नेपाली समाजको समकालीन चरित्र

नेपाली समाजको समकालीन चरित्र

तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादी मिलेर नेकपा बन्ने समयमा एक राजनीतिक प्रतिवेदन तयार पारिएको थियो। उक्त राजनीतिक प्रतिवेदनमा नेपाललाई दलाल पुँजीपतिको बोलवाला रहेको समाजका रूपमा चित्रण गरिएको छ। प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘नेपाल पुँजीवादको प्रारम्भिक चरणबाट गुज्रिरहेको छ। राष्ट्रिय पुँजीवादी उत्पादक शक्ति कमजोर अवस्थामा छ। उत्पादनशील लगानी र पुनर्उत्पादन पुँजीवादको मुख्य पक्ष बन्न सकेको छैन। विदेशी बस्नु मुलुकमा भित्याएर नाफा कमाउने व्यापारिक पुँजी र विभिन्न ठेक्कापट्टा एवं सेवामा विदेशी कम्पनीको सेवक बनेर पैसा कमाउने दलाल पुँजीपतिको बोलवाला छ।’

मार्क्सवादी दर्शनमा आस्था राख्ने नेकपाले दलाल पुँजीवादी भनेको समाजलाई डोरबहादुर विष्टले नेपाललाई भाग्यवादी भनि व्याख्या गरेका थिए। आधुनिकवादी सिद्धान्तका प्रतिपादक डब्लूडब्लू रोस्टोको दृष्टिकोणबाट प्रेरित कतिपय विद्वान् नेपाललाई ‘टेकअप स्टेज’ चरित्र बोकेको समाज भन्छन्। फरक-फरक राजनीतिक तथा दार्शनिक दृष्टिकोणबाट हेर्दा समाजको चरित्र भिन्न-भिन्न देखिनु स्वाभाविकै हो। यसर्थ यस लेखमा यस्ता राजनीतिक दर्शन वा सामाजिक सिद्धान्तबाट भइरहेका विश्लेषण ठीक हो वा होइन भन्नेतर्फ गएको छैन। बरु यस्ता वाद वा दर्शनभन्दा अलिकता बाहिर गएर नेपाली समाजको चरित्रलाई हेर्ने प्रयास गरिएको छ। समाजमा विद्यमान यस किसिमको चरित्रको खास कारणका बारेमा पनि विश्लेषण गरिएको छैन।

समकालीन नेपाली समाजको चरित्र गज्जबको दोधारे र विरोधाभाषपूर्ण देखिन्छ। हरेक व्यक्ति, परिवार, टोल, समाजदेखि समग्र देश नै यस्तै हो कि होइन या छ कि छैन छुट्ट्याउनै नसकिने चरित्र बोकेर घस्रिरहेका छन्। इमानदारीलाई हेरौं। अरूमा सधैंभरि इमान खोज्ने तर आफैं कहिल्यै पनि इमानको परीक्षामा सामेल हुन नचाहनेको समाजमा वर्चस्व छ। हरेक दिन सार्वजनिक स्थानमा भ्रष्टाचारको विरोध गर्ने, चिन्ता व्यक्त गर्ने तर थोरै अवसर पाउनेबित्तिकै आफैं भ्रष्टाचार गर्न नछाड्नेहरू उल्लेख्य छन्। सुशासनको रटान लगाउने तर आफ्नो व्यवहारमा कदापि नउतार्नेहरूको समाज हो।

भ्रष्टाचारको विरुद्धमा देशभरका सम्पूर्ण स्थानीय तहमा प्रवचन कार्यक्रम गर्दै हिँड्ने तर आफूले अवसर पाएमा भ्रष्टाचारको अभियोग प्रमाणित भइसकेकालाई मतदान गरेर पार्टीका शीर्ष तहमा विजयी गराउने चरित्र बोकेकाको समाज हो। कार्यालयको ढोकामा म भ्रष्टाचार गर्दिन र घुस लिन्न भनेर स्टिकर टाँस्ने तर भित्र घुस नभई सिन्को पनि नभाँच्ने प्रवृत्ति जतासुकै भेटिन्छ। सार्वजनिक मञ्चमा शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु हँुदैन भन्दै चर्को भाषणबाजी गर्ने, लेख लेख्ने तर आफैं निजी विद्यालय वा नर्सिङहोमको मालिक हुने पाखण्डी चरित्र बोकेकाहरूको समाज हो।

सामाजिक व्यवहार हेरांै। ‘जनयुद्ध’ गर्नेक्रममा खर्च नगरी, तडकभडकविनाको क्रान्तिकारी विवाह गर्नुपर्छ भन्दै कार्यकर्तालाई सामूहिक विवाह गराइदिने तर आफ्ना छोरीको पाँचतारे होटेलमा लाखौं खर्च गर्ने दोधारे चरित्र यही समाजमा भेटिन्छ। जनताका छोराछोरीलाई मातृभाषामा शिक्षा दिलाउनुपर्छ भन्दै सडक आन्दोलन गर्ने तर आफ्ना छोराछोरी अंग्रेजी माध्यमका महँगा विदेशी स्कुलमा भर्ना गर्ने यत्रतत्र भेटिन्छन्। दुनियाँका छोराछोरी खाडीमा पसिना बगाएर दुईचार रुपैयाँ कमाउन गएकोमा यसरी कहाँ देश बन्छ भन्दै उपदेश दिने तर आफ्ना छोराछोरीलाई माध्यमिक तहको अध्ययन सक्नेबित्तिकै युरोप, अमेरिका, अस्ट्रेलिया पठाउने यहीं भेटिन्छन्

 समकालीन नेपाली समाज पुराना कुरा छाडेजस्तो गर्ने तर छाड्न नसक्ने अनि नयाँ कुरा अपनाउन खोजेजस्तो गर्ने तर अपनाउन नसक्ने विरोधाभाषी अवस्थामा गुज्रिरहेको छ।

। दुनियाँका छोराछोरीलाई बुर्जुवा शिक्षा किन चाहियो भन्दै विद्यालय छोडाएर आन्दोलनमा लाग्न प्रेरित गर्ने अनि आफ्ना सन्तानलाई विदेशमा राखेर पढाउने स्वार्थी चरित्र यहीं भेटिन्छ। विदेश जानेलाई धारे हात लगाउँदै गाली गर्ने अनि आफूलाई भिसा लाग्यो भने संसारै जितेजस्तो गर्ने आम चरित्र बनेको छ। विदेशमा बस्ने अनि ‘नेपालमा बस्नेले देश बिगारे, म भएको भए त्यस्तो हुन्थेन’ भन्दै सामाजिक सञ्जालमा अर्ती-उपदेश दिनेको संख्या कम्ती छैन।

सार्वजनिक मञ्चमा द्वन्द्वको विरोध गर्ने तर आफैं द्वन्द्व चाहने वा पर्दापछाडिबाट द्वन्द्व प्रवद्र्धन गर्ने, लोकतन्त्रको रटान लगाउने तर आफ्नो दल, आफ्नो संस्था तथा समूहमा लोकतन्त्रको धोती लगाइदिने प्रवृत्ति चुलिएको छ। शिक्षामा चरम राजनीतीकरण भयो भन्दै चियापसलमा घण्टौं बहस गर्ने तर आफैं राजनीतिक दलको झोले बन्ने शिक्षाविद्, प्राध्यापक तथा विद्यार्थी चोकचोकमा भेट्न सकिन्छ। मुखले सधैंभरि निष्पक्ष तथा तटस्थ पत्रकारिताको आवाज उठाउने आफैं दलको भ्रातृसंगठनको सदस्यता लिनेको संख्या प्रतिशतमा हेर्ने हो भने उनान्सय नै होला। दुनियाँमा बोक्साबोक्सी केही हँुदैन यो सामाजिक कुरीति हो भन्दै प्रवचन दिने तर आफैं निरीह र बेसाहारामाथि मलमूत्र कोच्याउनेको संख्या पनि कम्ती छैन। लैंगिक समानताका बारेमा दिनभरि प्रशिक्षण दिने बेलुकी घरमा पुगेर    श्रीमतीमाथि हिंसा गर्नेहरूको संख्या उल्लेख्य छ। यस्ता घटना बेलाबेलामा सार्वजनिक पनि भइरहेकै छन्। अपराध नियन्त्रण र मानव अधिकारको सुनिश्चितता खोज्दै माइतीघर मण्डलामा जुलुस निकालेर मानव अधिकारवादी देखिन चाहने तर कुख्यात अपराधीका तर्फबाट विना हिच्किचाहट वकालत गर्नेहरू चरित्र बोकेकाहरूको समाज हो।

राजनीतिलाई हेरौं। फिनल्याण्डमा ३४ वर्षीया सान्ना मरिनलाई प्रधानमन्त्री भएकोमा खुसी हुँदै बधाई दिँदै नेपालमा यस्तो दिन कहिले आउला भन्ने स्टाटस सामाजिक सञ्जालमा राख्ने तर आफ्ना पार्टी वा गुटका नेताका उमेरबारेमा प्रश्न गर्‍यो भने जाइलाग्ने अरिंगाले प्रवृत्ति बोक्नेहरूको समाज हो। अझ रञ्जु दर्शना काठमाडौंको मेयर पदमा उठ्दा उमेर पुगेको छैन वा डलरबाट परिचालित भन्दै आरोप लगाउँछन््। आफू टोल सुधार समितिकै भए पनि सदाबहार अध्यक्ष हुने, एकपटक पाएको पद कसैगरी पनि नछाड्ने, अरूका हकमा मात्र नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेहरू यत्रतत्र भेटिन्छन्। सबै समस्याको जड राजनीति हो, यसलाई नसुधारी केही परिवर्तन हुँदैन भन्दै दिनरात रटान लगाउने तर निर्वाचनका समयमा आफ्नो पार्टीले जस्तोसुकै क्षमताविहीनलाई उठाए पनि उसैलाई मतदान गर्नेहरूको बाहुल्य भएको समाज हो।

राजनीति आदर्श हो भन्दै भाषण गर्ने तर आफूचाहिँ राजनीतिलाई पेसा बनाएर अकूत सम्पत्ति जोड्ने चरित्र बोकेका नेता बनेका छन्। सत्ताबाहिर बस्दा राष्ट्रवादको अजंगको आवाज घन्काउने तर सत्तामा पुगेपछि देशको भूमि नै मिचिँदा पनि चुँक्क नबोल्नेले राजनीति हाँकिरहेका छन्। आफू सत्तामा हुँदा अभिव्यक्ति र व्यक्तिगत स्वतन्त्रता खोस्ने तर सत्ताबाहिर पुग्नेबित्तिकै त्यही मुद्दामा सडक संघर्ष सुरु गर्ने आम राजनीतिक प्रवृत्ति बन्न पुगेको छ।

हरेक कुरामा अमूर्त सैद्धान्तिक सवाललाई दोष दिँदै आफू पानीमाथिको ओभानो बन्न चाहने पाखण्डी चरित्र नेपाली समाजको अर्को खास विशेषता हो। उदाहरणका लागि हरेक समस्या जस्तै- सडक समयमा बनेन, कृषकले समयमा अनुदान वा मल, बीउविजन पाएनन्, बलात्कारका घटना बढ्दै गए भने दलाल पुँजीवादलाई देखाउने आम प्रवृत्ति बनेको छ। भ्रष्टाचारले चुचुरो छुन लागिसक्दा दलाल पुँजीवादलाई दोष लगाइरहेका छन्। दिनदिनैका डरलाग्दा सडक दुर्घटना, हत्या, हिंसा, गरिबी, भ्रष्टाचार, अन्याय र अत्याचार आदि हरेक सामाजिक विकृति र विसंगतिलाई दलाल पुँजीवादी वा अर्धसामन्तवादी वा परम्परावादी वा अन्य यस्तै वादलाई दोष दिएर नागरिकलाई झुलाउने तर आफू त्यही दलालीको चास्नीमा डुब्दै जाने पाखण्डी चरित्र बोकेकाको समाज हो।

पुँजीवादी उत्पादन प्रणालीको सधैंभरि विरोध गर्ने, तर त्यही देशमा आफ्ना छोराछोरी पढ्न गयो वा ग्रयाजुएसन भयो भने हर्षबढाइँ गर्नेहरूको संख्या गनी नसक्नु छ। अर्थात् पुँजीवादको सधैंभरि विरोध गर्ने तर आफू दलाल पुँजीपति बन्न चाहने विरोधाभाषी चरित्र भएका व्यक्तिको बसोवास भएको समाज हो। आफूमा भएको बेइमानी संस्कार, आचरण, अनैतिकता, अल्छीपना, दोधारे चरित्र, आडम्बरीपन नछाड्ने तर हरेक समस्याको पछाडि त्यही दलाल पुँजीवादको हात छ भन्दै चर्को भाषण गर्नेहरूको संख्या ठूलो छ। अझ रोचक कुरा, तीमध्ये कतिपय त त्यही दलाल पुँजीवादी भनिएका देशको दूतावासबाट परियोजना ल्याएर सडकमा नारा घन्काउँछन्।

ऋणधन गरेर सानो उद्योग, व्यापार-व्यवसाय गरी उद्यमशील बन्न चाहने वा बनिरहेकाहरूलाई नाफाखोर, ठग, दलाल पुँजीपति देख्ने र त्यही दलाल पुँजीपति देशबाट पाएको आर्थिक अनुदानबाट सडकमा उग्रताको नारा घन्काउँदै हिँड्नेलाई नागरिक समाज र समाजसेवी देख्ने पाखण्डी चरित्रको प्रधानता रहेको समाज हो। आफ्नो नीतिमा कहिल्यै प्रस्ट नभएका नीतिनिर्माता यहाँ छन्। उदाहरणका लागि राष्ट्रिय पुँजी निर्माण गरी बूढीगण्डकी परियोजना सम्पन्न गर्ने भन्दै पेट्रोलियम पदार्थमा थप पैसा उठाउँछन्। अर्बौं रुपैयाँ उठिसकेपछि सुटुक्क चोरबाटोबाट विदेशी कम्पनीलाई परियोजना जिम्मा लगाइदिन्छन्। तर सडकमा भाषण गर्दा, दलको चुनावी घोषणापत्र तयार गर्दा वा पत्रिकामा लेख लेख्दा राष्ट्रिय पुँजी निर्माण गरिनेछ भन्न छाड्दैनन्। यस्तै मुकुण्डोधारी चरित्र बोकेको समाज हो।

समग्रमा भन्नुपर्दा समकालीन नेपाली समाज पुराना कुरा छाडेजस्तो गर्ने तर छाड्न नसक्ने अनि नयाँ कुरा अपनाउन खोजेजस्तो गर्ने तर अपनाउन नसक्ने विरोधाभाषी अवस्थामा गुज्रिरहेको छ। नेता मात्र होइन जनता पनि, कर्मचारी मात्र होइन व्यापारी पनि हरेक व्यक्ति दोधारे चरित्र र विरोधाभाषमा बाँचिरहेका छन्। कृषक, उपभोक्ता, शिक्षक, पत्रकार, कृषक, आमनागरिक, नेता, कर्मचारी, प्राध्यापक डाक्टर, वकिल, पेसाकर्मीसहित समग्र समाज नै यही विरोधाभाषबाट गुज्रिरहेका देखिन्छन्। यो डोरबहादुर विष्टले भनेजस्तो भाग्यवादी वा मार्क्सवादीले भन्नेजस्तो दलाल पुँजीवादी चरित्र बोेकेको मात्र होइन। बरु समकालीन नेपाली समाज दोधारे र विरोधाभाषी चरित्रसहितको समाज हो।

[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.