कला पारखी
बालबालिकाले सही शिक्षा र बातावरण पाए सानैदेखि सिर्जनशील हुन सक्छन् भन्ने उदाहरण हुन्, विदेहा रन्जन । प्रतिभाकी खानी विदेहाको एउटा मात्र परिचय छैन । उनी एक डान्सर (बी. बोइङ), चित्रकार, लेखक हुन् । साथै जति सिपालु पौडी र बक्सिङ खेल्नमा छिन् त्यति नै सिपालु पियानो र बाँसुरी बजाउनमा छिन्, उनी । फोटोग्राफी त उनलाई सिकाउनै पर्दैन । अनेक कलाले भरिएकी एक विशिष्ट प्रतिभा हुन्, विदेहा ।
अभ्यास गर्न समयको कमी
विदेहा २०७० सालमा ललितपुरमा जन्मिएकी हुन् । उनी ललितपुरको कुमारीपाटीस्थित स्पाइनी ब्याब्लर इभोलुसन स्कुलमा कक्षा १ मा पढ्छिन् । उनको उमेर हेर्दा ‘क, ख....’ सिक्ने बेला हो यो । तर, अचम्म ! यो उमेरमै पुस्तक लेख्न, पढ्न, चित्र कोर्न भ्याइनभ्याइ छ उनलाई । त्यति मात्र कहाँ हो र फुर्सद हुने वित्तिकै आफूले जानेको कुरा आफूभन्दा सानालाई सिकाइरहेकी हुन्छिन् उनी । ६ वर्षिया विदेहा निकै लजालु स्वभावकी छिन् । उनी निकै कम बोल्छिन् । तर आफ्नो कलामार्फत मनभित्रका सबै अभिब्यक्ति पोख्ने गर्छिन् ।
कतिबेला के गर्ने भन्ने समयतालिका बनाउँदा पनि दिनभरिको समय अपुग हुने देखिन्छ, उनको काम र अभ्यासको लागि । उनी बिहानदेखि बेलुकासम्म अभ्यास मै व्यस्त हुन्छिन् । बिहानै उठ्छिन्, एक घण्टा बाँसुरी बजाउँछिन् । त्यसपछि पियानो बजाउँछिन् । चित्र कोर्छिन् र पढ्छिन् । केही लेख्छिन् र खाना खान्छिन् । स्कुल जान्छिन् । स्कुलपछि नृत्य गर्छिन् । दिन वितेको पत्तै हुँदैन । अझै अभ्यास गर्न बाँकी नै छ, कति चाँडो दिन बित्यो होला जस्तो महसुस हुन्छ उनलाई ।
चित्रकार विदेहा
विदेहा बाँसुरी बजाउन निकै सिपालु छिन् । उनी जन्मेको ३ महिना हुँदादेखि नै बाँसुरीको धुन सुन्दै हुर्किइन् । बालमष्तिष्कमा त्यही धुनले पक्कै छोएको हुनुपर्छ र उनमा त्यो कला भरिएको हुनुपर्छ । धनबहादुर गुरूङले बाँसुरीको प्रशिक्षण उनलाई दिइरहेका छन् । ‘ऊ ३ महिनाको हुँदादेखि नै बाँसुरीको धुन सुन्दै हुर्कीइन् ।’ विदेहालाई सानैदेखि केही सिकाउन नपरेको र उनको प्रतिभा समयसँगै प्रस्फुटन हुँदै गएको उनका बाबु पल्लभ रन्जनले बताए । उनी भन्छन्, ‘हामीले उनलाई केही सिकाएका छैनौ । अलिअलि बस्न सक्ने भएपछि उनी बाँसुरी समातेर फुक्न थालिन् । त्यसपछि उनलाई बासुरी बजाउने इच्छा छ भन्ने बुझेपछि बाँसुरी सिक्न पठायौं । अहिले उनी एकदमै राम्रोसँग बजाउँछिन् ।’ उनले विभिन्न कार्यक्रमामा एकल प्रस्तुति पनि दिइसकेकी छिन् ।
विदेहा नौ महिनाको भएपछि उनले बाँसुरीसँगै विभिन्न रंगका साइनपेन समातेर चित्र केर्न थालिन् । विस्तारै विस्तारै एकपछि अर्को गर्दै ती चित्रहरू राम्रा र केही अर्थ दिने खालका आकृति बन्न थाले । करिब तीन वर्षसम्म मिहिनेत गरी कोरिएको राम्रा चित्र संकलन गरी सन् २०१६ मा नेपाल कला परिषद्मा विदेहाले ‘अर्लि क्रियसन’ नाम चित्रकला प्रदर्शन गरिएको थियो । यसले उनलाई एक चित्रकारको रूपमा स्थापित गर्यो ।
पहिलोपटक आफूले एकल चित्रकला प्रदर्शन गरेपछि निकै खुशी लागेको बताउँछिन् विदेहा । उनले लजाउँदै भनिन्, ‘चित्र प्रदर्शन गर्दा धेरै खुशी लाग्यो । त्यसपछि मैले धेरै चित्र बनाएँ । मलाई अझै बनाउने इच्छा जाग्यो ।’ उनी थप्छिन्, ‘लेख्न, पढ्न र सिकाउनमा बाबाले मलाई धेरै हेल्प गर्नुहुन्छ । ममीले पनि केयर गर्नुहुन्छ ।’ पछि ठुलो भएर अझै राम्रो गर्ने लक्ष्य उनको छ । केही समयपछि उनले तिनै चित्रहरूलाई समेटेर ‘अर्लि क्रियसन’ नाम दिएर पुस्तकको आकार दिइन् ।
सन् २०१७ मार्चमा उनले पाटन संग्रहालयमा ‘जिनियस २०१७’ नामक संयुक्त चित्रकला प्रदर्शन पनि गरेकी छिन् । यसरी कला प्रस्तुति दिँदै नेपालका सात जिल्ला पनि घुमिसकेकी छिन् ।
पढाईसँगै कला
कक्षा १ मा पढेपनि उनी विभिन्न अतिरिक्त क्रियाकलापमा निकै चासो राख्छिन् । यसले उनलाई पढाइमा झन मदत पुर्याएको छ । उनलाई कोर्षको पुस्तकभन्दा अरू पुस्तक पढ्न मन लाग्छ । उनी भन्छिन्, ‘मैले मेरो स्कुलको किताब पनि पढ्छु अनि अरू आर्टसम्बन्धी बुक पनि बाबाले दिएपछि पढ्छु । मैले आर्ट गरेपछि आउट बुक पढ्न मन लाग्छ ।’ यसको लागि उनले विहान बेलुका दिउँसो जतिबेला जसरी हुन्छ एकपटक समय निकाल्ने गरेकी छिन् ।
साथीलाई सन्देश
उनीसँगै पढ्ने साथीहरू पनि उनको प्रशंसा गर्छन् । उनलाई त्यो प्रशंसा खासै मन पर्दैन । उनी भन्छिन्, ‘साथीहरूले मेरो चित्र देखेर मलाई माया गर्छन् । मैले पनि उनीहरूलाई आफूले जानेको कुरा सिकाइदिन्छु ।’ उनी खाली समयमा एकछिन खेल्छिन् । अनि फेरि पढ्न बसिहाल्छिन् । उनी भन्छिन्, ‘मैले साथीहरूलाई पनि पढनुपर्छ भनेर भन्छु । म पनि साथीहरूसँगै बसेर पढ्छु । रमाइलो लाग्छ ।’