हजुरबा र नातिनी

हजुरबा र नातिनी

मनसु अहिले एक कक्षामा पढ्छे। उसको नाम मनस्विता हो। छोटकरीमा सबैले उसलाई मनसु भन्छन्। मनसुको भान्सामा एकदिन उसको आमाले सिकार तरकारी पकाउनु भयो। मनसुले टुक्राटुक्री त्यति मन पराएर खाइनन्। तर रस मिसाएको दालभात उसले मीठो मानेर खाई। मनसु अचम्मकी छे। मीठो भयो भने अलिकति खाइदिन्छे नत्र उसलाई भात खुवाउन सजिलो हुँदैन।

बुबु माम त मन लगाएर खाँदै खान्न। बरु घिउ, चिनी, माम पाए खाइदिन्छे। एक दिन बेलुकी सबै घरपरिवार भान्साकोठामै बसेका थिए। मनसुले हजुरबालाई सोधी, ‘बा बा दूधलाई किन बुबु भनेको ? ’ हजुरबाले जवाफ दिँदै भन्नुभयो, ‘नानी त ६ वर्षकी हुन लागी। दूध भनेको नानीले बुझ्न सक्छे। तर सानो भाइ भर्खर दुई वर्ष पुगेकै छैन। उसले आमाको बुबु नै खाइरहेछ। साना नानी बाबुले जन्मेदेखि आमाको बुबु खाने गरेको हुनाले साना केटाकेटी बच्चा बच्चीले बुबु भन्नासाथ खुसीले खान्छन्। दूधलाई बुबु भनेको बालकलाई चिनाउने बाल बोली मात्र हो। बालकलाई भातभन्दा त्यति नसुहाउने हुनाले बालबोलीमा माम भन्ने गरेको हो।’ मनसुले हजुरबाको कुरा सुनिरही।

मनसुले आफ्ना आँखामा उत्साह झल्काउँदै उज्यालो हँसिलो मुहारले सोधी, ‘अनि दूध कहाँ फल्छ त बा ? आमाको दूध त भाइले खाइरहेछ, यो पोकाको दूध कहाँबाट आउँछ ? ’ हजुरबा अथ्र्याउँदै भन्न थाल्नुहुन्छ, ‘गाई, भैंसी, बाख्राले दूध दिन्छ। हामीले खाने त्यही गाई, भैसी र बाख्राको दूध चाहिँ दुग्ध विकास संस्थानले पोका बनाई तयार गरेको हो। हामीजस्ता धेरै मानिसले त्यही दूध किनेर खान्छौं।’

मनसुको घर नजिकै गाई पाल्ने मानिस पनि बस्छन्। उसले सानैदेखि गाई बाच्छा देख्न हेर्न पाएकी छे। उसले हजुरबासँग सोधी, ‘बा... बा... हाम्रो घर नजिक गाई पाल्ने बाको पनि गाई छ हगी ? ’ हजुरबाले हाँसेर सही थाप्नुभयो, ‘हो नानुले पनि त गाई हेर्न जान मन पराउँछे हैन ? ’ उसले फेरि सोधी, ‘त्यो गाईले पनि दूध दिन्छ त ? ’ हजुरबाले भन्नुभयो, ‘ती बाले गाई पालेर दूध बेच्छन्। हामीले त्यही दूध किने पनि हुन्छ। तर दूधमा शुद्धता बढी पाइन्छ भनेर पोका दूध किन्ने गरेको हो।’

मनसुले गाईको बारेमा अझै धेरै बुझ्न चाहे पछि हजुरबाले उनलाई यसरी विस्तृत जानकारी दिन थाले, ‘गाई धेरै प्रकारका हुन्छन्। हावापानीअनुसार बाँच्न सक्ने प्राणीहरूमा चिसो हिमाली भेगमा पाइने गाईलाई चौरी गाई भन्छन्। त्यसको रौं लामो हुन्छ। देवताको पूजा गर्दा चमर पंखा हम्किँदा चौरी गाईको पुच्छर नै चमर बनाइन्छ। त्यो क्षेत्रमा बस्ने एकथरी मानिसले चौरी गाईको रगत विभिन्न किसिमका रोग निको हुने भनेर गाई जिउँदै रहँदा नै झिकेर खाने गर्छन्। एक किसिमको जात्रा पर्व नै उनीहरूले यसरी मनाउँछन्। चौरी गाईको दूधबाट दही, घिउ, पनिर, चीज, बटर, दुर्खा पनि बन्छ। त्यो चौरी गाईले मोटर नचल्ने ठाउँमा सामान बोक्ने काम पनि गर्छन्।

अर्को एकथरी गाई नील गाई पनि हुन्छ। आजभोलि धेरै मानिसले पाल्ने जर्सी गाई हो। त्यसले दूध धेरै दिन्छ। सबै गाईले घाँस, पराल, पिठो, पानी, नुन, नलुवा र ढुटो खान्छन्। तर जर्सी गाई र अर्को मुडुली गाईलाई (जसको सिङ नै हुँदैन) खानाहरूसँग दाना पनि दिनुपर्छ। दाना नदिए दूध धेरै दिँदैनन्।

अर्को एकथरी चोक्रे गाई हुन्छ। ती गाई साना प्रकारका हुन्छन्। घाँस पराल पनि थोरै खान्छन्। दूध पनि आधा मानादेखि एक मानासम्म दिन्छन्। ती गाईको दूध बढी मीठो र पौष्टिक तत्व बढी पाइने हुन्छ। गाई कैला, काला, सेता, छिर्बिरे, ध्वाँसे जुन प्रकारका पनि हुन्छन्।

तराई जस्तो गर्मीमा हुर्किएका गाई जाडो ठाउँमा बाँच्न सक्दैनन्। जाडो ठाउँमा हुर्किएको गाई गर्मी ठाउँमा बाँच्न सक्दैनन्। हाम्रो देश हिमाल, पहाड र तराई क्षेत्रमा भिन्नाभिन्नै हावा पानी भएकोले ठाउँपिच्छेका बस्तुभाउ भिन्नै भिन्नै प्रकारका हुन्छन्।’ हजुरबाले यति बिघ्न भनेको मनसुले सुनिरही। फेरि उसले सोधी, ‘गाई त हाम्रो घरनजिक चौरमा पनि आउँछ हगी बा ? ’

हजुरबाले फेरि भने, ‘जर्सी गाईलाई बाँधेरै पाले पनि हुन्छ। अरू घरपालुवा सबै गाईलाई काटेको घाँसभन्दा आफैं खोजेर खाएको घाँसले पोष लाग्छ। गाईहरू चर्ने ठाउँलाई चरन अर्थात् चौर भन्छन्। गाईले घाँस खोजेर चरेको छ भने गाई मोटो बलियो पनि हुन्छ, गाई खुसी पनि हुन्छ। तर जर्सी दुधालु गाईलाई बाँधेरै पाल्ने र खाना दिने गरिन्छ। बाहिरी वातावरणमा ती गाई त्यति घुलमिल हुन सक्दैनन्।’

‘अस्तिमात्र तिहारमा गाई पूजा गरेको हैन ? ’, मनसुले सम्झी। त्यसैबेला हजुरबाले नातिनीलाई भन्नुभयो, ‘सुन नानी गाईलाई हामी हिन्दु धर्म मान्नेले आमा भनेर पूजा गर्छौं। हाम्रो देशको राष्ट्रिय जनावर पनि गाई नै हो। हामीले गाईको दूध खान्छौं। देवता र पितृलाई पनि चढाउँछौं। दूधबाट दही र दहीबाट घिउ पनि बन्छ। मही मथेर आएको नौनी पगालेपछि घिउ बन्छ। गाई आमा सरह मानेर गाईको मलमूत्र पनि हामी चोखो बन्नुपर्दा प्रयोग गर्छौं। बोटबिरुवामा पनि गाईको मल हाल्छौं।’

हजुरबाका सबै कुरा मनसुले चासो लिएर सुनी र भनी, ‘गाई त हाम्रो सहयोगी प्राणी पो रहेछ हगी ? ’ नातिनीको जिज्ञासा मेटाउँदै हजुरबाले फेरि भने, ‘कृषकले कृषि गर्न जान्यो भने गाई, भैसी, राँगा, गोरु, भेडाबाख्रा, खरायो कुखुरा सबै पशुपन्छीबाट काम लिन सक्छन्।’

यति गफ गरिसक्दा नसक्दा मनसु हाईहाई गर्न लागी। उसलाई निद्रा लागेछ क्यारे भन्दै हजुरबाले सुत्न जाउ भन्दै फकाउनुभयो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.