तन्द्रा–निद्रा

तन्द्रा–निद्रा

रात्रिभोजमा गएका प्रायः कोही पनि बाँकी रहेनछन्। श्यामलाई भन्न नै नमिल्ने सुरज भाइको हिजोको कुराको लहरो सम्झँदै मात्र के थिएँ, तन्द्राबाट फेरि निद्रामा पुगेछु।


समय : अहिले अर्थात् विक्रम संवत् २०७६ को मध्यतिर

पात्र : सुरज र म

स्थान : जिब्राल्टर टापुको मध्य सहर

खासमा मलाई ऊतिर हेर्न र बोल्न पनि मन थिएन। किनभने पछिल्लो महिना दिनयताका दर्जनौं भेटमा ऊ दोहोरी गीत मात्र गाइरहन्थ्यो। मचाहिँ दोहोरी पटक्कै मन नपराउने। दोहोरी सुन्नुभन्दा चिनियाँ गीत सुन्दा बढी आनन्द लाग्ने मलाई उसको नजिक पर्न नचाहनुको मूल कारण यही थियो।

उसको अर्को विशेषता के भने ऊ अलिक समय कुरा गर्दै जाँदा भन्थ्यो, ‘गलत ढंगले संस्कार बनेको विषय सच्याउनका लागि म जीवन अर्पण गर्न चाहन्छु।’ म यस विषयलाई खोलामा बगेको उसको राजनीतिक लगानीको कुण्ठाको अभिव्यक्तिका रूपमा मात्र लिन्थेँ।

म स्पेनिस रेस्टुरेन्टको टाउटर अर्थात् ग्राहक बोलाउने कामदार। नजिकैको इन्डियन रेस्टुरेन्टमा ऊ भाँडाको काम गथ्र्यो। काम गर्ने ठाउँ एउटै आँगन भएका कारण पनि दैनिकजसो भेट भइहाल्थ्यो। ऊ गाइरहन्थ्यो— सालको पात टपरी हुनी, नहुनी सल्लैको...। तर, आज परैबाट अलिक गम्भीर देखिने अनुहार बोकेर ऊ मेरो नजिकै आयो। सोध्यो, ‘दाइ, आज तपाईंको काम कति बजे सकिन्छ ? ’

मेरो काम राति १२ बजे सकिन्थ्यो। भोलि साप्ताहिक बिदा थियो। अबेर बसे पनि फरक नपर्ने। निजी सरसफाइ, पर्सिपल्टको पोसाक आदिको तयारी गरी खाना खाएर निस्कँदा लगभग १ बज्थ्यो। मैले यही सुनाएपछि ऊ केही गम्भीर भयो। उसले थप्दै भन्यो, ‘मैले खाना बनाउने सामान लगेर राखेको छु, मेरो घरमै खाँदा के होला ? त्यसो गर्दा त १२ बजे निस्किन सक्नुहुन्छ हैन ? ’

ठ्याक्कै हुन्छ वा हुन्नँ भन्न सक्ने अवस्थामा म थिइनँ। उसले मेरो समय तालिकाको हिसाब गरेको थियो यो प्रस्तावअघि। उसको घरमा खाना खानु भनेको म १२ बजे उससँगै निस्कनु हुन्थ्यो।

‘दाइका लागि भनेर कोब्रा बियर ल्याएर राखेको छु’m मलाई लोभ्याउने अर्को कुरा उसले मनबाटै भनेको थियो। म लोभिए पनि उसलाई मेरो मनमा पलाएको लोभ देखाइनँ। तर जनयुद्धका नाममा अनौठो अनुभव लिइसकेको सुरज अर्थात् कमरेड ज्वाला मनोविज्ञान बुझ्न कम्ता सिपालु थिएन।

थपिहाल्यो, ‘अस्ति नै बेल्जियमबाट रेस्टुरेन्टका सामान आउँदा एक बाकस झ्याप हानेको थिएँ। तपाईंसँग एक दिन खाने भनेर सुरक्षित राखेको छु। तपाईंलाई नि मन पर्छ हैन ? ’

वास्तवमा म बेल्जियममा गैरकानुनी अर्थात् कालोमा काम गरेर फर्किएपछि कोब्रा बियरको एडिकजस्तै भएको थिएँ। मलाई त्यहाँ काम लगाउने दार्जिलिङका साहुले कबोलअनुसारको पैसा दिँदैनथ्यो। राति रेस्टुरेन्टकै माथिल्लो तलामा सुत्ने गर्थें। रेस्टुरेन्ट कुर्ने काम प्रायः एक्लै गर्नुपर्ने भएका कारण म कोब्रा बियर खाएर मात्रै सुत्थेँ। अलिक कडा र बाक्लो अनि गहुँको फ्लेवरको भनेर प्रस्ट चिनिने यो इन्डियन बियर मेरो साँझको खाजाजस्तै भएको थियो। एनआरएनको वार्सिलोना कार्यक्रममा मैले सुरजलाई यो सन्दर्भ सुनाएको थिएँ, महाराजा रेस्टुरेन्टमा चुस्की लगाउँदै। म दोमनलाई अब उसको पक्षमा ढल्काउने अवस्थामा पुगेँ। र, भनेँ, ‘हुन्छ यार भाइ, आज जमौंला नि त।’

‘दाइ, खासमा क्या त, एउटा कुरा सेयर गरौं भनेर पनि हो आजको मेरो रहर।’ उसले कुरा सुरु गर्दै भन्यो। ‘नेपाल गएर क्याटरिङ खोल्छु। तर त्यसअघि यहाँको पासपोर्ट लिनै पर्ने भो भनेर मात्र म यता आएको।’ उसले बारम्बार भनिरह्यो, ‘क्याटरिङमा हरेक वर्ष सबै नेतालाई एकैपल्ट बोलाउन सकिन्छ। एकाध पल्ट राम्रो काम गरेपछि हामी स्थापित हुन्छौं। अनि मेरो लक्ष्य पनि पूरा हुन्छ।’

नेपाल नै फर्किने भए किन यो भूमिमा यतिका दुःख गर्नु ? यसको जवाफ उसले आंशिक रूपमा दिएकै थियो। तर, ठोस रूपमा अझै भनेको थिएन। नेपाल नै फर्किएर क्याटरिङ चलाउने भए किन यहाँको पासपोर्ट चाहियो र ? नेपाल फर्किएर यताको पासपोर्ट पनि सुरक्षित राख्दै केही गर्ने सोच राम्रै होला। तर, किन क्याटरिङ नै खोल्ने ? यस्ता धेरै प्रश्नले मलाई घेर्न थाले।

वर्तमानमा हराउन घुट्को लगाउँदै सोच्न थालेँ। जति सोच्यो त्यति अनौठो लाग्यो मलाई उसको लक्ष्य। वर्षौं विदेश बसेर दुःख गरेर नेपाल फर्किएर अरू नै गतिलो काम किन नगर्ने ? उसको अहिलेको कुरा सुन्दा लाग्छ, क्याटरिङ व्यवसाय उसको पुस्तौंदेखिको सपना हो। अथवा क्याटरिङ त्यस्तो पेसा हो, जसले उसको घर, परिवार र सिंगो देशका लागि सुनको फुल पार्ने कुखुरीको काम गर्छ। अँ, अर्को कुराचाहिँ ऊ बारम्बार भनिरहन्थ्यो, ‘देशका सबै नेता एकै ठाउँमा जम्मा हुन्छन्।’ उसको लक्ष्य यसपछि नजिक हुन्छ। मैले विचार गरेको अर्को कुराचाहिँ के थियो भने जब ऊ सबै नेता जम्मा हुने कुरा गथ्र्यो, त्यति बेला ऊ अकस्मात् गम्भीर हुन्थ्यो।

यहाँनेर पनि उसले एकपटक फेरि भन्न भ्यायो, ‘मलाई चर्चित हुँदै इतिहासमा नाम पनि लेख्नुपर्ने छ; जसले गलत बाटोमा हिँडेको इतिहासलाई सही ठाउँमा ल्याउन मद्दत गरोस्।’ मनमनै सोचेँ, ‘आफ्नो निजी कुण्ठालाई कहाँको देशको इतिहाससँग जोड्छ, मुर्दार।’

१४ वर्षको उमेरमा महान् जनयुद्ध भन्दै जीवनलाई विद्रोही धारमा बगाएको ऊ यता आएपछि चाहिँ समाज, राजनीति र नेपाली संस्थाबारे मतलब राख्दैनथ्यो। न आफ्नो विगत खुलेर कसैलाई बताउँथ्यो, न त कसैको संस्था र संगठनबारे वास्ता नै गथ्र्यो। खादा ओढेर फेसबुकमा पोस्ट्याउने संस्कृतिमा रमाएका नेपाली एनआरएनवालाको चमकधमक देख्दा नाक खुम्च्याउँथ्यो। फिस्स हाँस्थ्यो र भन्थ्यो, ‘विदेश बसेर महान् संस्कार सिकेका हामी नेपालीहरू।’

अब कथामा स्थान र मिति फेरिन्छ। तर, मूल पात्र उही हुन्छ। भूमिकाविहीन पात्र म नै हुन्छु।

स्थान : काठमाडौंस्थित पुत्र प्रकाश मेमोरियल हल

मिति : केहीपछि अर्थात् २०८० तिर

कार्यक्रम : सर्वदलीय रात्रिभोज

सन्दर्भ : राजतन्त्र पुनस्र्थापना गर्न भारतले खुलेरै भूमिका खेल्न थालेको थियो। यो विकसित घटनाक्रमपछि मुलुकका मुख्य दलका नेताहरूको निद हराम भएको थियो। उनीहरू आफ्ना मतभेद बिर्सिएर २०४६ र २०६२ जस्तै फेरि एक ठाउँ जम्मा भएका थिए। उनीहरूलाई एकै ठाउँमा ल्याउने यो रात्रिभोजको आयोजनाचाहिँ लोकतान्त्रिक निरन्तरता नामको गैरसरकारी संगठनले गरेको थियो। कार्यक्रममा क्याटरिङको जिम्मा सुरज भाइको क्याटरिङलाई दिइएको थियो। आजको भोजमा जनताको साथ लिएर पूर्वराजालाई फेरि शासनमा आउन नदिने रणनीति तय गर्नु थियो। तर, यहाँनेर एउटा समस्या थियो— जनताले दलहरूलाई साथ दिइरहेका थिएनन्। केही गम्भीर राजनीतिक विश्लेषक भन्थे, ‘अब केही कृत्रिम घटना हुन्छ र त्यसैको आडमा दलहरूले फेरि जनताको साथ लिने खेल सुरु हुनेछ।’

‘दाइ, तपाईंको परिचयपत्र यो हो है।’ गेटमै आएर उसले मेरो घाँटीमा फोटोसहितको परिचयपत्र झुन्ड्याइदियो। मलाई क्याटरिङको कर्मचारी बनाएर त्यहाँ बोलाइएको थियो। विगतमा मिडियामा काम गर्दा म यस्ता कार्यक्रममा सयौंपल्ट पुगेको थिएँ। त्यति बेला अर्थात् मैले रिपोर्टिङ गर्दा मिडिया र मिडियाकर्मी पनि सीमित हुन्थे। पेसा र त्यससँगै मुलुक छाडेको एक दशकपछि म फेरि ठूलाबडाको कार्यक्रममा जाँदै थिएँ। तर, नितान्त फरक परिवेश र फरक अनुभूतिसँग।

मलाई यहाँ कसैले नदेखोस् र चिनेका कोही नभेटिऊन् भन्ने लागिरहेको थियो। म कार्यक्रम स्थलभन्दा केही पछाडि कुनामा क्याटरिङ व्यवस्थापन गरिएको ठाउँतिर गएँ। यसो हेरेँ। हुन त मलाई खासै हेर्नु नै थिएन। त्यसैले थोरै हेरेँ र धेरैचाहिँ हेरेजस्तो गरेँ।

‘हाम्रो नयाँ सल्लाहकार उहाँ। उहाँले हामीलाई पार्टी खोज्ने, मिलाउने काम गर्नुहुन्छ।’ मेरो परिचय गराउँदै आफ्ना स्टाफका अगाडि उसले यस्तै केही केही भन्यो। मैले क्याटरिङका सबै कामदारसँग हात मिलाएँ। उनीहरू अप्ठेरो मान्दै हात मिलाउँदै नमस्कार गर्दै काममा फर्किए।

मलाई चाख्न भन्दै पटक पटक सुरजले खाना पकाएर तातोमा राख्ने ठाउँमा लगिरह्यो। केही बेरपछि उसले मलाई फेरि सोध्यो, ‘दाइ, केही खाने कि ? ’ मलाई खानुभन्दा पनि सरसफाइ र व्यावसायिकतामा बढी चासो लाग्थ्यो। युरोप छिरेको एक दशकमा सात वर्ष त मैले होटल, रेस्टुरेन्टमै काम गरेको थिएँ। नेपालका रेस्टुरेन्ट र होटलहरू कति स्तरीय होलान् भन्ने कुराको जिज्ञासा सधैं लागिरहन्थ्यो।

मैले केही नखाएपछि फेरि एकपटक उसले मलाई अनौठो तरिकाले भन्यो, ‘ल जाऊँ दाइ अब।’ यसपछि पनि दुई जना अधबैंसेजस्ता लाग्नै मेरै उमेरका क्याटरिङका मान्छेसँग पटक पटक कानेखुसी गरिरह्यो। मतिर हेरेर भन्यो, ‘दाइ, हामी साँच्चै नै जाऊँ अब। मेरो त आजै फ्लाइट छ, तपाईं पनि सुरक्षित भएर बस्नुहोला, राम्ररी आउनुहोला। नेपाल हो, यहाँ केही कुराको भर हुँदैन। भोलिको तपाईंको किताब विमोचनचाहिँ हुँदैन भन्ने सम्झनोस् अब।’

म झस्किएँ। वर्षौंपछि निकालेको र त्यसमा पनि अनेक किसिमको हतारो हुँदाहुँदै सारा कुरा छाडेर तय गरिएको विमोचन कार्यक्रम अचानक नहुने भन्छ। अनौठो गरी उसलाई हेरेँ। केही हडबडमा रहेको छनक दिँदै उसले भन्यो, ‘केही हैन दाइ, भोलि मुलुकमा आँधिबेहरी आउँछ रे, मौसम विभागले वार्निङ दिएको छ। बिहानैदेखि त्यस्तो भए पनि संयम राख्नुहोला। फेरि केही दिन बसेर अर्को कार्यक्रम गरी फर्किनु परे पनि सामान्य रूपमा लिनुहोला भन्न खोजेको मात्र हो।’

भोलि मेरो कार्यक्रम नहुने कुरामा ऊ ढुक्क थियो। मैले अझै उसको कुराको मेसो पाउन सकेको थिइनँ। तर, उसको संकेतलाई त्यति गम्भीर रूपमा पनि लिएको थिइनँ। बरु, अचानक उसको गमनले केही चिन्ता थपेको थियो। साता दिनअघि सुरजले यता बस्न खर्च पुगेन भन्दै मसँग अलिकति पैसा लिएको थियो। मैले ऊ आज जाने भनेपछि जानुअघि पैसा हात पर्ला भन्ने सोचेको थिएँ। तर, उसले यसबारे केही कुरै गरेन। भनांै कि नभनौंको दोधारमा रहेको बेला उसले आफैं मुख खोल्यो, ‘अँ दाइ, त्यो अस्तिको पैसा अर्को महिना उतै पेरिसमा तपाईंको रेस्टुरेन्टमा आफैं आएर हात लगाइदिन्छु। सरी दाइ, मैले अहिले दिन सकिनँ।’ ‘तर ढुक्क हुनोस् दाइ’, फेरि थप्यो, ‘म पहिला भन्ने गर्थें नि, हो त्यो सपना पूरा गरेर छाड्छु यसपालि।’

मैले केही भन्न नपाउँदै पुराना कम्युनिस्ट नेताको शैलीमा करप्पसँग हात मिलायो। तत्कालै गर्नैपर्ने कामजस्तै ध्यान दिएर खल्तीमा हात हाल्यो। पहेँलो रङको आइफोन १४ झिकेर मलाई अँगालो हाल्दै सेल्फी लियो। नजिकैको उबर उसलाई पर्खिरहेको थियो। फेरि हात हल्लाउँदै उबरभित्र छिरेर मबाट टाढा भयो। मानौं, उसलाई धेरै भन्नु छ तर भन्ने फुर्सद छैन या यो समय हैन। घामले अल्छीलाग्दो गरी पश्चिमबाट पहेँलो प्रकाश फ्याँकिरहेको थियो। म दिक्क मान्दै सरासर ललितपुर हानिएँ।

उपत्यकावासी भए पनि त्यहाँ आफ्नो घर नहुनुको अप्ठ्यारो मलाई जीवनभर भइरह्यो। यसपटक दस वर्षपछि स्वदेश फर्किंदा चार महिना बस्ने ठाउँका लागि मैले झम्सिखेलमा आफ्नै पुराना साथी श्याम महर्जनको घर भाडामा लिएको थिएँ। उनी आधुनिक शैलीमा घर भाडामा लगाउने रहेछन्। अर्थात् घरमा बसुन्जेल चाहिने सबै सामान उपलब्ध थिए। जुन मेरो पनि आवश्यकता थियो।

आवश्यक समयबाहेक नेट नखोल्ने मेरो बानी अझै उस्तै छ। आज पनि नेट खोलिनँ बरु भेलिको किताब विमोचन कार्यक्रमको संयोजक साथीलाई फोन गरेर अपडेट भएँ। घरका दैनिक काम पकाउने, खाने आदि सकेर भोलि बोल्ने विषय र तरिकाबारे केही टिपोट गरेँ। रात दिक्कलाग्दो थियो नै, त्यही बहानामा एक गिलास रेड वाइन खाएँ र मोबाइल साइलेन्समा राखेर सुतेँ।

प्रभात हुन बाँकी नै रहेछ। श्यामजीले ढोका ढकढक गरिरहेका थिए। म अर्कै कोठातिर कोही मान्छे आएको ठानेर बेवास्ता गरेर सुतिरहेँ। मैले ढोका नखोलेपछि उनले मुखले नै बोलाए, ‘पद्म सर। ओए, पद्म सर।’

श्यामजी मलाई विगत २० वर्षदेखि यही गलत उच्चारणको नामले बोलाउँछन्। अरूले यसरी नाम गलत बोलाउँदा रिस उठे पनि खै किन हो यिनले बोलाउँदा मलाई प्रिय लाग्छ।

‘पख्नोस् है, म आएँ श्यामजी।’ बत्ती बालेर कपडा लगाउँदै मैले भनेँ। उनले पर्खिन सकेनन् र भने, ‘पृथ्वी टीभी खोल्नोस् त, १० नम्बर च्यानल। लाइभ आउँदैछ, के भको यस्तो ? मुलुकको भलो छैनजस्तो छ भाग्यमा खै। राजा वीरेन्द्रको ख्याकले भेको भन्छ मान्छेहरू त।’

भएको के हो मलाई थाहा थिएन। यो घरबाहेक पृथ्वीभरि भूकम्प त गएन कतै ? मैले अरू बेलाजस्तै हावादारी कल्पना गर्न थालेँ। श्यामजीको आलसतालस अवस्थाले दरबार हत्याकाण्डभन्दा ठूलो नै केही भएको अनुमान गर्न सकिन्थ्यो। बिस्तारै ढोका खोलेँ, लगत्तै टीभी पनि। उनी आएर खाटमै बसे। मलाई घटनाबारे केही बताउनुभन्दा आफैं भन्न थाले, ‘तपाईं त पहिलेको पत्रकार, फोन गर्नोस् त। केही थाहा हुन्छ कि ? यहाँ आएको कुरा साँचो नै त होला हैन ? ’ मतिर हेरेर फेरि सोधे, ‘कसले जस्तो लाग्छ तपाईंलाई ? ’

म भने टीभीमा हेरेर बल्ल थोरै थाहा पाउँदै थिएँ— रात्रिभोजमा गएका प्रायः कोही पनि बाँकी रहेनछन्। श्यामलाई भन्न नै नमिल्ने सुरज भाइको हिजोको कुराको लहरो सम्झँदै मात्र के थिएँ, तन्द्राबाट फेरि निद्रामा पुगेछु।

साँच्चि श्यामले मध्यराति मलाई बोलाएर सुनाएको त्रासद घटना सुरजको योजना मात्र थियो कि वास्तविक घटना पनि ? म मध्यदिनमा ब्यूँझँदा पनि कन्फ्युज्ड थिएँ। 

@G_padam.


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.