क्रिसमसमा प्रहरी र प्रदर्शनकारीबीच झडप
काठमाडौं : क्रिसमसको पूर्व सन्ध्यामा हङकङमा प्रहरी र प्रजातन्त्रवादी प्रदर्शनकारीबीच झडप भएको छ। स्यान्टा क्लजको टोपी र मृगको जस्तो सिङ लगाएका मानिसले विभिन्न बजार तथा पर्यटकीय क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेका थिए । प्रहरीले भने पेपर स्प्रे, लठ्ठी तथा अश्रुग्यास प्रयोग गरेको थियो।
प्रदर्शनकारीले क्रिसमसका अवसरमा विरोध प्रदर्शन गर्ने आह्वान गरेका थिए । क्रिसमसको पूर्व सन्ध्यामा चिम शा चई र मङ्ककका सडकमा हजारौं मानिस भेला भएका थिए। प्रदर्शनकारीले सडकबाट इँटा निकाली बाटो छेक्न थुप्रो तयार गरिएको थियो । प्रहरीका अनुसार तोडफोडपछि एक बैँकमा आगो लगाइएको थियो ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार मध्यरातमा प्रदर्शनकारीले हिंसात्मक गतिविधि केही समय रोकेर क्रिसमसको शुभकामना आदनप्रदान गरेका थिए । तर केही समय पछि झडप सुरु भएको थियो ।
हङकङमा ६ महिना अगाडिदेखि सरकारविरुद्ध आन्दोलन भइरहेको छ । गत जुनमा सरकारले सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयक ल्याएपछि विरोध सुरु भएको थियो । अहिले प्रहरीको अत्याचार र प्रजातान्त्रिक सुधारको मागसहित आन्दोलनको रुप लिएको हो।
सरकारले हङकङका नागरिकलाई मुख्यभूमि चीन सुपुर्दगी गर्न सकिने प्रावधान भएको नयाँ कानुन ल्याउन खोजेपछि हङकङ गत जुन महिनादेखि आन्दोलित छ । सरकारको एक प्रवक्ताले प्रदर्शनीकारीले क्रिसमसको रमाइलो र सामाजिक व्यवस्था बिगारेको आरोप लगाएका छन्।