प्युठानका सुत्केरीले पाएनन् भत्ता
प्युठान : संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले आमा सुरक्षा कार्यक्रम संचालन गरेको छ । घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैलाई जोखिम हुने भएकाले सरकारले संस्थागत सुत्केरी प्रोत्साहनको कार्यक्रम ल्याएको हो ।
स्वास्थ्य संस्था पुगेर कम्तीमा चारपटक नियमित गर्भजाँच र सुत्केरी भएपछि नगद 2 हजार 8 सय रुपैयाँ सुत्केरी महिलाले पाउने व्यवस्था छ । गर्भजाँच गराएको 800 र यातायात खर्च वापत 2 हजार गरी उक्त रकम महिलाले पाउँछन् । तर, प्यूठान अस्पताल विजुवारमा गत भदौ १४ गतेदेखि उक्त सेवा ठप्प छ।
भदौदेखि हालसम्म ५ सय ७५ जना महिलाहरुले नियमित गर्भजाँच र अस्पतालमै पुगेर सुत्केरी भइसके पनि प्रोत्साहनको रकम र न्यानो कपडा पाएका छैनन् । गर्भवती महिलालाई सेवा नपाउँदा उत्साहित बनाउनुको साटो निरुत्साहित गराएको गुनासो छ ।
भदौ महिनामा अस्पताल पुगेर सुत्केरी भएकी मल्लरानी गाउँपालिका ३ सानीपोखरीकी प्रेमा अधिकारीले अहिलेसम्म पैसा नभएको गुनासो गरिन् । 'सिस्टरले अहिले पैंसा छैन्, पछि फोन गरेर बोलाउछौँ भन्नुभएको थियो, २७ वर्षीय अधिकारीले भनिन्, 'अहिलेसम्म फोन आएको छैन् ।' उनले अस्पताल पुगेर पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन्।
जिल्ला अस्पतालमा छिमेकी जिल्ला रोल्पाको अरेस, गुल्मीको मदाने गाउँपालिका क्षेत्र र अर्घाखाँचीको मालारानी गाउँपालिका भेगका महिलाहरु समेत सुत्केरी हुन आउँछन् ।
यसै साता अस्पतालमा सुत्केरी भएकी प्यूठान नगरपालिका ८ बाग्दुलाकी सिता थापाले पनि रकम नपाएको बताइन् । उनका श्रीमान डिल बहादुर दसौदीले प्रोत्साहनको रकम पाउनु धेरै टाढाको कुरा भएको कुरा आश्चर्य मान्दै भने, 'सरकारी अस्पतालमा त सवै सामान र औषधि नीजि मेडिकलबाट किनेर ल्याउनुपर्दो रहेछ, पैसा पाउनु त कता हो कता।'
उनले सुत्केरी हुनेबेला प्रयोग गरिने सेनेटरी प्याड, पंजा, क्याडगड, कट, क्लायम, सिटिङज लगाएतका सामग्री किनेर ल्याउनु परेको गुनासो पोखे । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नहुँदा सुत्केरीलाई प्रोत्साहन वापतको रकम दिन नसकिएको अस्पतालका रेडियोग्राफी टेक्नोलोजिस्ट खिमप्रसाद पार्धेले जानकारी गराए । उनले बजेट अख्तियारी भएर आएको भएपनि खाता संचालन हुन नसक्दा सेवा प्रवाहमा समस्या आएको बताए ।
सुत्केरी भएका महिलाको अस्पतालले रेकर्ड राखेको छ । खाता संचालन भएपछि सबै महिलालाई अस्पतालमा बोलाएर रकम वितरण गरिने अस्पतालका व्यवस्थापक राजन घिमिरेले जानकारी गराए ।
दुई दिनअघिमात्रै मेडिकल सुपरिटेन्डेन्टको रुपमा डाक्टर अमृत पन्थी आइसकेको अस्पतालले जनाएको छ । खाता संचालन नभएकै कारण अस्पतालबाट वितरण हुने निःशुल्क बीमाको औषधि समेत ठप्प छ । अस्पतालमै बोलाएर रकम वितरण गर्दा महिलालाई दोहोरो झन्झट हुने देखिएको छ।