सितारमै समर्पित सीता
सीतालाई लाग्छ- संगीत मनोरञ्जनको साधन मात्र होइन, जीवनको एउटा अंग पनि हो।
सीता मध्यमवर्गीय परिवारमा जन्मिन्। उनका साथीहरू धेरै खेल्न मन पराउँथे। सीताको स्वभाव अलि फरक थियो। संगीतमा उनलाई अलि बढी रुचि थियो। पढाइसँगै घरको काममा पनि सघाउनुपर्थ्यो खेल्ने हाँस्ने रहर भए पनि उनलाई समय त्यति जुरेन। सीताको मन बिस्तारै सितारतिर मोडियो। आठ वर्षको उमेरमा सीतामैयाँ राजचलले सितार बजाउन थालिन्।
सितारसँगै उनको सांगीतिक यात्रा र संघर्ष सुरु भयो। भाइबहिनीलाई खेलाउँदै खेतबारीको काम गर्नुपथ्र्यो। घरधन्दामा सहयोग, भाइबहिनीको हेरचाह र स्कुल पढाइसँगै सीताले सितारलाई छोडिनन्।
भक्तपुर व्यासी–९ मा जन्मेकी सीतामैयाँ राजचलले संगीतमा अहिलेको आफ्नो स्थान बनाउन धेरै संघर्ष गर्नु पर्यो। हार्मोनियमबाट उनको संगीत यात्रा सुरु भयो। सुरुमा भजन गाउने गर्थिन्। भजन गाउन जाँदा उनको गायन प्रतिभालाई मन पराउँथे। सानैदेखि उनले एक सुका टिप्स पाउने गर्थिन्। त्यो समयमा एक सुकाको मूल्य पनि धेरै थियो। कतिपयले दुई, पाँच, दस रुपैयाँ मजाले दिन्थे। पैसा हुने भएकाले बच्चाहरूको बीचमा उनी बच्चा–नाइके बनेर हिँड्ने गर्थिन्।
बुवाको प्रेरणाले उनी उत्कृष्ट सितारवादक बन्न सफल भइन्। त्यो समयमा रेडियो नेपाल एकमात्र सञ्चारमाध्यम थियो। त्यहाँ गएर गाउने सपना हरेक गायकको हुन्थ्यो। त्यो उनलाई पनि थियो। उनले रेडियो नेपालमा गाउन थालिन् र टपटेनमा पुग्न सफल भइन्। सानोमै गीत रेकर्ड गर्ने मौका पाइन्।
सितार वादनमा सीताको ३३ वर्षको अनुभव छ। सात वर्ष उभिएर मात्र उनले सितार बजाइन्। ७ अप्रिल २०१९ मा उनलाई उभिएर सितार बजाउने विश्वकै पहिलो महिलाको रूपमा सम्मान गरियो।
उनी भन्छिन्, ‘संगीत क्षेत्रमा मैले नयाँ केही गर्न सक्छु। नयाँ पुस्तालाई केही दिन सक्छु भन्ने विषय मेरो लागि महत्त्वपूर्ण छ। ३३ वर्षको संगीत यात्रामा मैले सन्तुष्टि र आनन्द पाएँ। कति कमाएँ भन्ने महत्त्वपूर्ण होइन।’
आमालाई उनी गाउन हिँडेको मन पर्दैनथ्यो। बुवाले आमासँग लुकाएर संगीत क्लास जान आवश्यक खर्च दिन्थे। आमाले छोरी मान्छे त्यसरी घरबाहिर हिँड्नु र गीत गाउनु ठीक होइन भन्नुहुन्थ्यो।
संगीतका लागि उनी कति रात जागा बसेकी छन्। उनी भन्छिन्, ‘बिहानको ६ बजे संगीत क्लास जानुपथ्र्यो तर बिहान ३ बजे उठेर आमालाई सघाउँथेँ। खाना पकाउने, अँध्यारोमै खेतबारीको काम सकाउने अनि बल्ल कक्षा जान्थेँ।’
सीता भन्छिन्, ‘संगीत क्लासिकल हुनुपर्छ। संगीतको जड नै क्लासिकल हो। क्लासिकल पृष्ठभूमि नभएका व्यक्तिहरू केही समयमा यो क्षेत्रमा प्रख्यात हुन्छन् तर टिक्न भने सक्दैनन्। मलाई प्रख्यात हुनुभन्दा पनि काम र साधनामा विश्वास छ।’
संगीत क्षेत्रमा सुरुका दिनमा भक्तपुर सूर्यमणि टोलमा ठूलो कार्यक्रम भएको थियो। त्यहाँ उनले गाउनेसँगै नाच्नु पनि पथ्र्यो। दसौं हजार मानिसका अगाडि गाउनुपर्ने, उनका लागि त्यो पहिलो ठूलो कार्यक्रम थियो। सुरुमा स्थायी गाउँदासम्म केही भएन तर अन्त्यमा आत्तिएर उनले अन्तरा भने गाउन सकिनन्।
केही वर्षअगाडि उनी क्यालिफोर्नियामा एक कार्यक्रमको सिलसिलामा पुगेकी थिइन्। एक पाकिस्तानी गायक सकुवा अलि खान साहबले राम्रो सितारवादक आएको छ भन्दै राति १० बजे उनको खोजीमा आएका थिए। त्यो क्षण आँखामा हर्षको आँसु थियो, त्यो पल उनलाई आफ्नो अस्तित्व थाहा भयो। एक लोकप्रिय गायकले आफूलाई खोज्दै आउँदाको त्यो क्षण उनले भुल्न सकेकी छैनन्।
जीवन र संगीतबीचको सम्बन्ध
संगीतबिना मानव जीवन सम्भव छैन। मानव शरीरको संरचना हुनका लागि संगीत तत्त्व नभएको भए सम्भव हुने थिएन। थेरापी गर्ने कारणले मूलाधार चक्र, स्वाद्धिस्थान, नावी, हृदय चक्र, विशुद्धि, आज्ञा र स्रष्टा चक्र क्रमशः सारेगमपधनिस को प्रतिविम्ब हुन्छ। यो मानव शरीरमा स्थापित भएको हुन्छ। र तीन वटा नारी इडा, पिंगला र सुर्सना नारी।
इडा नारी मानवको भूत कालसँग सम्बन्धित छ। पिंगला नारी भविष्यत कालसँग सम्बन्धित छ भने सुर्सना नारी आज कसरी मानव बाँचिरहेको छ भन्ने कुरासँग सम्बन्धित छ। यी तीन तत्त्वबिना मानव शरीर विज्ञान बन्न सक्दैन भने जीवन कसरी सम्भव होला संगीतबिना।
पछिल्लो समयमा संगीतसँग सम्बन्धित जति पनि क्रियाकलाप गर्न सकिन् ती श्रीमान्कै कारण सम्भव भएको उनी बताउँछिन्। भन्छिन्, ‘संगीत क्षेत्रले वैवाहिक जीवनमा कुनै असर गरेको छैन। संगीतमा लागेर घरपरिवारलाई वास्ता नगर्ने मेरो बानी छैन।’
जबदेखि उनले संगीतलाई गहन तरिकाले बुझ्न थालिन्, हरेक पल उनी संगीत (सितार बजाउने)लाई कसरी अगाडि बढाउने भन्ने विषयमा नै सोचमग्न हुन्छिन्। सितारलाई आजका युवासमक्ष कसरी पुर्याउने भन्ने विषय उनका लागि महत्त्वपूर्ण छ। सितार अरूको तुलनामा किन पछाडि पर्यो भन्ने सोच्दा आफ्नै अनुभवले बनाएको शैली हो, उभिएर सितार बजाउने।
उनले ललितकला क्याम्पसमा ६ वर्ष संगीत प्रध्यापन पनि गरिन्।
आमाले गितार फुटाइदिँदा
सीताकी आमा सधैं भन्थिन्, ‘छोरी भएर घरबाट बाहिर हिँड्नु हुँदैन। रातको समयमा घरबाहिर केटी मान्छे हिँडेको राम्रो हुँदैन।’ तर सीतालाई आमाको त्यो लाइन मन पर्दैनथ्यो। उनी आमासँगै भन्थिन्, ‘सरस्वती पनि एक महिला नै थिइन्, जसको हामी हरेक दिन पूजा आराधना गर्छौं। उनको हातमा वीणा छ भने योभन्दा ठूलो पुष्टि के हुनसक्छ। बाँकी अरू नराम्रा पक्ष समाजका संकुचित विचारधारा भएका मानवले बनाएको परिकल्पना मात्रै हो।’
यस्तो जवाफ दिँदा आमाबाट उनले कयौं पटक पिटाइ खानुपर्यो। कहिलेकाहीँ कुचो आफैंले लुकाएर पनि उनी आमाको पिटाइबाट बच्ने गर्थिन्। विद्यालयबाट टिफिन टाइममा भागेर भए पनि उनले संगीत यात्रा पार गरेकी छन्। विद्यालयबाट १ बजे फर्केर बेलुकाको खाना पकाउन सुरु गर्थिन् र खाना पकाएर भजन गाउन नै दौडिन्थिन्।
उनले सितार पहिलो पटक कक्षा ८ मा हुँदा पाइन्। भजन गाउन जाने क्रममा भक्तपुरको वरिष्ठ तबलावादक केशवनारायण ताम्राकारको घरमा पहिलो पटक उनले सितार छुने मौका पाइन्।
त्यो समयमा आफैं सितार किन्न सम्भव नै थिएन। धेरै महँगो पनि पथ्र्यो। सुरुमा उनले तीन हजारको सितार किनेकी थिइन्। तर घरबाट संगीतका लागि खर्च नदिने कारण उनले पढाइका लागि भन्दै आफू अध्ययनरत ललितकला क्याम्पसबाट पैसा बढाएर बिल बनाएकी थिइन्। त्यो समयमा घरबाट सजिलै पैसा मागेर सितार किन्ने अवस्था थिएन। यसरी झुटो बोलेर उनले पहिलो सितार किनेकी थिइन्।
‘पहिलो सितार आमाले रिसमा फुटाइदिइन्। घरमा झुटो बोलेर किनेको तीन हजार रुपैयाँको सितार आमाले रिसले फुटाइदिइन्। त्यो समयमा मेरो मन धेरे दुख्यो, के गर्ने कसो गर्ने केही दिमागमा थिएन। तर पनि संगीतलाई निरन्तरता दिइरहेँ’, उनी भन्छिन्।
त्यसपछि उनले अझै राम्रो र महँगो सितार आफैं किनिन्। २०५६ सालदेखि उनले स्टुडियोमा सितार बजाउन सुरु गरेकी हुन्। अल्फा स्टुडियोबाट उनको स्टुडियो करिअर सुरु भएको थियो।
खेतमा काम गर्दै गर्दा साथीले तँलाई स्टुडियोबाट फोन आएको छ भन्ने खबरले स्टुडियो पुगेकी उनले सितार बजाएर पहिलोपटक १६ सय रुपैयाँ कमाएकी थिइन्। त्यो जीवनको पहिलो कमाइ थियो। मैले पनि डेढ घण्टा सितार बजाएर पैसा कमाएँ। मन फुरुंग भयो। त्यही पैसाले मासुभात पकाएर राखेँ। त्यो पलदेखि आमालाई संगीत क्षेत्रमा कमाइ पनि हुन्छ भन्ने थाहा भयो। त्यसपछि बिस्तारै समर्थन जनाइन्, उनी सम्झन्छिन्।
सीतालाई लाग्छ— संगीत मनोरञ्जनको साधन मात्र होइन, जीवनको एउटा अंग पनि हो। यो हरेक मानवको स्वास्थ्यसँग सम्बन्धित छ। संगीतबिनाको संसार नै अधुरो हुन्छ।