निकास नपाएको विकास
संसार हुर्रिएको छ डाँडापाखा हेर्न, चितुवा किन सुतिरहेछ आँगन आँगनमा ? डोजरले समृद्धि हैन, यमराज किन ल्यायो देशैभर ?
बेँसीमा रहेको घरको आँगनमा बसेर अगाडिको डाँडाको टुप्पोतिर नियाल्दा रूखै छोएझैं जहाज र हेलिकप्टर छिनछिनै फुत्तफुत्त निस्कन्थे र आकाश थर्काउँदै पल्लो डाँडामा पुगेर बिलाउँथे। घाम पनि त्यहीँबाटै उदाउँथ्यो र पल्लो डाँडाको टुप्पोमा पुगेर बिलाउँथ्यो। घाम बिलाएसँगै गाउँलाई झ्याउँकीरीले गिज्याउँथे। चुक घोप्ट्याएजस्तो अन्धकार, धिप्रीको धिपधिपे उज्यालो र झ्याउँकीरीको झ्याउँझ्याउँ। बत्ती नभएको जिन्दगी के जिन्दगीजस्तो लाग्थ्यो त्यो अँधेरी रातमा। जसै जून उदाउँथ्यो, मन उज्यालो हुन्थ्यो। जूनेली रातमा झ्याउँकीरीले त्यतिविघ्न हेप्न सक्दैनथे। लम्फा र धिप्रीको धिपधिपे उज्यालोसामु किताब फिँजाएर पढिबस्दा मनमा अनेक सपनाले हाँगा हाल्थे। बिजुली बत्तीले जोडिएको जिन्दगी, सडकले जोडिएको जिन्दगी, किताब र पत्रिका गाउँतिर किन्न पाइने फिलिली जिन्दगी। अहा जिन्दगी। सलल बगेको सर्लक्कको जिन्दगी। म त बालकैदेखि पाठ्यपुस्तकभन्दा परका किताब पनि थुप्रै पढ्थेँ। किताबमा मीठामीठा कुरा हुन्थे। विकासका कुरा हुन्थे। निकासका कुरा हुन्थे। हाम्रातिर न विकास थियो न त निकास। गाउँको जिन्दगी सलल बगेको थिएन। जमेको थियो।
रूख छोएर उदाउने/अस्ताउने घाम र रूखको टुप्पोबाट ओर्लने होलिकप्टरको दृश्यले मनमा अनेक प्रश्न जन्माउँथे। आकाश पनि त्यही डाँडाको आड लिएर अडिएजस्तो लाग्थ्यो। त्यो डाँडाको टुप्पोमा पुग्न पाए ? आकाश त यस्सो लम्केरै छुन पाइन्थ्यो होला, हेलिकप्टर र हवाईजहाज पनि नजिकबाटै देख्न पाइन्थ्यो होला। सानोमा यो रहर मनमा निकै बलियोसँग गढेर बसेको थियो। नेपाल ठूलो छ, बालक मनलाई त्यो राम्ररी थाहा छ। संसार धेरै ठूलो छ। त्यो पनि थाहा छ। सगरमाथा धेरै अग्लो छ। त्यो पनि थाहा छ। सबैभन्दा अग्लो सगरमाथालाई नै छेक्न सक्ने गरी कति धेरै डाँडाकाँडा उभिएका होलान् ? त्योचाहिँ थाहा छैन। सगरमाथाको उचाइ फेदबाट ननापेर समुद्रको सतहबाट किन नापिएको होला ? त्यो त झन् थाहा छैन। घरको उचाइ, बरको रूखको उचाइ, रोटे पिङको उचाइचाहिँ किन फेदबाट नापिन्छ होला ? भूगोलको औपचारिक पढाइ सुरु नहुँदै मेरा मनभरि यस्ता प्रश्न कति थिए कति। किताबमा अनेक थरी उत्तर थिए। मुना र सुनकेस्रामा अनेक कुरा छापिन्थे। पढ्थेँ। तर यी जिज्ञासाको सजिलै बुझिने जवाफ थिएनन्। बालकैमा यस्तो कुरो राम्ररी कहाँ बुझिन्थ्यो र ? वरिपरिका पहाडले पहाडजस्तै अग्ला प्रश्न सोधिरहेका हुन्थे। बालक दिमागले धेरै कुरो ठम्याउन र प्रश्नका पहाड सम्याउन सक्दैनथ्यो।
तनहुँको मेरो गाउँ (बर्लाची) राष्ट्रिय राजमार्गसँग नजोडिए पनि आकाशमार्गबाट गजबसँग जोडिएथ्यो। दिनभर जहाज र हेलिकप्टर त उडेको उड्यै। म बिदाको दिनमा आँगनमा बसेर गनेको गन्यै। कहिलेकाहीँ त धुवाँको मुस्लो फालेर उड्ने रकेट पनि देखिन्थे आकाशमा। आकाश छेडेर अर्कै ग्रह खोज्न हिँडेको रकेट कतै आकाशमा त ठोक्किन्न ? मेरो मनमा डरको ठूलो घर थियो। अलि कुरा बुझ्न सक्ने भएपछि बल्ल डरैडरको त्यो आकाशे घर भत्कियो र मनको आकाश पनि छ्यांग खुलेझैं भयो।
डाँडै छोएर हेलिकप्टर र घाम निस्केको रोमाञ्चक दृश्यले मलाई डाँडापाखा हिँड्न मरिहत्ते गर्ने बनायो। समयले गाउँ, सहर र घरबस्ती योजनाको खाका कोर्ने मान्छे पनि बनायो। देख्न र देखेको कुरो लेख्न रहर गर्ने बनायो। ५ कक्षा पास गरेपछि त्यही हेलिकोप्टर र घाम लुकामारी गर्ने डाँडामा पुगेपछि देखेँ, देशमा त डाँडैडाँडा मात्रै छ। फेरि अर्को डाँडाबाट हेलिकप्टर निस्केको छ। घाम पनि अर्कै डाँडाबाट निस्केको छ। आकाश त कहाँ हो कहाँ छ। धेरै माथि छ। हत्तेरी। घरछेउको डाँडाको फूर्तिफार्ती त क्यै रैनछ। मलाई त झुक्याएको मात्रै रहेछ। डाँडैडाँडाको नेपाल। काँडैकाँडाको नेपाल। दुईचारवटा राष्ट्रिय राजमार्गबाहेक बाटोघाटोले कतै नजोडिएका डाँडा विकासका लागि काँडाजस्ता लाग्थे। न हिँडेर सक्नु, न गुडेर न उडेर। आफ्नै पाखोरेखोमा गँुडुल्किएर बस्नुबाहेक केही विकल्प नभएजस्तो। त्यति बेलाको नेपाल मलाई डाँडाले थुनेको बन्द ठाउँजस्तो लाग्थ्यो। खानेपानीको कुवा कता, स्कुल कता, खेत कता, गोठ कता, गाउँ कता, बाटो कता। यतै कष्ट, उतै कष्ट। वल्लो पाखो र पल्लो पाखोको कैदी जिन्दगीजस्तो।
आकाश छुने डाँडा खोज्दै एकपछि अर्को डाँडा नाघियो बालकैदेखि। जता गयो उस्तै हाल। घाम निस्कने र लुक्ने डाँडा, हेलिकप्टर निस्कने र हराउने डाँडा त कति कति। बडेमाका झोला बोकेका विदेशी डाँडाकाँडा खोज्दै हिँडेको देख्दा हामीलाई अचम्म लाग्थ्यो। लमजुङको सदरमुकाम बेँसीसहरभर भारी बोक्ने खच्चर र बडेमाको झोला बोकेका विदेशीको हुल डाँडा चढ्न हतार गरिरहेको भेटिन्थ्यो। घरछेउकै सोतीपसल बजारमा पनि पर्यटक र भारी बोक्ने खच्चडका हुल कति कति। हिँडेरै मनाङ पुग्ने, हिँडेरै अन्नपूर्ण सेरोफेरो पुग्ने तिनको रहरमा मलजल के ले गरेको होला भन्ने लाग्थ्यो। नेपालीहरू कि त पथप्रदर्शक हुन्थे या त सहयोगी। झोला बोकेर घुम्नै भनेर हिँडेको, पैसा खर्च गर्न हिँडेको नेपाली त विरलै देखिन्थे। सधैं देखिरहेको डाँडा, भोगिरहेको दुःख। अनि किन रमाउनु र यस्ता डाँडापाखामा ? बरु तीर्थ गर्न दूधपोखरी, मुक्तिनाथ, गोसाइँकुण्ड आदि ठाउँ जानेहरूचाहिँ हुन्थे। सबैको रहर हुन्थ्यो, सहर जाने। लुम्बिनी, जनकपुर, पोखरा र काठमाडौंको पशुपतिनाथ जान पो गाउँका मान्छेले चासो राख्थे। विदेशी मात्रै डाँडापाखा डुल्ने चलन फेरिएर नेपालीहरू पनि डाँडा डुल्न अभ्यस्त भइसकेको कति नै भयो र ?
८ कक्षामा पढ्दा लुम्बिनीको भ्रमणको मेसो जुरेथ्यो। देखेँ, घाम त भुइँबाट उदाएर भुइँमै पो अस्ताएको छ। डाँडा त कताकता, बारीमा सानोतिनो ढिस्को पनि छैन। भुइँबाट घाम उदाएको र भुइँमै पुगेर अस्ताएको दृश्य मेरो मनमा अहिले पनि उस्तै ताजा छ। त्यसपछि बल्ल समथर भुइँले पनि मेरो मन तान्यो। सम्म भूमिमा बस्ती योजना र भौतिक पूर्वाधार योजनाका खाका कोर्न कति सजिलो होला ? न डाँडा सम्याउनु छ, न बाटोलाई फन्फनी बटार्नु छ। केही छैन। मैदान खाली छ, गोलपोस्ट पनि खाली छ। अनि सम्म भूमिमा किन यस्तो गरिबी, अशिक्षा र भोकमरी ? सद्दे बाटो किन छैन ? बालुवा यतै छ। भएरभरका सिमेन्ट उद्योगले निरन्तर कालो धुवाँ आकाशमा फालिरहेका छन्। डन्डीका बन्डल, अलकत्राका ड्रम पसल–पसलमा पसारो परेका छन्। अनि एक टुक्रो सद्दे सडक किन छैन ? आँखाले देखेसम्म उखु फलेको छ। तर खुदो र चिनीको कहानी किन यति तीतो ? पहाडको हाम्रो गाउँमा चार पाथी तोरी फल्दा उत्पातै उद्यम भएझैं हुन्थ्यो। घट्टमा लगेर पिसेर चार माना तेल ल्याउँदा कत्रो खुसी भित्रिन्थ्यो। मधेसमा त आँखैभरि तोरीबारी छ। हराभरा छ तोरीबारी। तर तोरी फलाउनेका गोडा किन पटपटी फुटेका छन् ? चप्पल किन छैन गोडामा ? फुटेका गोडामा तेल किन छैन ? तोरीको गेडाबाट तेल ननिस्कने झेल किन चलिरहेछ यता ? बालकैमा मधेस घुम्दा उब्जेका यी प्रश्नको जवाफ पनि बस्ती योजना र पूर्वाधार विकासका गुरुयोजना बनाउन जानेसँगै समयले सिकायो।
हिमाल, पहाड होस् या मधेस; यो देशको विकास बेढंगको राजनीतिले खायो। पञ्चायत कालको विकास निकासा र पुकासामै सीमित रह्यो। सवारी क्याम्पको वरिपरिको तामझाम र रामरमितामै पञ्चायतको विकास सीमित रह्यो। बन्नलाई दुईचार बाटाघाटा, केही सहर र केही उद्योगधन्दा बने। तर गाउँका जनताको जीवनस्तर जस्ताको त्यस्तै रह्यो। त्यसपछि आयो २० वर्षे रित्तो याम। गाउँगाउँबाट मान्छे लखेटिने र कर्मचारीको झोलामा गाविस अटाउने त्यो २० वर्षको रित्तोपनाले देशमा विषवृक्ष नै रोप्यो। कागज मिलाएर कागजमै विकास गरेर पैसा खाने विषवृक्ष। विषवृक्ष अहिले कति डरलाग्दोसँग फिँजिएको छ भने राम्ररी काम गर्छु भन्ने मान्छेलाई ज्यान जोगाउनै मुस्किल छ। कसैले गतिलो काम गर्न खोज्यो भने ऊ त्यो कागजी चक्रव्यूहमा डरलाग्दोसँग फस्छ। पहिला कागजले पसिना सोस्यो। फलाउनेको हातबाट अनाज खोस्यो। अहिले कागजले देशको समृद्धि खोसिरहेछ। कागजमै बन्छ स्कुल। कागजमै बन्छ पुल। कागजमै बन्छ अलकत्रे बाटो। यसरी अलपत्र परिरहेछ देश। गाउँगाउँमा देश जोत्न डोजर पुगेका छन्। घरमुनि बाटो छ। घर छिर्न लिस्नो लगाउनुपर्ने भएको छ। बरपीपलका रूख, चौतारी, पाटीपौवा केही नभनी डोजर जोतिदिँदा गाउँठाउँ उराठलाग्दो भएको छ। डोजरले डामेपछि बाटो बनिहाल्छ भन्ने सपनाले डरलाग्दोसँग जरो गाडेको छ। र त्यही जरो खोतल्दा जमिन मात्र हैन, सामाजिक सद्भाव पनि नराम्ररी खल्बलिएको छ। कागजमा विकास गर्नजस्तै सजिलो छ डोजर जोत्न पनि। रातारात काम देखिन र बिल पास गर्न यो जत्तिको सजिलो उपाय नेपाली धर्तीमा बनेको छैन। त्यसैले लामो समयको प्रतीक्षापछि आएको स्थानीय सरकार देश बन्ने सपनैमा डोजर जोतिरहेको छ।
अब त हेलिकप्टर आउने डाँडाको टुप्पो नै भाँचिएको छ, डोजरले हानेर। घाम उदाउने–अस्ताउने डाँडाको टुप्पोको पनि अनुहार फेरिएको छ। भाँचिएको डाँडाको टुप्पोबाट उदाएको घामले मन झलमल्ल पार्न सकेको छैन। गाउँमा विकास आयो। डोजर आयो। बांगोटिंगो बाटोमा ढलपल ढलपल गर्दै बस आयो कि यमराज आयो ? गाउँ त त्यसैत्यसै अल्मलिएको छ। आजकाल त पहाड सुनसान बोकेर बाँचिरहेछ। मान्छेले होइन, चितुवाले भरिएको छ गाउँघर। बुट्यान बढेर गाउँघर वनजस्ता बनिसके। मान्छे नभएपछि चितुवा लुक्ने वन आँगनसम्मै आएको छ। कहिलेकाहीँ घर जाँदा तर्सिन्छु, सुनसान आँगनमा बिरालो भेटिन्छ कि मस्त निदाइरहेको चितुवा ? पहाड किन सर्लक्क बढारियो बगर र बजारतिर ? मधेस किन अहिले पनि झुपडीमा धुलाम्मे जीवन बोकेर बाँचिरहेछ ? चिनीको कथा अझै किन तीतो छ ? पटपटी फुटेका गोडामा तोरीका गेडाबाट तेल किन पर्दैन ? राजनीति र विकासको खेलमा यति धेरै झेल किन मिस्सिएको छ ? सम्म भूमिमा गरिबीको पहाड किन झन् अग्लो छ ? संसार हुर्रिएको छ डाँडापाखा हेर्न, चितुवा किन सुतिरहेछ आँगन आँगनमा ? डोजरले समृद्धि हैन, यमराज किन ल्यायो देशैभर ? पहाडजस्तै अग्ला यी प्रश्नको जवाफ समयले ढिलोचाँडो देला। समयलाई नपर्खी आफैं जवाफ खोतल्न र समृद्धिको सम्भावना खोज्न रहर गर्नेको जय होस्।
@Sabdachittra आर्किटेक्ट तथा ग्रामीण विकासविज्ञ हुन्।