साइकलप्रेमी भूषण रिङरोडमा किन डराउँछन् ?

साइकलप्रेमी भूषण रिङरोडमा किन डराउँछन् ?

इन्जिनियर भूषण तुलाधर साइकलप्रेमी हुन्। उनको यात्रा गर्ने एक मात्र सवारीसाधन साइकल हो। १० वर्षको उमेरदेखि उनले साइकल चलाउन थालेका हुन्। साइकल उनको जिन्दगीको अभिन्न हिस्सा हो। 


साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले १० वर्षको उमेरदेखि साइकल चढ्न थालेका हुन्। अहिले पनि यताउता जान उनी साइकलै प्रयोग गर्ने गर्छन्। अफिस जान होस् वा पुल्चोक कलेजमा पढाउन, उनी सधैं साइकलमै पुग्ने गर्छन्। भन्छन्, ‘साइकल मेरो एक मात्र साधन हो। गाडी र बाइकको त लाइसेन्स पनि लिएको छैन।’

भूषणको जन्म वीरगञ्जमा भएको हो। बाल्यकालदेखि नै काठमाडौँको होस्टेलमा बसेर पढेका हुन्, उनले। १० वर्षको उमेरमा घर जाँदा उनले बुबाबाट साइकल उपहार पाएका थिए। ‘मलाई सानैबाट काठमाडौँ राखेर पढाउनुभएको थियो,’ उनले सम्झिए, ‘एक पटक घर जाँदा साइकल किनिदिनुभयो। साइकल चलाउन पाउँदा खूब खुशी भएको थिएँ।’ 

काठमाडौँ फर्किएपछि उनी ललितपुर, पुल्चोकमा साइकल भाडामा लिएर चलाउन थाले। भन्छन्, ‘पुल्चोकमा भाडामा साइकल चलाउन पाइन्थ्यो। त्यहीँ गएर चलाउँथेँ।’ साइकलप्रतिको प्रेम त्यहीँबाट सुरु भएको थियो। ‘‘भाडाको साइकल कति चलाउनु ?’ भन्ने लागेपछि साइकल किनेँ,’ उनी सम्झन्छन्। 

‘यदि कसैले साइकल चलाइरहेको छ भने उसलाई मान्छेहरूले ‘एउटा बाइक पनि किन्न नसकेर साइकल चढेछ’ भन्ने सोच्छन्। त्यस्तै, धेरै मानिसले साइकल नचलाउनुको एउटा कारण सुरक्षा हो। अहिलेको रिङरोडमा साइकल चलाउनु खतरनाक छ।’– भूषण तुलाधर, साइकलप्रेमी  

स्कुले जीवन सकियो। कलेज जीवन अमृत साइन्स कलेजमा सुरु भयो। ‘त्यो समयमा कलेजको पार्किङमा साइकलको लाइन हुन्थ्यो,’ उनी भन्छन्, ‘साइकलको त्यो लाइनमा एउटा साइकल मेरो पनि थियो।’ 

कलेजपछि इन्भाइरोन्मेन्ट इन्जिनियरिङ पढ्न उनी अमेरिका गए। साइकल मोह त्यहाँ पनि घटेन। त्यहाँ पनि साइकल चलाएको उनी बताउँछन्। भन्छन्, ‘मैले ड्राइभिङ सिकेँ, गाडी चलाएँ पनि। तर, साइकल चढ्नुको बेग्लै मज्जा थियो। साइकलमै कलेज जान्थेँ। काममा पनि साइकल नै लैजान्थेँ।’ 

उनी सन् १९९३ मा नेपाल फर्किए। नेपाल आएर फेरि नयाँ साइकल किने र चलाउन थाले। साइकलमै उनी काठमाडौँदेखि सिन्धुलीसम्म पुगेका छन्। ‘सुरुमा त सकिँदैन कि भन्ने डर लागेको थियो,’ उनी भन्छन्, ‘तर,, हिम्मत गरेर गएको थिएँ। निकै रमाइलो भयो। भारतीय विज्ञापनमा ‘डरके आगे जीत है’ भनेको सही रहेछ।’ 

साइकल यात्राः ‘फेमिली इभेन्ट’

उनी क्लिन इनर्जी नेपाल, वातावरण तथा जनस्वास्थ्य संस्थाका अध्यक्ष हुन्। यूएन ह्याबिटेटको दक्षिण एसियाका लागि प्राविधिक सल्लाहकार पनि हुन्। अहिले उनको घरमा छ वटा साइकल छन्। १० वर्षअगाीड किनेको इलेक्ट्रिक साइकल पनि छ उनीसँग। तर, अहिले सो साइकल प्रयोगमा नरहेको उनी बताउँछन्। भूषणका छोराछारी पनि साइकल चलाउँछन्। तर, स्कुलसम्म साइकलमा भने जान दिँदैनन्। ‘छोराछोरीले घरमै साइकल चलाउँछन्,’ उनी भन्छन्, ‘स्कुलसम्म लैजान दिन्नँ। किनकि, काठमाडौँको सडक साइकल यात्राका लागि सुरक्षित छैन।’ उनी आफैँ पनि पहिलाजस्तो धेरै साइकल चलाउँदैनन्। ‘अहिलेको रिङरोडमा साइकल चलाउनु खतरनाक छ,’ उनी भन्छन्, ‘बाटो फराकिलो भएकाले गाडी तीव्र गतिमा आउने गर्छन्। साइकल चलाउन रिस्की छ।’ 

साइकल यात्रा उनका लागि फेमिली इभेन्ट हो। ‘हामी वर्षमा एक पटक परिवारै मिलेर रिङरोडको एक फन्को लगाउँछौँ,’ उनी सुनाउँछन्, ‘यसरी फन्को लगाउन थालेको छसात वर्ष हुन थालिसक्यो। यसले हाम्रो परिवारलाई जोड्ने काम गरेको छ।’ त्यस्तै, साइकल यात्रा गर्नाले धेरै साथीसँग भेट पनि भएको उनी बताउँछन्। 

साइकल यात्रीलाई सबैले हेप्ने गरेको अनुभव उनले सँगालेका छन्। कुरा भूषणले स्टाफ कलेजमा पढाउँदाताकाको हो। ‘स्टाफ कलेजमा पढाउन जाँदा बाइक पार्क गर्ने ठाउँमा साइकल राखेको थिएँ,’ उनी सम्झन्छिन्, ‘फर्किंदा साइकल थिएन। सेक्युरिटी गार्डले साइकल रूखमा झुण्डाइदिएका रहेछन्।’ गार्डलाई केही नभनी उनले साइकल निकाले र हिँडे। ‘साइकल चालकलाई सबैले हेप्दा रहेछन्,’ उनी भन्छन्, ‘साइकल चढेको मान्छे आएको देख्यो भने नराम्रोसँग हेप्छन्। एक त पार्किङमा ठाउँ दिँदैनन्। दिइहाले पनि कुनामा लगरे पार्क गर्न लगाउँछन्।’

सचेत हुँदै युवा पुस्ता

बिस्तारै युवा पुस्तामा स्वास्थ्य र वातावरणप्रति सचेतना बढेसँगै साइकल प्रयोग गर्नेको संख्या बढ्न थालेको भूषण बताउँछन्। भन्छन्, ‘बिस्तारै साइकल यात्रीको संख्या बढ्दै छ। वातावरण र स्वास्थ्य दुवैका लागि राम्रो कुरा हो यो।’ सँगसँगै साइकलले खेलका रूपमा गरेको उपलब्धिले पनि उनी धेरै खुशी भएका छन्। ‘नेपालमा विश्वस्तरीय साइक्लिस्ट छन्,’ उनी भन्छन्, ‘यसको प्रमाण अहिले सागमा नेपालले जितेको स्वर्णले पनि देखाउँछ।’ अझै ठाउँ–ठाउँमा साइकल लेनको विकास गर्ने हो भने युवा झनै उत्साहित हुने उनी बताउँछन्। ‘साइकल लेनमा दुई हजार रुपैयाँको साइकल पनि हिँड्छ र ३० हजार रुपैयाँ पर्ने साइकल पनि गुड्छ,’ उनी भन्छन्, ‘त्यसमा उनीहरूको समान अधिकार छ।’ काठमाडौँको अन्नपूर्ण होटलअगाडि बनाएको साइकल पार्किङमा एक पटक भूषणले कबाड जम्मा पार्नेको साइकल पार्किङ गरेको देखेका थिए। ‘त्यो देखेर धेरै खुशी लाग्यो,’ उनी भन्छन्, ‘पाँचतारे होटलको अगाडि कबाडीले साइकल पार्क गर्नु सामान्य कुरा होइन, यसले समानता देखाउँछ। जुन बिस्तारै विकास हुँदै छ।’

बिस्तारै साइकलको प्रयोग बढ्दै जाँदा देशमा साइकल संस्कृतिको विकास हुनेमा भूषण विश्वस्त छन्। काठमाडौँ शहरमा सवारीसाधनको कमी छ। सबैसँग निजी गाडी वा मोटरसाइकल, स्कुटर हुँदैन। यस्तोमा साइकल महŒवपूर्ण साधन हुन सक्ने उनी बताउँछन्। ‘तर, साइकल यात्रालाई सुरक्षित भने बनाउनुपर्छ,’ उनी भन्छन्, ‘यदि कुनै शहरमा एउटा बच्चाले निर्धक्कसँग साइकल चलाउन सक्छ भने त्यो असल शहर हो। काठमाडौँलाई पनि त्यो स्तरसम्म पु¥याउनुपर्छ।’

नेपालको सन्दर्भमा धेरैले साइकल नचढ्नुका केही कारण रहेको उनी बताउँछन्। ‘जसमध्ये पहिलो कारण समाजले साइकल चालकलाई हेर्ने नजर हो,’ उनी भन्छन्, ‘यदि कसैले साइकल चलाइरहेको छ भने उसलाई मान्छेहरूले ‘एउटा बाइक पनि किन्न नसकेर साइकल चढेछ’ भन्ने सोच्छन्। जसले गर्दा साइकल चलाउन कतिपय डराउँछन्। बरु हिँडेरै यात्रा गर्छन्।’ त्यस्तो सोच हटाउन सेलिब्रिटीदेखि नाम चलेको मानिसले साइकल चलाउन थाल्नुपर्ने भूषण बताउँछन्। त्यस्तै, धेरै मानिसले साइकल नचलाउनुको एउटा कारण सुरक्षा रहेको उनी बताउँछन्। ‘एक त लेन छैन,’ उनी सुनाउँछन्, ‘अर्को, ठूला सवारीसाधनले किच्छन् जसरी हिँड्छन्। जसले गर्दा चलाउनै डर लाग्छ।’ त्यसैले साइकललाई सुरक्षित यातायातको साधनका रूपमा स्थापित गर्नुपर्नेमा उनको जोड छ। ‘मान्छेहरू सुविधाको लागि गाडी तथा बाइक खोज्ने गर्छन्,’ उनी भन्छन्, ‘साइकल पनि सजिलो सवारीसाधन हुने हो भने धेरै मानिस यसतर्फ आकर्षित हुनेछन्।’ 

बालबालिकाका लागि साइकल   

साइकल भनेपछि बालबालिका हुरुक्क हुन्छन्। तर, पछिल्लो समय बालबालिका मोबाइल, ट्याबलगायत इक्लेक्ट्रोनिक ग्याजेटमा बढी व्यस्त हुने गर्छन्। यसको मुख्य कारण खेल्ने ठाउँको अभाव हुनु भूषण बताउँछन्। भन्छन्, ‘काठमाडौँजस्तो शहरमा खेल्ने ठाउँ नै छैन। यस्तो अवस्थामा साइकल बच्चाहरूको मन पर्ने सवारीसाधन भए पनि चलाउन सक्दैनन्। यहाँ ठूला मान्छे त सुरक्षित छैनन्, बच्चाहरूको के कुरा भयो ?’ 

बालबालिका साइकल लिएर सडकमा उत्रिँदा शहर नै सुन्दर हुने उनी बताउँछन्। ‘बालबालिकाले सडकमा साइकल चलाउँदा शहर नै रमणीय हुन्छ,’ उनी भन्छन्, ‘शहरबारे थाहा पाउन बालबालिकाले साइकल चलाउनुपर्छ। यसो गर्दा उनीहरूलाई वातावरणसँग घुलमिल हुन पनि मद्दत मिल्छ।’ 

सुमित सुवेदी 

अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2637)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.