पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्राथमिकता पर्यटन

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्राथमिकता पर्यटन

सिन्धुपाल्चोकको विकट क्षेत्र मानिने पाँचपोखरी थाङ्पाल गाउँपालिका जडीबुटीको भण्डारका रूपमा परिचित छ। जिल्लाकै प्रसिद्ध तीर्थस्थल पाँचपोखरी, दोर्जे ल्हाक्पा हिमाललगायत पर्यटकीय क्षेत्र यसै गाउँपालिकामा पर्छ। भौगोलिक रूपमा विकट भए पनि पर्यटकीय सम्भावना बोकेको यस गाउँपालिकाको समृद्धिका लागि भएको पहल र चुनौतीका विषयमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामासँग अन्नपूर्णकर्मी युवराज पुरीले गरेको कुराकानी :

तपाईं अध्यक्ष निर्वाचित भएपछि पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएका मुख्य उपलब्धि के हुन् ?

गाउँपालिकाका ९० प्रतिशत सडक चौडा बनाएर स्तरोन्नति गरेका छौं। गाउँपालिकाभित्रका सबै काठको पोल विस्थापन गरेर स्टिलको पोलबाट विद्युत् प्रवाह भएको छ। सबैजसो घरमा विद्युतीकरण सम्पन्न भइसकेको छ। गाउँपालिकाको नाममा ४२ रोपनी जग्गा लिएर भवन निर्माण अभियानमा छौं। एडभेन्चर म्याराथन ट्रेल निर्माण गरेर पर्यटकीय क्षेत्रको पहिचान स्थापित गराउन सफल भएका छौं। दुई वटा पक्की पुल निर्माण गरिएको छ। ५ वटा झोलुंगे पुल बनाइएको छ। परिवेश विश्लेषण गरेर रणनीतिक योजना बनाएका छौं। प्राथमिकताका आधारमा बजेट निर्माण र योजना सञ्चालन प्रक्रिया अगाडि बढाएका छौं। हामी समृद्ध पाँचपोखरी थाङ्पाल गाउँपालिका बनाउने अभियानमा छौं।

पाँचपोखरी समृद्धिको आधार के हुन सक्छ ?

पाँचपोखरी क्षेत्रको समृद्धिको प्रमुख आधार भनेको पर्यटन हो। यसपछि कृषिको भूमिका महत्त्वपूर्ण रहन्छ। अन्य पालिकामा जस्तो आन्तरिक स्रोत यहाँ छैन। यहाँको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास नै पहिलो प्राथमिकता हो। अर्गानिक खेतीमार्फत कृषि क्षेत्रलाई व्यावसायिक बनाउन आवश्यक छ। जडीबुटी पनि यस क्षेत्रको आम्दानीको राम्रो स्रोत बन्न सक्छ।

पाँचपोखरी समृद्धिको मुख्य आधार पर्यटन हो भने यसका लागि कस्ता कार्यक्रम सञ्चालन गर्नुभएको छ ?

पर्यटन प्रवर्द्धनको रणनीतिक योजना बनाएर अगाडि बढेका छौं। एडभेन्चर म्याराथन प्रतियोगिता सुरु गरेर पाँचपोखरीलाई संसारभर चिनाउने प्रयास भएको छ। पाँचपोखरी केवलकारको अवधारणा ल्याएका छौं। केही कानुनी जटिलताले यो काम अगाडि बढ्न सकेको छैन। पर्यटन मार्ग निर्माणलाई प्राथमिकतामा राखेका छौं। सडक स्तरोन्नतिका पहल भएका छन्। पेमाशाल अध्ययन केन्द्र र हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण चरणमा छौं। हाम्रो मुख्य उद्देश्य भनेको पाँचपोखरी क्षेत्रलाई पर्यटन हबका रूपमा विकास गर्ने हो। यसैलाई आधार मानेर कार्यक्रम ल्याएका छौं।

विकास प्रवर्द्धनका लागि आन्तरिक आयको अवस्था कस्तो छ ?

आन्तरिक आयको हिसाबले हाम्रो गाउँपालिका अत्यन्तै पछाडि परेको छ। यहाँ उद्योग तथा नदीजन्य उत्पादनको अवस्था छैन। भौगोलिक रूपमा पनि विकट छ। हामीले पहिलो वर्ष १२ लाख आन्तरिक स्रोत संकलन गरेका थियौं। दोस्रो वर्ष ५२ लाख पुर्‍यायौं। चालु वर्षमा ४५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेका थियौं। त्यो पनि पुग्न कठिन छ। आन्तरिक स्रोत कम भएकै कारण हामीलाई विकास निर्माणमा थप समस्या भएको छ।

पर्यटन क्षेत्रको विकास नै आन्तरिक स्रोत बढाउने माध्यम बन्न सक्छ भनेर हामीले योजना बनाएका छौं। मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो र तेस्रो याङ्ग्री र लार्के यस क्षेत्रमा पर्ने भएकाले आयोजना सञ्चालनमा आएपछि आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौं।

विकास निर्माणका सिलसिलामा तपाईंले कत्तिको चुनौती सामना गर्नुपर्‍यो ?

कर प्रणालीलाई व्यवस्थित बनाउँदै एकीकृत सम्पत्ति कर कार्यान्वयनमा ल्याउनुपर्ने छ। त्यसलाई सुरु गर्न सकिएको छैन। दक्ष कर्मचारी अभाव हँुदा जुन रफ्तारमा काम हुनुपर्ने हो त्यो हुन सकेको छैन। ब्युरोक्रेसी सरकारको हात हो, यसले प्रभावकारी काम नगर्दा विकास निर्माणले गति लिन सकेको छैन। कानुनी समस्या छ। संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभाव छ।

सिंहदरबार र हेटौंडा धाउनुपर्ने अवस्थाले झन् जटिलता थपेको छ। ब्युरोक्र्याट्सले सरकार असफल बनाउने प्रयास भएको छ। अझै परम्परागत सोच अन्त्य नहुँदा स्थानीय तहलाई निकाय नै बनाउने खतरा बढेको छ। सर्वसाधारणको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा भएका अधिकार पनि कटौती गर्ने प्रयास भएका छन्। काम गर्ने क्रममा कानुनी अत्तो थापेर हैरान बनाउने माथिल्ला सरकारका प्रवृत्ति स्थानीय सरकारको चुनौतीको रूपमा रहेको छ।

चुनावका बेला गरिएको प्रतिबद्धता कति पूरा गर्नुभयो ?

चुनावमा मत माग्ने बेला मतदातासँग बोलेका कुरा ८० प्रतिशतभन्दा बढी पूरा भएका छन्। आर्थिक स्रोत र जनशक्ति अभावले केही काम गर्न बाँकी छ। हामीले धेरै ठूलो कुरा बोलेका थिएनौं। जति बोल्यौं प्रायः पूरा भइसके, बाँकी पनि छिट्टै पूरा हुनेछन्।

तपाईंको बाँकी कार्यकालमा गाउँपालिकाको विकासका लागि कस्तो योजना अगाडि सार्नुभएको छ ?

सडक चौडा भएको छ, अब यसमा नाली बनाउन थाल्छौं। सके कालोपत्रे नभए पनि स्तरोन्नतिको काम अगाडि बढाउँछाँै। कृषिलाई व्यावसायिक बनाउँदै अर्गानिक खेती गर्न किसानलाई प्रोत्साहित गर्छौं। जमिन बाँझो नराख्ने रणनीति ल्याएका छौँ। जुन ठाउँमा जस्तो उत्पादन हुन्छ त्यसलाई प्रवर्द्धन गर्दै जानेछौं। कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने कार्यक्रम अगाडि बढाउनेछौं। पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार बनाउँदै जाने योजना छ।

पाँचपोखरी केवलकारको अवधारणालाई सार्थक बनाइनेछ। सुविधासम्पन्न हस्पिटल निर्माण गर्ने र बाँकी ठाउँमा पक्की पुल बनाउने अठोट लिएका छौं। शैक्षिक क्षेत्रमा गुणस्तर कायम गर्ने तथा सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन आवश्यक कदम चाल्नेछौं। आन्तरिक स्रोत वृद्धि गर्न आवश्यक काम अगाडि बढाउनेछौं। स्रोत संकलन र सही ढंगले यसको परिचालनको नीति ल्याउनेछौं। जडीबुटीलाई आम्दानीको स्रोत बनाउन आवश्यक नीति तर्जुमा गर्नेछौँ। समग्रमा गाउँपालिकाको विकासका लागि आवश्यक योजना सञ्चालन गर्नेछौं।

निर्वाचित भएर आएको यो अवधिमा गर्नै पर्ने तर गर्न नसकेको भन्ने केही छ ?

पाँचपोखरी केबलकारको अवधारणालाई कानुन अभावले समस्या बनाएको छ। मुख्य सडकलाई कालोपत्रे गराउनुपर्ने थियो तर त्यो हुन सकिरहेको छैन। स्थानीय तहले अधिकार नपाउँदा अझै पनि वास्तविक भूकम्पपीडित लाभग्राही सूचीमा परेका छैनन्। स्वास्थ्य संस्थाका पक्की भवन बनाउन सकिएको छैन। अस्थायी रूपमै सञ्चालन गर्नुपरेको अवस्था छ।

आफ्नो पाँच वर्षीय कार्यकाल सक्दै गर्दा गाउँपालिका कस्तो बन्नेछ भन्ने अपेक्षा गर्नुभएको छ ?

प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक हुनेछन्। गुणस्तरीय शिक्षाबाट बालबालिका वञ्चित हुनुपर्ने छैन। विद्यालय उमेरका एक जना पनि बालबालिका विद्यालयबाहिर हुने छैनन्। मोडल स्कुलको अवधारणा कार्यान्वयनमा आउनेछ। मातृभाषामा शिक्षा प्रदान गरिनेछ। गाउँमै सुविधासम्पन्न अस्पताल निर्माण हुनेछ। जसले गर्दा स्वास्थ्यको पहुँचबाट आमनागरिक विमुख हुनुपर्ने छैन।

उपचार नपाएर सुत्केरी हुन नसकेर ज्यान गुमाउनुपर्ने अवस्था रहने छैन। कृषिमा व्यवसायीकरण हुनेछ। प्रत्येक वडामा कृषि प्राविधिक र व्यावसायिक अर्गानिक खेती सुरु गरिनेछ। पर्यटन व्यवसायबाट स्थानीयले आम्दानी गर्न थाल्नेछन्। स्थानीय उद्योग सञ्चालन हुनेछन्। युवालाई खेल क्षेत्रमा आकर्षित गरिनेछ। पर्यटन व्यवसायले यस गाउँपालिकालाई समृद्ध बनाउन टेवा पुर्‍याउनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.