धुलोले सास फेर्नै गाह्रो
काठमाडौं : चाबहिल–कलंकी सडकखण्डमा अत्यधिक धुलो बढेका कारण अत्यासलाग्दो अवस्था सिर्जना भएको छ। जयवागेश्वरीदेखि चाबहिलसम्मको सडकमा कालोपत्रे उप्किएर ग्राभेल सडकजस्तो देखिन्छ। सडकका अधिकांश भागमा ठुल्ठूला खाल्डाखुल्डी छन्। कालोपत्रे उप्किएको सडकमा सवारी कुदाउँदा अत्यधिक धुलो उड्छ। जसकारण दिउँसोसमेत सडक ठम्याउन मुस्किल पर्छ। धुलोले सडकको दायाँबायाँका व्यवसायीलाई पसलमा बस्न सकस छ। पैदलयात्रुको हालत पनि उस्तै छ।
धुलोको समस्याले चाबहिलमा मात्र होइन, कलंकीसम्म सीमा नाघेको छ। चाबहिल–कलंकी अति व्यस्त सडक मानिन्छ। यस सडकखण्डमा सामाखुसी, माछापोखरी, बालाजु, वनस्थली, सानोभर्याङमा पनि अत्यधिक धुलो उड्छ। यस क्षेत्रका सडकको दायाँ–बायाँ भागमा रूख काटेर उजाड बनाइएको छ। चक्रपथ विस्तार क्रममा सडक विभागले करिब २१ सय रूख कटान गरिसकेको छ। रूख कटानले सडकमा अझ धुलो बढाउन मद्दत गरेको छ।
सहरी क्षेत्रका रूख घट्दै जाँदा धुवाँ–धुलो बढेर वायु प्रदूषण हुने वातावरणविद् भूषण तुलाधरले बताए। ‘हाम्रो सहरको वायुमण्डल यसै प्रदूषित छ,’ उनले भने, ‘रूखबिरुवाको संख्या घट्दा धुलोको मात्रा बढेर वायुप्रदूषण हुन्छ।’ सडक किनारमा भएका रूखले २४ प्रतिशतसम्म वायुप्रदूषण रोक्ने उनले बताए।
धुलोका कारण यस क्षेत्रबाट दैनिक आवतजावत गर्ने विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सर्वसाधारणलाई हिँड्न सकस भएको छ। धुलोका कारण यस सडक खण्डमा हिड्न एकदमै मुस्किल भएको सानोभर्याङबाट दैनिक बानेश्वर पढाउन आउने प्राध्यापक शैलेस अधिकारीले बताए। उनले भने, ‘मास्क लगाएर हिँड्दासमेत गाह्रो हुन्छ। धुलोका कारण आँखा पोल्ने, रुघाखोकीको समस्या हुन थालेको छ। यसबारे सरकारको खासै ध्यान गएको छैन।’
धुलोका मसिना कणले नाक र मुखबाट प्रवेश गरी छाती र फोक्सोमा असर गर्ने नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलले बताए। ‘धुलोका कणले मुख्य छाती र फोक्सोमा असर गर्छ,’ उनले भने, ‘यसले रुघा, खोकी, घाँटीको एलर्जी र श्वासप्रश्वासजन्य समस्या निम्त्याउने गर्छ।’
काठमाडौं महानगरले पनि आफ्नो कार्ययोजनामा महानगरलाई नो मास्क सिटी बनाउने योजना बनाएको थियो। तर, त्यसका लागि धुलो नियन्त्रण गर्न भने कुनै काम अगाडि सारेको छैन। महानगरले धुलो नियन्त्रण गर्न ल्याएका बु्रमर पनि यस क्षेत्रमा कुदाउन मिल्ने सडकको अवस्था छैन।