फिक्री छैन, बिक्री भइनँ
ओहो कस्तो दरिद्रलाई छोरी दिएका होलान् ! एउटा सुत्ने पलङ र लुगा राख्ने दराज पनि आफैंले लिएर जानुपर्ने। देखेर दिक्क लाग्यो।
‘ठूलो बुवाकी छोरी दिदी काठमाडौंमा १२ मा पढ्दै हुनुहुन्छ, उहाँको डाक्टर केटासँग बिहे फिक्स भइसकेको छ।’
‘अनि दिदीले १२ पछि नपढ्ने रे ? ’
‘पढ्न त मन छ नि, तर भएर के गर्नु, १२ भन्दा धेरै पढ्यो भने त्यहीअनुसार पढेको केटा चाहिन्छ, जति धेरै पढेको केटा भयो, त्यति नै धेरै दाइजो चाहिन्छ।’
‘अनि तपाईं के गर्नुहुन्छ नि ? ’
‘मेरो पनि त्यही नै हो, मेरो पनि अहिलेदेखि नै बिहेको कुरा चलेको छ, तर मलाई कम्तीमा १२ सम्म भए पनि पढ्न मन छ।’
‘अनि तपाईंको परिवारले मान्छ त ? ’
भुइँको धुलो कोट्याउँदै, बलेँसीबाट झर्न ठिक्क परेको पानीजस्तै आँखाबाट दुई थोपा आँसु झर्न ठिक्क परे। अब मैले केही भन्न उचित ठानिनँ। हुन त उसैकासँगै मेरा आँखाबाट पनि त्यसरी नै आँसुका थोपा झर्न ठिक्क परेका थिए। तर मैले त कसरी आँसु झार्न सक्थेँ र ? म त किशोर किशोरीलाई शिक्षा–चेतना दिने कार्यक्रममा काम गर्ने मान्छे, म त कमजोर बन्नै हुँदैनथ्यो।
त्यसैले बलेँसीलाई अन्तै तर्काएर उसलाई हेरेँ। उसलाई हेर्दा लाग्यो, उसका आँखाबाट झर्न ठिक्क परेको दुई थोपा आँसु भुइँमा खसे पनि हजारौं थोपा आँसु भुइँमा झरे पनि उसको आँसुको महत्त्व त्यो बलेँसीको पानी जति पनि थिएन। र, यो कुरा उसलाई राम्रोसँग थाहा छ भन्ने कुरा उसको अवस्था देख्दा जोकोहीले पनि बुझ्न सक्थ्यो। त्यसैले उसलाई उसकै हालतमा छोडिदिएँ। झरे, दुई थोपा आँसु तप्प।
केही बेरको सन्नाटापछि ऊ बोल्न थाली। तर उसको बोली सुन्न मलाई पटक्कै मन थिएन। किनकि उसको बोली हजारौं भोल्टको करेन्टको झट्काभन्दा पनि कडा हुनेछ। तर म त त्यहाँ उसको कुरा सुन्न र केही भए पनि ढाडस दिनको लागि बसेकी थिएँ। आँसु पुछेर ऊ बोल्न थाली।
‘मान्न त मान्दैन दिदी तर के गर्नु १२ सम्म मात्रै भए पनि पढ्न पाए मैले आफ्नो लागि केही गर्न सक्थेँ, कसैको बोझ बन्नु पर्दैनथ्यो। तर हाम्रो परिवार ठूलो छ, १२ पास गरेर मैले बिहे गर्ने केटाका लागि उहाँहरूसँग दाइजो दिनलाई गाह्रो हुन्छ। ठूलो बुवाको छोरीको बिहेकै लागि हामीले कर्जा लिएर भए पनि १२/१५ लाख खोज्नै पर्छ। घरिघरि यति धेरै कर्जा लिएर तिर्न सक्ने हाम्रो क्षमता छैन, त्यसैले पनि मैले मेरो सपना बिर्सेर बिहे गर्नैपर्छ।”
यति सानी केटीको यति ठूलो कुरा सुनेर मेरो मथिंगल हल्लियो। उसलाई के भन्ने के नभन्ने भेउ पाउनै सकिनँ मैले। उसका आँखाबाट अझै साउनको बलेँसी तप्प तप्प झरिरहेको थियो।
तराईमा रहेको दाइजो प्रथा र त्यसले किशोरावस्थाबाटै दिने मानसिक तनावको कुरा सुनेर कहाली लाग्यो। भनेको जति दहेज नपाएको निहुँमा हत्या गरिनु, जलाइनु, यातना दिइनुजस्ता कुराले मुटु चिरिएर आयो। भर्खर ९ कक्षामा पढ्दै गरेकी उसको अनुहारमा रहेको सन्त्रास देखेर तराईकी छोरी नभएकोमा खुसी भएँ। आफूलाई निकै भाग्यमानी ठानेँ।
तर पहाड पनि कहाँ अछूतो छ र दाइजोको केसमा, जनकपुरको एउटा निजी विद्यालयमा ९ कक्षामा पढ्दै गरेकी उसले आफ्नो कुरा भनिरहँदा केही वर्षअगाडि आफूले भोगेको कुरा झलझली आँखामा आयो।
स्नातकोत्तर पहिलो वर्ष सकिँदा नसकिँदै घरबाट बिहेको कुरा आयो। त्यसो त त्योभन्दा धेरै पहिलेदेखि नै बिहेको प्रस्ताव नआएको होइन। पहिले आउने प्रस्तावहरू कहिले के भनेर टारिन्थ्यो कहिले के भनेर टारिन्थ्यो। तर त्यो बेलामा आएको प्रस्तावका लागि मसँग कुनै बहाना थिएन। किनकि जहाँबाट प्रस्ताव आएको थियो, त्यहाँ नाइँनास्ती गर्नुपर्ने खासै कारण थिएन। मैले सोच्ने गरेको औसत परिवार र औसत केटाजस्तै थियो ऊ र उसको परिवार।
काठमाडौंमा घर, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा जागिर, परिवार सानो, आम्दानी र खर्चको राम्रै ब्यालेन्स भएको। यो कुराले पनि सायद घरपरिवारलाई उक्त प्रस्ताव मन पर्यो। हुन त मेरो पनि जागिर र इनकम नराम्रो थिएन। म पनि गैरसरकारी संस्थामै काम गर्थें।
बारम्बार कुरा आइसकेपछि परिवारबाट केटाकेटी एकअर्कालाई भेटेर कुरा गरेपछि मात्रै हामी कसरी अगाडि बढ्ने भन्ने कुरा गरौंला भन्ने भयो। त्यसपछि परिवारकै सल्लाहअनुसार एकअर्कासँग भेट भयो। सामान्य कफी भेट। एकदुई पटकको भेटपछि यत्तिको मान्छे ठीकै छ भन्ने भएपछि परिवार भेटेर कुरा गर्ने दिन तय भयो। मैले आफूले कस्तो बिहे गर्न चाहेको भन्नेबारेमा उसलाई पहिलो भेटमा नै प्रस्टसँग भनेकी थिएँ। मेरो कुरामा उसलाई कुनै आपत्ति थिएन। पारिवारिक भेटघाट पनि भयो। सबै कुरा ओके नै थियो।
कुरा अगाडि बढी नै रहेको बेला एक दिन यस्तो कुरा सुन्न पुगेँ, जुन कुराले मेरो मनमा ठूलै भुइँचालो ल्यायो। त्यो भुइँचालो रिसको थियो। अपमानको थियो। आवेगको थियो। पचास साठी जनाको जमात आएर काठमाडौंको एउटा महँगो पार्टी प्यालेसमा इन्गेजमेन्ट गर्ने र बिहेका लागि सत्र अठार लाख खर्च गर्नुपर्ने रे मेरो परिवारले।
यो उनीहरूको डिमान्ड थिएन, उनीहरू त दाइजोविरोधी पो थिए। त्यत्रो पढेलेखेको परिवारले दाइजो माग्ने त कुरै भएन। किनकि उनीहरू त वकालत पनि गर्छन् दाइजो लिनुदिनु सामाजिक अपराध हो भनेर। त्यसैले सीधै दाइजो देऊ भन्नु त भएन नि। यो त सबै परिवार, खानदानको इज्जत राख्नका लागि थियो। हामीले दाइजो मागेका छैनौं, यो त खालि आफन्तका अगाडि कस्ती केटी बिहे गरेछन् भन्ने नपरोस् भन्नका लागि थियो।
एक मनले सोच्यौं, सीधै गएर, बिहे भनेको कुनै खेल होइन मान्छेको भावना जोडिएको हुन्छ, परिवार जोडिएको हुन्छ, सबैभन्दा ठूलो कुरा त एउटी केटीको आत्मसम्मान जोडिएको हुन्छ, भन्छु सोचेँ। तर प्रतिवादमा उत्रियो अर्को मन र बोल्यो, ‘...लाई चलाए आफ्नै मुखमा छिटा’। किन जानु पर्यो तेरो आत्मसम्मानको बारेमा कुरा गर्न। जोसँग आत्मसम्मानको ‘आ’सम्म हुँदैन, उनीहरूसँग कुरा गरेर के फाइदा ? आफ्नो डिसिजन गर, कसैलाई भन्न र सुनाउनु पर्दैन।
मलाई मेरै मनको अर्को कुनाको कुरा उपयुक्त लाग्यो। र, मैले डिसिजन गरेँ। म आफ्नो जीवनलाई पैसासँग, सम्पत्तिसँग तुलना गर्न सक्दिनथेँ। मेरा आमाबुवाले सक्नु हुन्नथ्यो। त्यसैले सत्र अठार लाखमा आफूलाई बेच्न सकिनँ। पढे लेखेर पनि मक्किएका मानसिकता बोकेर हिँड्नेहरूसँग, श्रीमतीले माइतीबाट ल्याएको सम्पत्ति देखाएर इज्जत बटुल्नेहरूसँग मेरो जीवन खुसी हुने सम्भावना नै शून्य थियो। त्यसैले मैले बिहे नगर्ने निर्णय गरेँ। र त्यो निर्णयबाट मलाई कुनै पछुतो रहेन। कुनै गुनासो रहेन। सायद उनीहरूले पनि निर्णय गरे होलान् इज्जत राख्नका लागि सत्र अठार लाख खर्च गर्ने मान्छे खोजेर फेरि अर्काे मान्छेसँग बिहेको लागि कुरा अगाडि बढाउने।
मलाई लाग्थ्यो— दाइजो प्रथा, चाहे त्यो प्रत्यक्ष होस् या अप्रत्यक्ष, तराईमा मात्रै छ। त्यहाँ मात्रै दाइजोमा यो चाहियो त्यो चाहियो भनेर मोलमोलाइ हुन्छ। त्यहाँ मात्रै दाइजोलाई निकै महत्त्वका साथ हेरिन्छ। तर होइन जब हामीलाई दाइजो चाहिँदैन तर इज्जत राख्न पर्छ, बिहेमा सत्र अठार लाख खर्च गर्नुपर्छ है भन्ने कुरा सुनेँ, सुनेभन्दा पनि भोगेँ तब लाग्यो तराई त एउटा देखाउने दाँत मात्रै पो रहेछ, हात्तीको दाँतजस्तै।
देशको राजधानीमा, पढेलेखेकै परिवार जो अरूलाई अवेरनेस फैलाउँदै हिँड्छन्, उनीहरू नै पो इज्जत राख्नुपर्छ है भन्दै दाइजोका लागि मोलमोलाइ गर्दा रहेछन्। ओहो कति घटिया सोच, पढेर डिग्री हासिल गरेका उनीहरूको।
केही वर्षपहिले एक जना अलि टाढाका आफन्त पर्ने अन्टीको बिहे हुँदै थियो। बिहेका लागि सबै तयारी हुँदै थियो। घर झकिझकाउ, आफन्तको जमघट बाक्लिँदै थियो। बिहेको रौनक बढ्दै थियो। बेहुलीको तर्फबाट लगभग तयारी पूरा नै थियो तर एउटा काम बाँकी रहेछ। त्यो काम थियो, बेहुलाको घरमा बेहुलाको कोठा सजाउने काम। कस्तो आश्चर्य ? बेहुलाका घरकाले आफ्नो छोराको कोठा आफंै सजाउन जान्दैनन् या सक्दैनन् ? सोध्नका लागि घाँटी घाँटीसम्म कुरा आइसकेको थियो तर आफैंलाई रोकेँ। म त गाउँको मान्छे, हाम्रो गाउँमा त्यस्तो हुँदैनथ्यो, अझ मेरो घरमा त पटक्कै हुँदैनथ्यो। ठूलो दाइ र तीनजना दिदीको बिहे भयो न त हामी भिनाजुको घर सजाउन गयाँं न त भाउजूको घरबाट हाम्रो घर सजाउन आउनुभयो।
बेहुलाको कोठा सजाउन एक हुल मानिस गए। जाँदा त बेहुलाको कोठामा एउटा केही पनि सामान छैन। खाट, दराज, टेबल, पंखा, झ्यालढोकामा लगाउन पर्दा, पर्दा झुन्डाउने डन्डी, गलैँचा, डोर म्याट, कोठाभित्र बस्नका लागि सानो साइजको सोफा, टीभी, वासिङ मेसिन अनि अरू थुप्रै खित्रीमित्री। ओहो कस्तो दरिद्रलाई छोरी दिएका होलान्। एउटा सुत्ने काठ र लुगा राख्ने दराज पनि आफैंले लिएर जानुपर्ने। दिक्क लाग्यो देखेर।
अझ त्योभन्दा दिक्क त त्यति बेला लाग्यो जति बेला घरमा आएका पाहुनाले तराईमा भए त छोरी दिन सकिँदैनथ्यो। दाइजो पुर्याउनै सकिँदैनथ्यो भन्दै आफूले केही क्षणअघि छोडेर आएका सामानका बारेमा एकएक गर्दै सुनाउन थाले।