स्थानीयको त्यो फोन : जसले फैलियो विमान दुर्घटनाको हल्ला
हेटौंडा : धुँवाको मुस्लो देखेपछि मकवानपुरमा विमान दुर्घटनाको हल्लाले बुधबार दिनभर ध्यान खिच्यो। मकवानपुरगढी गाउँपालिकाको सुकौरा र बकैया गाउँपालिकाको ठिंगनको सीमानामा रहेको बतासेडाँडामा धुवाँको मुस्लो देखेपछि विमान दुर्घटना भएको आशंकामा स्थानीयले प्रहरी तथा सञ्चारकर्मीलाई खबर गरेपछि हल्ला फैलिएको थियो।
हवाईमार्गको लागि जोखिमयुक्त मानिने बतासेडाँडामा बुधबार बिहान करिब साढे १० बजेतिर धुवाँको मुस्लो देखिएको थियो। गाउँदेखि टाढा जंगलमा धुवाँको मुस्लो देखिएपछि स्थानीय गोकुल दाहालले विमान दुर्घटना भएको अनुमान गरी पत्रकार र प्रहरीलाई खबर गरे।
उनीहरुले आफू त्यसतर्फ गएको भनी फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा जानकारी गराउँदै पोष्ट पनि गरे। त्यही पोष्टलाई आधार मानी विभिन्न अनलाइन मिडियाले समाचार सार्वजनिक गरे। दुर्घटना भएको भनिएको स्थानतर्फ प्रहरी टोली जाँदै गर्दा ‘मकवानपुरमा कुनै पनि हवाई दुर्घटना नभएको’ भन्दै त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दियो। खबर दिनु अघिनै प्रहरी हवल्दार कमलदेवप्रसाद यादवको नेतृत्वमा प्रहरी टोलि त्यहाँ पुगिसकेको थियो। जिल्लाका प्रहरी प्रमुख मुकेशकुमार सिंहको नेतृत्वमा त्यसतर्फ अघि बढेको थियो, तर यादवको टोलीले जंगलमा आगलागी भएको जानकारी दिएपछि बाटोबाट नै फर्किएको थियो।
जाडो मौसम भएकोले कसैले आगो बालेको र त्यसैबाट आगलागी भएको हुनसक्ने, सिंहले बताए। मानव बस्तीबाट टाढा रहेको जंगलबाट ठूलो धुवाँको मुस्लो देखिएकाले दुर्घटनाको आशंका गरिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईले बताए।