैदेखि क्रिस्टियानो रोनाल्डोका असली फ्यान सन्तोष रोनाल्डोकै शैली फलो गर्छन्। उमेरले रोनाल्डोभन्दा पाका उनले आफू फिट हुनुको रहस्य मेहनत र खानपानमा ध्यान दिनु रहेको बताए। ‘मुख्य त अभ्यास र फिटनेसमा ध्यान दिएको छु। पहिला थाहा थिएन। जापान गएपछि थाहा भयो। एउटा खेलाडीले फिट हुन खानपान र अभ्यासमा विशेष केन्द्रित हुनुपर्छ’, सन्तोषले भने।

बुढेसकालमा पनि उत्कृष्ट प्रदर्शन गरिहरहेका सन्तोषलाई नेपाली फुटबलको स्तर झन् झन् खस्किएको भान भएको छ। ‘अहिलेभन्दा पहिलाको फुटबल धेरै माथि थियो। खेलाडी मेहनत गर्थे। लिग नियमित हुन्थ्यो। अहिले खेलाडीले आफूलाई मेन्टेन गर्दैनन्। खेलअघि गरिने अभ्यासले मात्र काम हुँदैन। नेपालका खेलाडीले खानपान र दैनिकीमा धेरै परिवर्तन गर्न आवश्यक छ। अनिमात्र राष्ट्रिय टोली राम्रो र बलियो हुन्छ’, सन्तोषले सुझाए।

मैदानमा सदाबहार फिट देखिएका उनै सन्तोष अहिले दाजुसँग मिलेर लिग च्याम्पियन बन्ने अभियानमा छन्। अघिल्लो सिजन सन्तोषले च्यासलबाट ६ खेल खेल्दै तीन गोल गरेका थिए। यसपटक उनले आफूसँगै च्यासलबाट खेल्न तीन जना जापानी साथीलाई पनि सँगै ल्याएका छन्। सन्तोषसँगै जापानी खेलाडीको आगमनले च्यासल क्लब र प्रशिक्षक बालगोपाल पनि दंग देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.