विद्युतीय होम अप्लायन्सको प्रयोग बढ्दै
काठमाडौं : अहिले जाडो छल्न मानिसहरू अनेक बहाना खोजिरहेका छन्। सहर बजारमा जाडो छल्ने घरायसी सामान खरिद गर्न ग्राहकको भीड लाग्न सुरु भएको छ। यस्तोमा विभिन्न ब्रान्डका कम्पनीका जोडो केन्द्रित विद्युतीय घरायसी सामग्री बिक्री गर्ने प्रतिस्पर्धा देखिन्छ।
जाडोमा खासगरी हिटर, वाटर हिटर, कफी मेकर, एयर प्युरिफायर, गिजर, ह्युमिडिफायरजस्ता न्यानो बनाउने सामानको बिक्री ह्वात्तै बढ्ने गर्छ। केही विक्रेताले आकर्षक छुटको योजनासहित प्रडक्टको बिक्री बढाइरहेका छन्।
वर्षैपिच्छे जाडोयाममा प्रयोग हुने सामानको बिक्री बढ्ने गरेको विक्रेता बताउँछन्। गत वर्षको तुलनामा यसपालिको बिक्री २५ प्रतिशतले बढ्ने अनुमान गरेको चौधरी ग्रुपका सीजी इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर मनमोहन झा बताउँछन्। उनी भन्छन्, ‘हाम्रो प्रत्येक वर्षको सेल्स ग्रोथ २० देखि २५ प्रतिशतसम्म छ। यसपालि पनि जाडोमा २५ प्रतिशतसम्म बढ्ने अनुमान गरेका छौं।’
वर्षभरीको कुल व्यापारको तुलनामा जाडोयामको सेल्स ४० प्रतिशत हुने गरेको उनले जानकारी दिए। उनका अनुसार जाडोमा उच्च बिक्री हुने तीनवटा सामानमा हिटर, इलेक्ट्रिक केटल र गिजर छन्। उनले भने, ‘सस्तो र सुलभताको हिसाबले यी तीनवटा वस्तुको माग बढी देखिन्छ। त्यति मात्रै नभइ यी सामान त अपरिहार्य वस्तु सरह मानिने गर्छ।’
जाडो छल्ने सामानको बिक्रीमा सबैभन्दा बढी विद्युतीय ऊर्जाबाट चल्ने वस्तुकै बर्चस्व रहेको व्यवसायी बताउँछन्। पहिले पहिले ग्यासबाट चल्ने सामानको प्रयोग बढी हुनेगथ्र्याे। जाडोमा फायर क्याम्पकै लागि भनेर घुम्न जाने चलन पनि थियो। अहिले इलेक्ट्रिक हिटर सजिलो र भरपर्दाे विकल्पका रूपमा प्रयोग भइरहेको भक्तपुरको दुवाकोटस्थित सम्झना किचनका सञ्चालक राजु भट्टराईले बताए।
२०७२ मा भारतीय नाकाबन्दीपछि एलपी ग्यासको अभाव भयो। मानिसहरू विकल्पको रूपमा विद्युतीय माध्यमबाट चल्ने सामानको प्रयोग बढ्न थाल्यो। त्यसबेलादेखि इन्डक्सन चुलोको माग ह्वात्तै बढ्न थालेको व्यवसायी बताउँछन्।
वातावरणमैत्री हुने भएकाले यसको उपयोग बढी हुने गरेको छ। इलेक्ट्रिक गिजर, राइस कुकर, हिटर, इलेक्ट्रिक जगलगायतको माग उच्च छ। उनले भने, ‘इलेक्ट्रिक आइटममध्ये हिटरको माग धेरै छ। दैनिक दुई वटाभन्दा धेरै हिटरको बिक्री भइरहेको छ। पछिल्लो समय उपभोक्तामा विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्छ भन्ने धारणा विकास भएको पाइन्छ।’
धेरै ग्राहक किचन तथा बाथरुममा सकेसम्म विद्युतीय सामग्रीको नै प्रयोग गर्न पाइयोस् भन्ने चाहना राखेर आउने गरेको भट्टराईले जानकारी दिए। ग्राहकको माग र बजारको अवस्था हेरेर विद्युतीय उपकरण बिक्रीका लागि ल्याउने गरिएको उनको भनाइ छ।
२०७२ मा भारतीय नाकाबन्दीपछि एलपी ग्यासको अभाव भयो। मानिसहरू विकल्पको रूपमा विद्युतीय माध्यमबाट चल्ने सामानको प्रयोग बढ्न थाल्यो। त्यसबेलादेखि इन्डक्सन चुलोको माग ह्वात्तै बढ्न थालेको व्यवसायी बताउँछन्।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै एक अर्ब १० करोड रुपैयाँ बराबरको जाडोमा प्रयोग हुने सामान आयात भएका छन्।
बजारमा कलर्स, बाल्ट्रा, इलेक्ट्रोन, एलजी, हिटाची, ब्याक एन्ड डेकर, युवी, सामसङसहित विभिन्न ब्रान्डका होम अप्लायन्स छन्। जाडोमा सबैभन्दा बढी प्रयोगमा आउने होम अप्लायन्स निम्न छन् :
वाटर हिटर
जाडोयाममा नुहाउनु धेरै व्यक्तिका लागि कठीन काम हो। त्यसैले हरेक घरमा गिजर अनिवार्य जस्तै भइसकेको छ। गिजर खरिद गर्नुअघि आफ्नो आवश्यकता कति हो ख्याल गर्नुपर्ने हुन्छ। सानो परिवारको लागि ठूलो गिजर आवश्यक पर्दैन।
एयर प्युरिफायर
स्वच्छ हावा सबैका लागि आवश्यक छ। तर, सहरमा बढ्दो वायु प्रदुषणले स्वच्छ हावा सबैको पहुँचबाहिरको विषय बनेको छ। जाडोमा विशेषगरी एलर्जीको जाखिम बढी हुने गरेको पाइन्छ। धुलोका कारण हुने यस्तो एलर्जीबाट जोगिन स्वच्छ हावा अनिवार्य छ।
यस्तोमा एयर प्युरिफायर उत्तम विकल्प हुन्छ। उच्चस्तरको एयर प्युरिफायरमा हावा शुद्धीकरण गर्छ। यसमा हुने मल्टी लेयर प्रविधिले हावालाई छान्ने काम गर्छ। परिणामस्वरूप स्वच्छ हावा प्रवाह गर्छ।
हिटर
घरमा बस्ने मानिस सिरक, ब्ल्यांकेट ओडेर बस्न सक्छन्। तर, कार्यालय जाने व्यक्तिका लागि सधैं सहज वातावरण नहुनसक्छ। यस्तो हिटरको प्रयोग गर्नु उचित हुन्छ।
कफी मेकर
जाडोयाममा बिहान उठ्नेबित्तिकै धेरैको बानी हुन्छ, चिया, कफी खाने। तर, पटकपटक कफी बनाउनु झन्झट हुनसक्छ। यस्तोमा घरमा कफी मेकर राख्नु राम्रो विकल्प हो। यसलाई प्रयोग गर्न पनि सजिलो छ।
इनसुलेटेड थर्मस
जाडोमा न्यानो सिरकबाट निस्केर पानी तताउन जाने इच्छा कमै हुन्छ। बजारमा पाइने स्टेनलेस स्टिलको इन्सुलेटेड थर्मसले २४ घण्टा पानीलाई तातो राख्छ। यसभित्रको इन्सुलेसन प्रविधिले थर्मसभित्रको तापक्रमलाई कायम राख्न मद्दत पुग्छ। यसलाई प्रयोग गर्न र सफा गर्न सजिलो पनि छ।
इलेक्ट्रिक ब्लांकेट
दिनभर ठण्डी खेप्दै राती ओच्छ्यानमा पुग्दा न्यानो महसुस नहुँदा रात नै खल्लो बन्न सक्छ। यसको एक मात्र समाधान हो, इलेक्ट्रिक ब्लांकेट। यस्तो ब्लांकेट नरम फ्याब्रिकबाट बनेको हुन्छ। यसमा भएको प्री–हिट फिचरले तपाइँ जानुअघि पुरै बिछ्यौना नै न्यानो पार्छ। यसमा हुने इलेक्ट्रिसिटी फिचरमा कम भोल्टेजको प्रविधि प्रयोग भएको हुन्छ। जसले गर्दा यो सुरक्षित पनि छ। लगातार १० घन्टाको प्रयोगपछि यो स्वचालित रूपमा बन्द हुन्छ।
हट वाटर ब्याग
जाडोमा तपाइँको उपयोगी वस्तु बन्नसक्छ, हट वाटर ब्याग। पोर्टेबल आकारमा आउने यस्तो ब्याग जतासुकै बोकेर हिँड्न सजिलो हुन्छ। वातावरणमैत्री यस्तो ब्यागलाई घर होस् वा अफिस जहाँ पनि प्रयोग गर्न सकिन्छ। जाडोमा हुनसक्ने शरीरको दुखाईलाई सेक्न पनि यसको प्रयोग हुनेगरेको छ। यसमा पहिलैदेखि पानी सिल गरेर राखिएको हुनाले पानी भरिरहनुपर्ने झन्झट पर्दैन। १० देखि १५ मिनेटसम्म चार्ज गर्दा पनि ४ देखि ८ घन्टासम्म काम गर्छ। यसमा रातो इन्डिकेटर जडान गरिएको हुन्छ, जसले चार्ज फुल भएको जानकारी दिन्छ।
डिस वासर
डिस वासरले तपाइँको समय मात्र बचत गर्दैन, पानी पनि जोगाउँछ। जाडोमा भाडा माझ्नु त्यति सहज विषय होइन। डिस वासर तपाइँलाई काम गर्न र जाडो कटाउन उपयोगी बन्न सक्छ।