क्रान्तिको पवित्रता
विचार र बहसको मन्थनबाट मात्रै पवित्र क्रान्तिको दर्शनमा थप निखार आउन सक्छ।
विश्व सभ्यताको इतिहास खोतल्दा रोम र स्पार्टकस गरी दुई धार देख्न सकिन्छ। रोम सभ्यताले कानुनी शासन, लोकतन्त्रजस्ता सवाललाई उठायो भने स्पाटेकस सभ्यताले युद्धलाई। भनिन्छ, स्पाटेकस सभ्यतामाथि रोम सभ्यताले विजय प्राप्त गर्यो। र लोकतन्त्र विश्वव्यापी बन्यो। तर यथार्थ त्यस्तो पनि छैन। सभ्यताको दुई लाइन संघर्ष अद्यावधिक विश्वमा छ। विद्यालय तहमा हुने कलम बलियो कि तरबार शीर्षकको बादविवाददेखि लोकतन्त्रको ठेकेदार दाबी गर्नेहरूले हातहतियारमा गरिरहेको लगानी तथा व्यापारसम्म यसैको उदाहरण हुन्। समकालीन समाजमा यस संघर्षको अस्तित्व रहिरहेको मात्र स्पष्ट हुन्न, बरु यो संघर्ष, बहस र विवाद अरू बढेर गएको देखिन्छ। धेरै लोकतन्त्र र मानवअधिकारका ठेकेदार देखिएकाहरूले पर्दापछाडि स्पाटेकस सभ्यतालाई आत्मसात् गर्छन् अनि पर्दामा देखिँदा रोम सभ्यता फलाक्छन्।
क्रान्ति कस्तो हुन्छ ? इतिहासको मिहिन वा विहंगम अध्ययन गरे पनि केही अपवाद छाडेर भन्ने हो भने क्रान्ति क्रूर हुन्छ। क्रान्ति हिं श्रक हुन्छ। क्रान्तिमा विद्यमान मानवीय चेतनालाई खल्बल्याउन सक्ने हिंसा मिसिएको हुन्छ। सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिलाई हेरांै वा साम्यवाद स्थापना गर्ने नाममा कम्बोडियामा भएको क्रान्तिलाई हेरांै। साम्राज्यवादलाई सिध्याउन भएको ट्विन टावर आक्रमणलाई हेरौं या आतंकवादलाई परास्त गर्न अफगानिस्तान र इराकमा भएको आक्रमणलाई हेरांै। ट्युनिसियाबाट केही वर्षअगाडि सुरु भएको क्रान्ति सिरिया पुगेपछिको तस्विरलाई हेरांै वा माओवाद वा माक्र्सवादलाई लागू गर्ने नाममा भएका क्रान्तिलाई हेरांै। यी सबै हिंस्रक थिए। क्रूर थिए। यद्यपि समाजमा केही यस्ता क्रान्ति भए जसले अनौठो तरिका अपनाएका थिए। गौतम बुद्धले हिंसाका विरुद्ध अहिंसात्मक स्वरूपको क्रान्तिको उपादेयतामा प्रकाश पारे। उपनिवेशविरुद्धमा भारतमा माहात्मा गान्धीले चलाएको सत्याग्रह, रंगभेदविरुद्धको मार्टिन लुथर किङको क्रान्ति अलि भिन्न शैलीका थिए, जसले क्रान्ति क्रूर नै हुनुपर्छ भन्ने मान्यतालाई अस्वीकार गरे। तथापि क्रान्तिको समग्र स्वरूपलाई यिनीहरूले पनि बदल्न सकेनन्। सक्थे भने गान्धीभूमि भारतमा नक्सालवादी जन्मिने थिएनन्। बुद्धभूमि नेपालमा ‘बाद’ स्थापना गर्ने नाममा १७ हजारले ज्यान गुमाउने थिएनन्। लुथर किङको भूमि अमेरिकाले आतंकवादलाई परास्त गर्ने नाममा लाखौं निर्दोषमाथि धावा बोल्ने थिएन।
अर्को सवाल क्रान्ति केका लागि ? वर्तमानका लागि या भविष्यका लागि ? जीवनका लागि कि मृत्युपछिको संसारका लागि ? निश्चय नै धेरैको जवाफ वर्तमानका लागि भन्ने नै हुन्छ होला। किनकि ऐतिहासिक भौतिकवादीहरू औपचारिक रूपमा मृत्युपछिको संसारलाई विश्वास गर्दैनन्। राज्यको अवधारणा पनि मृत्युपछिको नभएर जीवनमै मानवलाई मुक्ति दिने र सन्तुष्टि प्रदान गर्ने वाचाका साथ उदय भएको हो। माइकल फुकोले एक लेख ‘द सब्जेक्ट अफ पावर’मा शक्तिका बारेमा व्याख्या गरेका छन्। इतिहासको कुनै कालखण्डमा व्यक्तिसँग रहेको शक्ति कसरी राज्यको मातहतमा पुग्यो भन्नेबारेमा बुझ्न चाहनेका लागि उक्त लेख निकै राम्रो छ। फुको सो लेखमा तर्क गर्छन् कि करिब १५औं शताब्दीसम्म व्यक्तिले राज्यलाई होइन धर्म वा धर्मगुरुलाई बढी विश्वास गर्थे। चर्चका धर्मगुरुले मृत्युपछिको दुनियाँमा मुक्ति दिलाइदिने नाममा व्यक्तिसँग रहेको शक्तिलाई आफूमा लिएका थिए। तर १६औं शताब्दीपछि राज्यको अवधारणा विस्तारै फैलँदै गयो। राज्यले धर्मगुरुले भनेजस्तो मृत्युपछिको दुनियाँमा मुक्ति दिने होइन जीवनमै मुक्ति दिने वाचा गर्यो। यसमा राम्रो स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षालगायतका सुविधा दिने बतायो। फलतः जीवित हुँदैको मुक्तिको अभीष्ट चाहनामा चर्चका धर्मगुरुलाई आफ्नो शक्ति सुम्पिएका व्यक्तिले फिर्ता लिएर राज्यलाई सुम्पिन चाहे। यस क्रममा चर्चले नछाड्ने अनि राज्यले लिन खोज्ने अवस्था भयो। युरोपमा लामो समयसम्म चलेको युद्ध वा क्रान्ति जे भनौं, त्यो यही थियो। फुकोको यस तर्कलाई स्वीकार्ने हो भने क्रान्तिको खास लक्ष्य भनेको जीवनमा प्रभाव हो। जीवित रहँदाको सुखसुविधा तथा सहजता हो। मृत्युपछिको लोकको मुक्तिका लागि क्रान्ति हुँदैन। वर्तमानको सुधार वा परिवर्तनका लागि क्रान्ति हुन्छ। तर के मृत्युपछिको दुनियाँको मुक्तिका लागि क्रान्ति सम्भव छ ?
क्रान्तिबारे यी र यस्ता यावत् विवाद र बहस छन्। क्रान्तिलाई बुझ्ने र बुझाउने सन्दर्भमा पनि विविध विवाद छन्। क्रान्तिका क्रूरता र पवित्रतालाई फ्युजन गर्न सकिन्छ ? वा त्यो गर्ने प्रयास अहिलेसम्म भएको छ ? के कुनै क्रान्ति पवित्र हुन सक्छ ? क्रान्तिको सन्दर्भ सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङले माथिका यावत् विवाद, बहस र संघर्षलाई फ्युजन गर्न सक्ने सामथ्र्य राख्छु भन्ने दाबी गरिरहेका छन्। पवन चाम्लिङकै विचारलाई समेटेर महेश प्रसाईंद्वारा लिखित ९० पृष्ठ लामो पवित्र क्रान्ति परिशीलन पुस्तकले क्रान्तिको पवित्रताका बारेमा केही तर्क गर्छ।
क्रान्ति पवित्र हुन सक्छ ? कसरी ? यसबारेमा मिहिन तर्क र बहस गरिएको छ पुस्तकमा। माक्र्सवादीहरूले समकालीन समाजमा पुँजीवादको नांगो उपस्थितिका कारणले मानवता हराउँदै गएको तर्क गर्छन्। समाज यस्तो हुँदै गयो कि यो समाजमा रहेका व्यक्ति क्षणिक सुख आनन्दको खोजीमा मात्र क्रियाशील हुँदै गएको छ। आफ्नो क्षणिक स्वार्थकै लागि मानवले विज्ञान प्रविधिको माध्यमबाट विभिन्न अन्वेषण र आविष्कार गरे। तथापि मानवको यो विलक्षणको ज्ञान र उपलब्धि संकटको दिशान्मुख छ। आजको उपलब्धिबाट भोलिको दिनमा के कस्ता परिणाम देखा पर्ने हुन् समाजमा भन्नेबारेमा स्वयं आविष्कारक नै अनभिज्ञ छन्। आफूले विकास गरेको न्युक्लियर बमले जापानमा त्यति धेरै मानिस मारिन्छन् भनेर आइस्टाइनले सायदै सोचेका थिए होलान्। उनले विनाशका लागि नभई विकासका लागि आफ्नो जीवन समर्पण गरेका थिए। तर परिणाम उल्टो निस्कियो। तसर्थ विज्ञान प्रविधिको विकासबाट भविष्यमा भोग्नुपर्ने चुनौती र जटिलताहरूका सम्बन्धमा मानव अनभिज्ञ छ। अहिलेसम्मका वाद र विचारले यो चुनौतीको खास समाधान दिन सकेनन्। यद्यपि पवित्र क्रान्तिले मानवको आजको क्रियाकलापले भविष्यमा ल्याउन सक्ने जटिलता र भयावह चुनौतीको बारेमा ज्ञान दिने दाबी गर्छ। क्रान्तिको यस अवधारणाले त्यसबाट सुरक्षित रहने उपायहरूका बारेमा बुझाउन र समग्र मानवीय हितलाई प्रवद्र्धन गर्ने दाबी गरेको छ। यद्यपि यसबारेमा पुस्तकमा खासै मूर्त कुरा भने उल्लेख गरिएको छैन।
के क्रान्तिमार्फत मृत्युपछिको मुक्ति सम्भव छ ? कुनै त्यस्तो क्रान्ति छ जसले मानवको जीवनपछिको मुक्तिलाई सुरक्षित गराउन सक्छ ? यसको जवाफ खोज्ने क्रममा ११औं शताब्दीको आसपासमा युरोपमा घटेको एक घटनालाई उहाँ उल्लेख गर्नु उपयुक्त होला। त्यस समयसम्म क्रिस्चियन धर्म एउटै थियो क्याथोलिक। क्रिस्चियन धर्मका पोप तथा पादरीहरूले त्यस बेलासम्म सो धर्मका अनुयायीहरूलाई प्रभु अर्थात् भगवान्लाई सीधै भेट्न दिँदैनथे। पोपहरू क्रिस्चियन धर्मका अनुयायीहरूले आफू मार्फत भगवान्लाई भेट्नुपर्ने तर्क गर्थे। धेरै क्रिस्चियनलाई यो चित्त बुझेन र धर्ममा विद्रोह गरे। त्यसपछि नै हो, क्रिस्चियन धर्ममा दुई धारको विकास भएको क्याथोलिक र प्रोटेस्टेन्ट। प्रोटेस्टेन्टहरूको विद्रोह या भनौं क्रान्तिले यसपछि मृत्युपछिको मुक्तिमा ध्यान दिएन। यसपछि प्रोटेस्टेन्ट चर्चहरूमा धार्मिक सवालमा कम बहस हुन थाले। बरु सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, भौतिक सवालमा व्यापक बहस, छलफल र वादविवाद हुन थाले। परिणामतः क्रिस्चियन धर्ममा फुट आएसँगै संसारको इतिहासले गति समात्यो। विश्वलाई विहंगम दृष्टिकोणबाट हेर्ने हो भने यो सबैभन्दा ठूलो घुम्ती थियो जहाँबाट मानिस मृत्युपछिको मुक्तिमा घोरिने भन्दा पनि जीवनकालकै सुख र आनन्दका लागि संघर्ष गर्न थाल्यो। समाजशास्त्री म्याक्स वेवर क्रिस्चियन धर्ममा भएको यस क्रान्तिसँगै संसारले परिवर्तनको गति लिएको दाबी गर्छ।
यो घटना यहाँ यसकारण पनि उल्लेख गर्नु सान्दर्भिक छ कि यतिखेर धर्मावलम्बीहरूले पनि मृत्युपछिको मुक्तिका बारेमा घोरिन करिब करिब छाडिसकेका छन्। किनकि त्यसलाई प्रमाणित गर्न गाह्रो छ। तर पवित्र क्रान्तिको दर्शनले क्रान्तिमार्फत मृत्युपछिको मुक्ति पनि सम्भव छ भन्ने तर्क गर्छ। धर्मगुरुलाई छाडेर भन्ने हो भने आजसम्मका सबै दार्शनिक र विचारकहरू मानिसको ज्ञान उसको ज्ञानेन्द्रिय चिन्तनभन्दा बाहिर जान सक्दैन भन्ने तर्क गरेका छन्। उनीहरूको भनाइको सार त्यो हो कि ज्ञानेन्द्रियले अनुभव गर्न नसक्ने कुरा ज्ञान होइन, त्यो त फगत कल्पना हो। तर पवित्र क्रान्तिले यस्ता विद्वान्हरूले दर्शन तथा ज्ञानको सन्दर्भमा अपनाइरहेका यो आधारभूत मान्यतालाई अस्वीकार गर्छ। यसको तर्क छ, ‘मस्तिष्कीय चिन्तन र ज्ञानेन्द्रिय सीमाभन्दा बाहिर पनि ज्ञान छ। अहिलेको क्रान्तिले जीवनभन्दा परको मोक्ष पनि सम्भव छ।’ तथापि यहाँ एउटा विवाद देखिन्छ, त्यो के हो भने ज्ञानेन्द्रिय सीमाभन्दा बाहिर गएर चिन्तन गर्न त सकिन्छ तर के यसले सामाजिक मान्यता पाउन सक्छ ? यसको प्रस्ट जवाफ ९० पेजको पुस्तकमा भेट्न सकिन्न। यद्यपि केही अनुच्छेदमा मान्यता पाउन सक्छ भन्ने उल्लेख भने गरिएको छ।
पवित्र क्रान्तिको आधारभूत सार भनेको दिनदिनै विविध सामाजिक समस्या तथा संकटमा पर्दै गएका मानिसलाई आध्यात्मिक र भौतिक उपायबाट मोक्ष प्रदान गर्ने रहेको दाबी गरिएको छ। सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, सामरिक, भौतिक जस्ता विभिन्न कारणले विश्व परिवेशमा बदलाव आएको छ, जसले समग्र मानवमाथि विविध समस्या ल्याएको छ। मानव गम्भीर प्रकारका जोखिममा छन्। यस्ता जोखिम र संकटबाट मानवलाई मुक्ति दिलाउन आध्यात्मिक र भौतिक दुवै तरिकाबाट ज्ञानको प्रवाह गरी मोक्ष प्रदान गर्ने पवित्र क्रान्तिको उद्देश्य रहेको दाबी गरिएको छ।
हुन त हरेक दर्शन र त्यो दर्शन कार्यान्वयन गर्न गरिने क्रान्तिको एकमात्र उद्देश्य भनेको समग्र मानव हित हो भनिन्छ। फ्रान्सेली राज्यक्रान्तिको उद्देश्य पनि यही थियो। सो क्रान्तिअगाडि मजदुरलाई मालिकविरुद्ध आवाज उठाउन सकिन्छ भन्ने थाहा थिएन। कामदार र मजदुरलाई आफ्नो हकअधिकारका लागि एकजुट हुन पाइन्छ र साझा र संगठित रूपमा आफ्नो वर्गको हितका लागि क्रान्ति गर्न सकिन्छ भन्ने जानकारी थिएन। त्यसैले भनिन्छ, सन् १७८९ को फ्रान्सेली राज्यक्रान्ति चिया पसलबाट सुरु भएको थियो। किनकि मजदुरहरू अन्यत्र कहीँ पनि सँगै बस्न र आफ्नो पीरमर्काका बारेमा छलफल गर्न सक्ने सामथ्र्य राख्दैनथे। उनीहरूलाई यस्तो अधिकार थिएन। चिया पसलमा हुने अनौपचारिक छलफल तथा कुराकानीबाट थाहा पाएकी हरेक मजदुरमाथि मालिकले थिचोमिचो गरेका छन्, शोषण गरेका छन्। एउटालाई मात्र होइन सबैलाई यस्तै गरेका छन्। त्यसैले यस्तो शोषण एकजनाको मात्र समस्या होइन, सामूहिक हो। यो बुझेपछि क्रान्ति भयो। त्यही क्रान्तिको प्रभावले गर्दा अहिले हरेक कम्पनीमा मजदुरले ट्रेड युनियन खोलेर संगठित हुन र आफ्नो वर्गको फाइदाका लागि आवाज उठाउन पाएका छन्। आफ्नो ज्याला, आरामको समय र अन्य सुविधा तोक्न आवाज उठाउन सकेका छन्। यो त्यही क्रान्तिको कारण सम्भव भएको हो। त्यसैले भन्न सकिन्छ, हरेक दर्शन र त्यो दर्शनलाई कार्यान्वयन गर्न गरिने क्रान्तिको एकमात्र उद्देश्य समग्र मानव समुदायको मुक्ति नै हो।
महेश प्रसाईद्वारा लिखित पवित्र क्रान्ति परिशीलन पुस्तकमा पवित्र क्रान्तिका विविध आयाम तथा स्वरूपलाई व्याख्या गर्ने प्रयास गरिएको छ, जसमा नौवटा निबन्ध छन्। सबै निबन्ध तर्कयुक्त छन्, जसले पवित्र क्रान्तिका आधारभूत मान्यता, यसको आयाम, औचित्य र सान्दर्भिकतालाई प्रस्ट पार्ने प्रयत्न गरेका छन्। पवित्र क्रान्ति एक सामाजिक प्रशिक्षण शीर्षकको निबन्धले पवित्र क्रान्ति कसरी सामाजिक प्रशिक्षणमा आधारित छ भन्ने स्पष्ट पारेको छ, जसमा प्रसाई लेख्छन्, ‘तर्कशास्त्र र नीतिशास्त्र पनि अन्तिम होईन।’ उनले यहाँ समाजको र सामाजिक परिवर्तनको खास कुरोलाई समातेका छन्। संसारमा कुनै कुरा अन्तिम सत्य होइन। त्यो केही समयका लागि मात्र सत्य हुन्छ। जसरी पानी १०० डिग्रीमा उम्लिने कुरा पूर्ण रूपमा सत्य होइन। पहिला मान्छे पृथ्वीलाई सूर्यले घुम्छ भन्ने तर्क गर्थे, त्यो असत्य भयो र पृथ्वीले सूर्यलाई घुम्छ भन्ने तर्क अगाडि आयो। थाहा छैन, यो पनि कति समयमा असत्य प्रमाणित हुने हो। हो, यसरी समाजमा सत्य भनिएका स्थापित मान्यतामाथि जब आलोचनात्मक दृष्टिकोण राख्न थालियोे, त्यहीँबाट वैज्ञानिक दर्शन सुरु भयो। समाज रूपान्तरणको महत्त्वपूर्ण इतिहास थालनी भयो।
पुस्तकमा समेटिएको पवित्र क्रान्तिको औचित्य शीर्षकको निबन्ध महत्त्वपूर्ण छ। प्रसाईले पवित्र क्रान्तिको खास औचित्यलाई एक वाक्यमा उल्लेख गरेका छन्, ‘मनुष्यलाई मनुष्यकै श्रेष्ठतामा स्थापित गराउन पवित्र क्रान्तिको उदय भएको हो।’ उनी थप्छन्, ‘बहुविध विचार, बहुविध संस्कृति र बहुविध मत सम्प्रदाय, ती सबैको पूर्ण उपयोगितालाई प्रयोग गरेर नवीन प्राचिको घुम्टो उघार्न सक्नु नै पवित्र क्रान्ति हो।”
पवित्र क्रान्ति भौतिकवादी दर्शनमा हेगेल निकट देखिन्छ। हेगलवादले भौतिकवाद र अध्यात्मवादलाई जोड्ने पहल गरेको थियो। यही दर्शनको जगमै माक्र्सवाद जन्मियो। यही दर्शनको समेत केही सवाललाई लिएको पवित्र क्रान्तिले समकालीन समाजमा हेगेलवादलाई सिर्जनशील तवरबाट व्याख्या गर्ने प्रयास गरको छ। यद्यपि क्रान्तिको यस स्वरूपका बारेमा आवश्यक व्यापक बहस र छलफलको सुरुआत अझै हुन सकेको छैन। यसका आधारभूत मान्यता तथा बुझाइप्रति आमबहस, छलफल र विचार–विमर्शको सुरुआत हुन सकेको छैन। विचार र बहसको मन्थनबाट मात्रै पवित्र क्रान्तिको दर्शनमा थप निखारता आउन सक्छ। यसका लागि निर्वाचन हारेर सत्ता गुमाई फुर्सदिला बनेका चाम्लिङले पक्कै पनि काम गर्लान्।