सीता फेरि पतञ्जली योगपिठ जाने
नयाँ दिल्ली : आयुर्वेदिक उपचारका लागि हरिद्वारस्थित पतञ्जली योगपिठ ल्याइएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल आइतबार काठमाडौं फर्किएकी छिन् । पतञ्जली योगपिठका अध्यक्ष तथा कार्यकारी प्रमुख बालकृष्ण आचार्यका अनुसार दाहाललाई केहि समयका लागि औषधि दिएर पठाइएको हो।तर, उनी लामो उपचारका लागि फेरि आउने आचार्यले बताए।
योगपद्दतिबाट गरिने आयुर्वेदिक उपचारका लागि लामो समय लाग्छ । तर दाहालको उपचार दुई दिनमा नै सकिएको हो भन्ने अन्नपूर्णको जिज्ञासामा आचार्यले भने, 'उहाँ मलाई भेट्न आउनुभएको हो । सुरुदेखि नै उहाँले मलाई आफ्नो छोराजस्तै माया गर्नुहुन्छ। उहाँले मसँग भेट्ने इच्छा बताएपछि परिवारका सदस्यले यहाँ लिएर आउनु भएको हो।'
तत्कालका लागि केही औषधि दिएर पठाएको र लामो उपचारका लागि सीता फेरि हरिद्वार आउने उनले बताए। केही समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित सीताको स्मरण शक्ति पनि क्रमिक रुपमा गुम्दै गएको छ।
सीतालाई प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी 'पीएसपी' भएको चिकित्सकले बताउँदै आएका छन् । यो समस्या भएका व्यक्तिको मानसिक असन्तुलनका साथै हिँड्न,बोल्न र निल्न समस्या हुने गर्छ । दुई वर्षअघि निधन भएका छोरा प्रकाश दाहालको शोकपछि उनी यो रोगबाट ग्रसित भएकी हुन्।
दाहालकी छोरी गंगा दाहालले गत शुक्रबार फेसबुकमा आमाको उपचारका लागि पतञ्जली पुगेको जानकारी दिँदै सामाजिक सञ्जालबाट तस्बिर सार्वजानिक गरेकी थिइन्।दाहाललाई योगगुरु बाबा रामदेवसँग पनि भेट गराइएको थियो । दाहाल परिवारसँग पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्य मात्रिका यादव पनि पतञ्जली पुगेका थिए ।
दाहाललाई सामान्य अवस्थामा फर्काउन दाहाल परिवारले निकै प्रयत्न गर्दै आएको छ ।यसअघि उपचारका क्रममा सीतालाई नयाँ दिल्ली, सिंगापुर, अमेरिकालगायत विभिन्न देशमा पुर्याएको थियो।पछिल्लो समय दाहाल परिवारले धार्मिक,आध्यात्मिक लगायतका मान्यतालाई पनि पछयाउँदै आएको छ । यसै क्रममा गत वर्ष सीताले तातोपानी कुण्डमा डुबुल्की मार्दै गरेको तस्बिर पनि सार्वजनिक भएको थियो।