रोगले मासियो सुन्तला
बेसीशहर : बेसीशहर नगरपलिका–१ उदिपुरका किसानको बगैंचामा दशकअघि चारसय रोपनीमा सुन्तलाका बोट थिए। त्यतिबेला गाउँलेले डेढ करोड रुपैयाँसम्म आम्दानी गर्थे। स्थानीय अगुवा किसान तिलकराज पन्त भन्छन्, ‘अहिले बगैंचामा सबै सुन्तलाका बोटहरु रोगाएर मासिए। भएका बोटमा सुन्तला फल्नै छाडे।’ पन्तकाअनुसार यति ठुलो बगैचामा अहिले डेढसय सुन्तलाका बोट पनि छैनन्।
९ वर्षअघि उनकै बगैचामा सातसय सुन्तलाका बोट थिए। अहिले एकसय पनि छैनन्। ‘हिजोका दिन सम्झँदा अहिले अचम्म लाग्छ। कहिले काँही सपना जस्तै लाग्छ’, पन्तले भने, ‘हिजो तेत्रो सुन्तला फलेको बगैचामा अहिले छैन। रोगाएर सुन्तलाका बोट सुके सुन्तला फलेनन्।’
बेसीसहर नगरपालिका ११ चिति स्याउतका अगुवा कृषक रमेशराज पन्तका अनुसार ८ वर्ष अघिसम्म स्याउत कोलडाँडाका किसानले १ सय १० हेक्टरमा सुन्तला खेती गरेका थिए। कोलडाँडामा ५० र स्याउतका १ सयजना व्यावसायिक सुन्तला खेतीमा लागेका थिए। अहिले बोट रोगाएरै क्षेत्रफल र उत्पादन घट्दै गएको उनले बताए।
विगतमा वार्षिक ३ लाख रूपैयाँसम्म आम्दानी गरेका बेसीशहर–११ चिती स्याउतका राजमूर्ति पन्तको बगैंचामा पछिल्ला वर्षमा आफुलाई खान पनि नपुग्ने सुन्तला फल्छन्। ७ रोपनी खेतमा सुन्तला खेती गर्दै आएका उनको बगैंचामा सुन्तलाका बोटहरु मरेर सखाप भइसकेका छन्। स्याउत गाउँकै कृष्णबहादुर पन्त, बच्चुराज पाण्डे, दिनेशराज पाण्डे, रामबाबु पन्त लगायतका किसानका सुन्तला बगैंचाको अवस्था पनि उस्तै छ।
‘विगतमा सुन्तलाबाटै वार्षिक ४ लाखसम्म आम्दानी गर्थेँ’, चितिका रमेशराज पन्तले भने, ‘अहिले वार्षिक ५० हजार पनि हुँदैन।’ उनको बगैँचामा हाल मुस्किलले ३० वटा बोटले आम्दानी दिएका छन्। वितेका १२ वर्षको विचमा सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगाहरु सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्याबाट कृषकहरुले सास्ती भोग्दै आएको अगुवा सुन्तला कृषक रमेशराज पन्तले बताए।
साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचिकृत गरेको साविक चितिको स्याउत, तार्कुको गहते, भोर्लेटारको लामासोती, करापुटारको बेतिनी, उदीपुरको धिमिरे, गाउँशहर, भोटेओडार लगायतका क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा मासिँदै गएको गाउँशहरका अगुवा कृषक जीवनजङ्ग थापाले बताए।
पतेरो, कत्लेकिरा लगायतका किराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ्ग भाइरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिंचाइको व्यवस्था, विरुवा छनौट जस्ता काममा कृषकले ध्यान नदिने भएकाले सुन्तला बगैंचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्र लमजुङका प्राविधिकहरु बताउँछन्। लमजुङमा हाल ५ सय ३० हेक्टरमा सुन्तला खेती हुँदै आएको छ। गत आर्थिक वर्ष ४ हजार ४० मेक्ट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ।