परालै सिरक, परालै डसना !

परालै सिरक, परालै डसना !

जनकपुरधाम  : झुपडीभित्र पराल बिछ्याइएको छ। रातभरको ओसले पराल पनि ओसिलो छ। त्यसमाथि च्यातचुत परेको एउटा प्लास्टिकको बोरा ओछ्याएर जेनतेन शीतलहरमा रात काट्छिन रेमनी सदा।

धनुषा लक्ष्मीनिया गाउँपालिका-७ मुसहरी टोल निवासी रेमनीका पति तीन वर्षअगाडि बितेका थिए। छोराबुहारी र नातिनातिनाले घर छाडेर गएपछि रेमनीलाई अहिले खानबास्नकै समस्या छ। उनलाई यतिबेला शीतलहरले हैरान पारेको छ।

लक्ष्मीनियाको मुसहरी टोलमा परालको ओछ्याउनामा सुतेकी रेमनी सदा।तस्बिर : मनिका झा

आफ्नो खेत पनि छैन उनको। अर्काको खेतबाट माँगेर ल्याएको पराललाई जाडोमा ओढ्ने–ओेछ्याउने बनाएर जाडो छल्ने प्रयास गर्छिन् उनी। पाँच वर्षअघि केही सहयोगीले बस्तीमा ओढ्ने पात्लो कम्बल बाँडेका थिए। सोही कम्बलको सहारामा छिन् उनी।

मुसहरी टोलका करिब ८० परिवार अति विपन्न मुसहर चिसो परालकै भरमा रात कट्दै आएका छन्। श्रीवतीदेवी सदा चार छोराछोरीसँगै झुपडीमा परालकै ओछ्यानमा शीतलहर काट्दै छिन्। छोराछोरीका लागि केही न्यानो लुगा जोहो गर्न पाए जाडो काट्न सजिलो हुने बताउँछिन् उनी।

स्थानीय शत्रुधन महतो सरकारले विपन्न समुदायको सहयोगमा चासो नलिएको बताउँछन्। ‘कठ्यांग्रिदो चिसोमा कम्तीमा मुसहर बस्तीमा दाउरा र कम्बल वितरण गर्न सरकारले चासो देखाउनुपर्छ,’ महतोले भने। अभियान पनि सहर केन्द्रित नै रहेको हुँदा गाउँटोल र विपन्न परिवारलाई कसैले नहेरेको स्थानीयको गुनासो छ।

अभियान सहर केन्द्रित

जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले शीत लहर पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना सार्वजनिक गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले भने, ‘हुनेले नहुनेलाई कम्तीमा एउटा न्यानो कपडा दिएर सहयोग गरौं भन्ने अभियान आफंैबाट सुरु गरौं।’

विपन्नलाई न्यानो लुगा वितरण गर्ने कार्ययोजना पनि समितिले ल्याएको छ। यसका लागि स्थानीय तह वा प्रहरीको रोहबरमा तथ्यांक संकलन गरिनेछ। संघसंस्था अन्य निकाय, व्यक्ति समुदायले बाँड्ने न्यानो लुगा र दाउरा वितरण लगायतका अभियान सहर केन्द्रित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.