‘जागिर खाइदिन्छु भन्नेसँग पनि ट्राफिक रिसाउनु हुँदैन’

‘जागिर खाइदिन्छु भन्नेसँग पनि ट्राफिक रिसाउनु हुँदैन’

आरामै हुनुहुन्छ, सर ?

आरामै छु । 

ट्राफिक प्रहरी भएर सेवा गर्ने थाल्नुभएको कति भयो ?

डेढ वर्ष भयो। 

यसअघि के काम गर्नुहुन्थ्यो ?
सिभिल प्रहरीमा थिएँ। 

त्यहाँ कति वर्ष खटिनुभयो ?
छ वर्ष। 

प्रहरी नै किन बनियो ?
सडकमा उभिएर काम गर्दा धेरै मान्छेसँग चिनजान हुन्छ भनेर ट्राफिक प्रहरी बनेको हुँ। मलाई बच्चैदेखि फोर्समा आउने रहर थियो। ब्रिटिस आर्मीमा पनि परीक्षा दिएको थिएँ। त्यता नभएपछि यता आएँ। अरूलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ, त्यसैले फोर्समा आइयो। 

कति वर्षको उमेरमा जागिर खाइयो ?
२१ वर्षमा। 

जनसेवामा आएको कति भयो ?
एक वर्ष भयो। 

पढाइ सकियो ?
१२ पास गरेको छु। 

त्यसपछि पढिएन ?
स्नातक दोस्रो वर्ष पास गरेको छु। त्यसपछि जागिर गर्न थालियो। पढाइ बीचैमा रोकियो। 

सरको घर कता पर्‍यो ?
रुकुम। 

घर कत्तिको गइन्छ ?
आवतजावत गर्ने गाह्रो छ। वर्षमा एक पटक मात्र जान्छु। 

परिवारमा को–को हुनुहुन्छ ?
आमाबा, दिदी, भाइ। 

फोर्समा आउन परिवारको कत्तिको साथ पाइयो ?
बुबाले ‘देशको सेवा गर्ने काम ठीक छ’ भनेर साथ दिनुभयो। आमाले चाहिँ ‘दुःख हुन्छ, जानुपर्दैन, गाउँमा केही काम गरे हुन्छ’ भन्नुभएको थियो। बुबाको साथ पाएर प्रहरी बनेँ। 

अहिले आमा के भन्नुहुन्छ ?
अहिले त खुशी नै हुनुहुन्छ। 

ट्राफिक प्रहरीको जागिर कस्तो होजस्तो लाग्छ ?
सबैको सेवा गर्ने तर जस नपाउने खालको जागिर हो यो। कोही चालक त कारबाही गर्न खोज्दा ‘तेरो जागिर खाइदिन्छु’ भनेर धम्काउँछन्। 

त्यस्तो अवस्थालाई कसरी ह्यान्डल गर्नुहुन्छ ?
चालकले त्यस्तो भने भनेर हामीले रिसाउनु हुँदैन। गल्ती गरेको मान्छेलाई नरिसाई सम्झाइबुझाइ गर्नुपर्छ। 

राति ड्युटी गर्न कत्तिको गाह्रो हुन्छ ?
पहिले–पहिले त साह्रै गाह्रो लाग्थ्यो। सबै सुत्छन्, आफू सडकमै ड्युटी गरेर बस्नुपर्दा दुःख लाग्थ्यो। अहिले बानी परिसक्यो, त्यस्तो केही लाग्दैन। 

यो एरियामा अव्यवस्थित सवारी पार्किङलाई कसरी व्यवस्थापन गरिन्छ ?
जहाँ पायो, त्यहीँ पार्किङ गर्नेलाई हामीले ह्विल लक लगाउने गरेका छौँ। त्यसपछि महानगरपालिकाको गाडी आएर जथाभावी पार्किङ गरेका सवारीसाधनलाई बग्गीखाना लान्छ। 

सडकमा कस्ता–कस्ता खाले मान्छे भेटिन्छन् ?
सबै किसिमका मान्छे भेटिन्छन्। कोही हामीलाई हेप्न खोज्छन्, कोही ‘राम्रो काम गर्नुभएको छ, सहयोग गरेकोमा धन्यवाद’ भन्छन्। 

आइल्यान्डमा बसेर काम गर्न मज्जा कि सडकमा उभिएर ?
मज्जा त आइल्यान्डमै बसेर हो। तर, आइल्यान्डमा बसेर मात्र हुँदैन। त्यहाँ बसेर इशारा दिँदा कतिपयले भनेको मान्दैनन्। सडकमा आएर काम गर्नुपर्छ। 

ट्राफिक प्रहरी भएर पहिलो पटक सडकमा खटिँदाको अनुभव कस्तो रह्यो ?
पहिलो दिन त निकै गाह्रो भयो। सिटी फुक्दा लाज लाग्यो। काम गर्दा लाज लागेर एक्लै हाँस्थेँ। सडकमा गाडीको चाप उस्तै ! कसरी व्यवस्थापन गर्ने होला भनेर अलमलमा परेँ। 

ट्राफिक प्रहरीलाई के भए काम गर्न सजिलो हुन्थ्यो ? 
ट्राफिक लाइट छैन। बाटोमा जेब्रा क्रसिङ र आकाशेपुल हुने हो भने काम गर्न सहज हुन्थ्यो। 

फुटपाथ पसलेले काममा कत्तिको बाधा पुर्‍याउँछन् ?

धेरै बाधा पुर्‍याएका छन् नि। बाटोभरि सामान छरेर राखेका हुन्छन्, जसको कारण पैदलयात्री मेन सडकबाट हिँड्ने गर्छन्। यसो हुँदा सडकमा जाम पर्छ। 

घुम्न कत्तिको जानुहुन्छ ?

समय पाएपछि घुम्न जाने गर्छु। हिमाली जिल्लादेखि पूर्वको भाग जम्मै घुमेको छु। 

अब घुम्न भनेर कता जाने रहर छ ?
अब विदेश घुम्ने रहर छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.