विदेशी सीप, स्वदेशी लगानी

विदेशी सीप, स्वदेशी लगानी

सुर्खेत : गाउँबाट रोजगारीको खोजीमा दिनहु बिदेसिने युवाको संख्या रोकिएको छैन। स्वदेशमा उचित रोजगारी नपाएपछि अधिकांश युवा रोजगारीको खोजीमा भौतारिँदै बिदेसिन्छन्। यसरी रोजगारीको खोजीमा बिदेसिने युवामध्ये कतिपयले विदेशको दुःख पीडा खप्न नसकेर स्वदेश फर्किएको धेरै उदाहरण छन्। जसमा एक उदाहरण पात्र हुन्। वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका सन्देश रावत।

उनी अहिले विदेशको अनुवभले स्वदेशमा व्यवसाय गरिरहेका छन्। सात वर्षको नेदरल्यान्ड तथा भारत बसाइँको अनुभव बटुल्दै स्वदेश फर्किएका उनले वीरेन्द्रनगरको बांग्यसिमलमा कृषि तथा पशुपक्षीपालन फर्म खोलेर व्यवसाय सुरु गरेका हुन्। अहिले उनको व्यवसायसमेत निकै फस्टाउँदै गएको छ। कर्णाली प्रदेशको मागलाई मध्यनजर गर्दै उनले कृषि तथा पशुपक्षीपालन व्यवसाय गरेपछि गाउँमा नाम र दाम दुवै कमाउन सफल भएका छन्।

‘नेदरल्यान्डमा दैनिक १७÷१८ घण्टा कुकको काम गर्दै तीन वर्ष तित्यो, सोही समयमा आईबीएमएस अध्ययन गरेँ’, उनले भने, ‘पछि भारतमा रेस्टुरेस्ट सञ्चालनसँगै दुई वर्षे एमबीए अध्ययन सकाएँ, अहिले विदेशको अनुभवले स्वदेशमै कर्म गरिरहेको छु।’ यो व्यवसाय सुरु गर्ने विषयमा आफूलाई युटुब भिडियो हेरेर उत्प्रेरणा मिलेको उनले बताए। ‘अहिले आफ्नै भूमिमा पसिना बगाउँदै परिवारसँग रमाएर स्वदेशमै लाखौ रुपैयाँ आम्दानी गर्न सफल भएको छुँ’, उनले थपे, ‘स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने हिक्मत राख्ने हो भने अनेकौ व्यवसाय गर्न सकिन्छ, त्यसका लागि लगानीको मात्रै खाँचो छ।’

सन्देश रावत अहिले कर्णाली प्रदेशकै माग पूर्ति हुनेगरी माछापालनमा लागेका छन्। उनले आफ्नै १५ कठ्ठा जमिनमा व्यावसायिक कृषिखेती सुरु गरेका छन्। बर्सेनि करोडौं रकम माछा र मासु खरिदमा कर्णालीबाट बाहिरिन्छ। त्यसलाई रोक्ने गरी व्यवसाय गरेको उनको भनाइ छ। यहाँको पैसा यहीँ लगानी गर्न र यहाँको उत्पादनशील भूमिमा कर्मशील युवालाई व्यवसाय गर्न प्रेरणा मिलोस् भन्ने ध्येयले गाउँमै कृषि व्यवसाय तथा माछापालन गरिएको उनले बताए।

हाल उनले उत्पादन गरेका स्वच्छ तथा ताजा माछा बजारको माग र ग्राहकको चाहनाअनुसार सुर्खेतभर उपलब्ध हुन्छ। फर्म निर्माणको क्रममै रहेका उनले अहिले १० वटा ट्यांकीमा माछापालन तथा टनेलभित्र तरकारी उत्पादन गरिरहेका छन्। उनले उत्पादन गर्ने माछामा पिया, मागुर, रौहु, नैनी, सिल्भरकार्प, कमनकार्प गरी ६ जातका माछा छन्। त्यस्तै विभिन्न जातका १० हजारभन्दा बढी माछाका भूरा पालिरहेका छन्। तरकारी टनेलमा काउली, सिमी, बोडी, केराउ, भाजीजस्ता सागपात तथा तरकारी उत्पादन गर्नुका साथै नियमित बेच्दै आएका हुन्।

फर्ममा माछाका भूराका लागि ट्यांकीको निर्माण आधुनिक तरिकाले गरिएको छ। खेतमा जमिन खनेर पोखरी बनाएको भन्दा फरक खालको नयाँ तथा आधुनिक तरिकाबाट सानो–सानो ट्यांकी बनाएर माछापालन गरिएको हो। जसको निमार्णका लागि जमिनमुनि नै पाल तथा इन्डोनेसिया सामानको प्रयोग गरिएको छ। माछालाई कुनै ब्याक्टेरिया तथा रोग लाग्न नदिन बायोफलक तरिकाले माछापालन गरिएको छ। हाल फार्म अवलोकन गर्नेको संख्या बढ्दै गएको छ।

सुर्खेतमा माछाको भूरा र दाना नपाइने भएकाले चितवन, बर्दिया र दाङबाट ल्याउनुपर्ने बाध्यता छ। फार्म सञ्चालनका लागि हालसम्म ५० लाख रुपैयाँ खर्च भएको छ। आगामी दिनमा इन्डोनेसियाको सामान र भारतको प्रविधि अनुसार एक करोडको लागतमा फार्मको स्तरोन्नति गर्ने तयारी भएको व्यवसायी तथा फार्म सञ्चालक सन्देश रावतले बताए। उनका अनुसार पाँच सय हाँस, एक हजार लोकल कुखुरा तीन हजार ब्रोइलर कुखुरा तथा बँदेलपालनको तयारी सकिएको छ। फार्ममा हालसम्म करिब दुई क्विन्टल माछा उत्पादन भएका छन्। चार जना युवाले रोजगारी पाएका छन्। यसै वर्षमा थप १० जनालाई रोजगारी दिने लक्ष्य रहेको सञ्चालक रावतले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.