विपन्नलाई नमुना बस्ती
प्यूठान : दलित समुदायको बाहुल्यता रहेको नौवहिनी गाउँपालिका–५ डामृको गावैमा एकिकृत नमुना बस्ती निर्माण गरिएको छ। राता जस्तापाताले रंगिएका घर गाउँपालिकाले दलित समुदायलाई हस्तान्तरण गर्दैछ।
जग्गाविहीन भएका, थोरै जग्गा भएर घर बनाउन नसकेको, विपन्न, गरिब र असहाय व्यक्तिलाई प्राथमिकतामा राखेर घर हस्तान्तरण गर्न थालिएको छ। रेडिमेट घर पाउने भएपछि दलित समुदायका नागरिक हौसिएका छन्। ‘१३ जनाको परिवार एउटै घरमा बस्दै आएका छौँ’, स्थानीय दिपक परियारले भने, ‘गाउँपालिकाले घर दिने कुराले खुसी बनाएको छ।’
सुकुम्वासी र पहिरोको जोखिममा परेकासहित यस वडामा ७४ वटा घर निर्माण गर्नुपर्ने देखिएको गाउँपालिका अध्यक्ष शिव रिजालले बताएका छन्। पहिलो चरणमा २२ वटा घर निर्माणको काम थालनी गरिएको छ। यसमध्ये १६ वटा घर निर्माण पूरा भइसकेको छन्। उनका अनुसार अन्य ६ वटा घर तत्कालै निर्माणको तयारीमा छन्। ‘उपभोक्ता समितिमार्फत घर निर्माण थालेका हौं,’ रिजालले भने, ‘७४ वटै घरपरिवारलाई नयाँ घर बनाइदिनुपर्ने छ। हाम्रो कार्यकालभित्र सबैलाई नयाँ घर दिलाउँछौं।’
उनका अनुसार पहिलो चरणमा चिट्ठाको आधारमा घर हस्तान्तरण गरिनेछ। १ देखि २२ नम्बरमा पहिलो चरणमा र त्यसपछिका चिट्ठावाललाई प्रत्येक वर्ष घर निर्माण गरि हस्तान्तरण गरिने गाउँपालिकाले जनाएको छ। घर पाउने मध्येमा एक जना कुमाल समुदायबाहेक सबै दलित छन्। स्थानीय, जनप्रतिनिधि, नागरीक समाज र लाभांवित समुदायको राय सुझावका आधारमा निर्माण गरिएका घर हस्तान्तरण गरिने गाउँपालिकाको योजना छ।
आर्थिक अभावमा घर बनाउन नसकेका दर्जनौं परिवार नमुना बस्ती कार्यक्रममार्फत लाभांवीत हुने भएका छन्। गरिबसँग विश्वेश्वर कार्यक्रममार्फत संघीय सरकारले पठाएको ५० लाख रुपैयाँ, ३० लाख बराबरको स्थानीय जन श्रमदान र बाँकी रकम गाउँपालिकाले लगानी गर्नेगरि कुल एक करोड रुपैयाँमा एकीकृत बस्ती निर्माणको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष रिजालले बताए।
दुईकोठे घरसहित नमुना बस्तीमा खानेपानी, शौचालय र विद्युत्कोसमेत व्यवस्था गाउँपालिकाले गर्ने भएको छ। एक घर बराबर अनुमानित पाँच लाख रुपैयाँ लगानी गरिएको छ। ८ रोपनी क्षेत्रफल जग्गामा बस्ती निर्माण गरिएको छ।
डामृसहित वडा नम्बर २ स्थित लिघामा पनि नमुना बस्ती कार्यक्रम सञ्चालन गरिने आगामी योजना रहेको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए। उनका अनुसार गाउँपालिकाले पहिलो अभ्यासको रूपमा डामृमा नमुना बस्ती निर्माण गरेको हो। घर निर्माण गरी सम्बन्धीत समुदायलाई लालपुर्जा पनि प्रदान गर्ने योजना गाउँपालिकाको छ।