नेपाल आइडल सिजन–३ : प्रस्तुतिका स्वाद अनेक

नेपाल आइडल सिजन–३ : प्रस्तुतिका स्वाद अनेक

संगीतको बृहत् रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो संस्करणको अडिसनपछि प्रसारण सुरु भएको छ। गत बुधबारबाट एपी वान टेलिभिजनमा आइडलको अडिसन राउन्ड प्रसारण भइरहेको छ। तीन वर्षअगाडि सुरु भएको आइडल अन्तर्राष्ट्रिय रियालिटी सोको नेपाली संस्करण हो। आइडलका दुई संस्करण सफलतापूर्वक सम्पन्न भए। यस संस्करणको काठमाडौँ र बुटवल अडिसनमा गत बुधबार र बिहीबार गरी दुई वटा एपिसोड प्रसारण भइसकेका छन्। 

आइडलको काठमाडौँ अडिसन काठमाडौँ, बानेश्वरस्थित एपीएस स्कुलमा भएको थियो भने बुटवल अडिसन बुटवलस्थित लुम्बिनी बोर्डिङ स्कुलमा भएको थियो। अडिसनमा भएका रमाइला घटनासँगै प्रतिस्पर्धीका प्रस्तुति, प्रस्तुतिलाई लिएर जजहरूले दिएका प्रतिक्रियाले दुवै एपिसोडलाई ‘धमाकेदार’ बनाएका थिए।

अडिसनको पहिलो एपिसोडमा नेपाल आइडलका होस्ट आसिफ शाहले आफू प्रतिस्पर्धीजस्तै गरेर रमाइलो गरेका थिए। जजहरू न्ह्यू वज्राचार्य, इन्द्रिरा जोशी र कालिप्रसाद बास्कोटाले पनि आसिफसँग रमाइलो गरेका थिए। साथै, त्यहाँ आइडलका अघिल्ला संस्करणकी होस्ट रीमा विश्वकर्मालाई पनि सम्बोधन गरिएको थियो। त्यहाँ उपस्थित जज र आसिफले आफूहरूले रीमालाई सम्झिरहेको बताएका थिए। उनीहरूले भनेका थिए– ‘वी मिस यू रीमा।’ सोकी नयाँ होस्ट माम्पी घोषलाई आइडलमा परिचय गराइएको थियो। ‘पवनकली’ नामले प्रसिद्ध छिन्, माम्पी। 

गायकीसँगै रमाइलो आइडल 

आइडलमा अडिसन दिन पुगेका पहिलो प्रतिस्पर्धी थिए, पृथ्वीन्द्र खनाल ‘पृथ्वी’। निर्णायक न्ह्यू वज्राचार्यले उनलाई भजन गाउन लगाएपछि उनले ‘हनुमान चालिसा’ गाएर सुनाएका थिए। उनको भजन सुनेपछि कालिप्रसाद बास्काटाले भने, ‘एकदम रमाइलो लाग्यो।’ त्यसपछि उनले ‘दिनको उज्यालोमा लुकाइराख्छु’ बोलको गीत गाएका थिए। पृथ्वीले गीत गाइसकेपछि जज न्ह्यूले ‘अडिसनको लागि ठीक छ। अझै मेहनत आवश्यक छ’ भनेका थिए। आफूले मेहनत गर्ने बताएपछि पृथ्वीलाई जजहरूले अर्को चरणका लागि स्वागत गरेका थिए।

एकताका सामाजिक सञ्जालमा गायकीका लागि चर्चित जलजला परियार पनि आइडलको अडिसनमा पुगेकी थिइन्। सो प्रसंग जजहरूले कोट्याएपछि उनले भनेकी थिइन्, ‘मेरो दुवै किड्नी फेल भएको थियो। मामुले किड्नी दिएपछि ट्रान्सप्लान्ट गरियो।’ उनको कुरा सुनेर जज इन्दिराले भनेकी थिइन्– ‘आमाले दोस्रो जन्म पनि दिनुभयो, है।’ जलजलाले ‘आगोको राप जीवन’ बोलको गीत गाएकी थिइन्। प्रस्तुतिपछि जजहरूले उनीसँगै आएकी आमालाई पनि अडिसनको सेटमा बोलाएका थिए, जहाँ जज कालिप्रसादले छोरीलाई पुनर्जन्म दिएको भन्दै उनको प्रशंसा गरेका थिए। जलजलाको बाल्यकाल, अस्पतालमा हुँदाका तस्बिर अडिसनमा देखाइएका थिए।

उनीपछिका केही प्रतिस्पर्धीलाई जजहरूले ‘रिजेक्ट’ गरेका थिए। त्यसपछि, प्रतिस्पर्धी विनोद तामाङले शास्त्रीय राग प्रस्तुत गरेका थिए। जसको तीनै जना जजले प्रशंसा गरेका थिए। चण्डीप्रसाद काफ्लेसँग संगीत सिकेका विनोदलाई जज न्ह्यूले गुरुकै कुनै सिर्जना गाउन लगाएपछि उनले काफ्लेको संगीत तथा राज सिग्देलको आवाजमा रहेको ‘ऊ जितेर गई’ बोलको गीत प्रस्तुत गरेका थिए। कालिप्रसादले उनलाई शास्त्रीयभन्दा फरक जान्रको गीत गाउन लगाएपछि उनले ‘तिमी नै हौ’ बोलको गीत गाएका थिए। जजहरूले उनको प्रस्तुति निकै मन पराएका थिए। त्यसैले उनलाई अर्को राउन्डका लागि बोलाए।

पेशाले इन्जिनियर रहेका काठमाडौँ, नक्सालका असीम थापा बाल्यकालदेखि नै संगीतमा रुचि राख्थे। काठमाडौँका विभिन्न रेस्टुरेन्टमा गाउने उनले नेपाल आइडलको अडिसनमा ‘हजार सपनाहरूको माया लागेर आउँछ’ बोलको गीत गाएका थिए। निर्णायक कालिप्रसादले उनको गीतमा प्रतिक्रिया दिँदै भने, ‘जुन प्रकारले यो गीतलाई सुन्दै आएको थिएँ, त्योभन्दा फरक पाएँ। तर, टाइमिङ मिलेन कतै–कतै।’ जजहरूले उनलाई अर्को गीत पनि गाउन लगाएपछि उनले ‘तिमी अनि मेरो’ बोलको गीत गाएका थिए। उनको प्रस्तुति हेरेपछि कालिप्रसादले ‘एस’ भनेका थिए भने इन्दिराले ‘नो’ भनेकी थिइन्। न्ह्यूले एक पटक फेरि उनलाई सुरुदेखि गाएको गीत गाउन लगाएका थिए। त्यसपछि न्ह्यूको स्वीकृति पाएका थिए र अर्को राउन्डका लागि छनोट भएका थिए। 

अडिसनमा इन्दिराको फ्यान

वेटिङमा बसिरहेका सरोज कार्कीले आइडलकी होस्ट माम्पीसँग कुरा गर्दा आफू इन्दिरा जोशीको ठूलो फ्यान भएको बताएका थिए। आफूलाई ‘रकेट’ नामले चिनाउने उनले आइडलको सेटमा र्‍याप गीत प्रस्तुत गरेका थिए। उनको र्‍याप भने जज इन्दिरालाई समर्पित थियो। उनको प्रस्तुति हेरेपछि इन्दिराले भनेकी थिइन्, ‘कस्तो राम्रो। मलाई त एकदम राम्रो लाग्यो।’ सरोजले पनि आइडलको सेटमा आउन पाउँदा आफूलाई खुशी लागेको बताएका थिए। उनले भनेका थिए, ‘तपाईंहरूलाई टेलिभिजनमा मात्रै देखेको थिएँ। यहाँ देख्न पाउँदा निकै खुशी लागेको छ।’

दुई एपिसोडमा दुई गोल्डेन माइक

असीमपछि केही प्रतिस्पर्धीको प्रस्तुति फितलो भएका कारण उनीहरूको यात्रा अडिसन राउन्डमै टुंगिएको थियो। त्यसपछि प्रस्तुति दिएकी थिइन्, मेघा श्रेष्ठले। बाल्यकालबाटै संगीतमा रुचि राख्ने उनले स्कुलबाटै गायनमा हात हालेकी थिइन्। टेलिभिजनमा आइडलको प्रोमो देखेपछि अडिसनमा आएको उनले बताइन्। अडिसनमा उनले ‘हेर्दाहेर्दै दोबाटोमा’ बोलको गीत गाइन्। पहिलो प्रस्तुतिपछि उनलाई दोस्रो गीत गाउन जजहरूले भनेका थिए। दोस्रो प्रस्तुतिमा उनले ‘मन किन रुन्छ मन’ बोलको गीत गाइन्। उनको गायकीको तीनै जना जजले दिल खोलेर प्रशंसा गरेका थिए। न्ह्यूले भनेका थिए, ‘आइडलमा के हुन्छ, त्यो त म भन्न सक्दिनँ। तर, नेपालीले एउटा राम्रो गायक पाएका छन्।’ नेपाल आइडलको तेस्रो संस्करणमा मेघा गोल्डेन माइक पाउने पहिलो प्रतिस्पर्धी हुन्। 

प्रहरी पनि आइडलमा

सुनसरीका रत्नदीप चौधरी सुरक्षा क्षेत्रमा काम गर्छन्। बाल्यकालबाटै संगीत क्षेत्रमा रुचि राख्ने उनले सशस्त्र प्रहरीमा प्राविधिक गायकका रूपमा काम गर्दै आएका छन्। उनले भने, ‘हाम्रो संगठनमा पनि सांस्कृतिक तथा वाद्यवादन गुल्म छ। त्यहीँ कार्यरत छु।’ संगठनकै सहयोगले नेपाल आइडलमा आएको उनले बताएका थिए। ‘सरहरू र साथीभाइको सहयोगले यहाँ आएको हुँ,’ उनले भनेका थिए, ‘आइडलमा जित्छु भन्ने आशा गरेको छु।’ अडिसनमा उनले ‘सपना भुलाई सारा, आँशु पिएर जाऊ’ बोलको गीत गाएका थिए। उनको गायकीलाई तीनै जना जजले मन पराएका थिए। उनलाई अघिल्लो चरणका लागि छनोट गरेका थिए। 

ग्ल्यामर मोमेन्ट अफ द डे

मोरङकी सज्जा चौलागाईं काठमाडौँ, नारायणटारमा बस्छिन्। काठमाडौँका विभिन्न क्लब र लाउन्जमा उनले चार वर्षयता गीत गाउँदै आएकी छिन्। साथीहरूसँग मिलेर उनले ‘द लोडिङ’ ब्यान्डको स्थापना गरेकी छिन्। आइडलको अडिसनमा आफू छनोट हुने विश्वास गरेको उनले बताइन्। अडिसनमा उनले ‘तिमी नै हौ’ बोलको गीत गाइन्। तीनै जना जजले उनको गायकी मन पराए। अडिसनमा उनी छनोट भइन् र ‘ग्ल्यामर मोमेन्ट अफ द डे’ पनि भइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.