किसानलाई पाडी उपहार
काभ्रे : काभ्रेको पनौती नगरपालिकाले पशुपालनको क्षेत्रमा प्रत्यक्ष लागेका किसानलाई पाडी उपहार दिन सुरु गरेको छ। कृषि र पशुपालनमा लागेका किसानलाई आत्मनिर्भर, किसानको आर्थिक उन्निततर्फ जोड् दिन स्थानीय सरकार पनौती नरगपालिकाले पाडी उपहारको योजन अघि सारेको हो।
बिहीबार नगरपालिका-१ पर्खालचौरमा एक कार्यक्रम गरी पहिलो चरणमा किसानलाई २३ पाडी वितरण गरिएको हो। नगरपालिकाले वडागत पाडी वितरणको लागि आवेदन माग गरे अनुसार यो आर्थिक वर्षमा नगरपालिकाको अन्तरिक कोषबाट ३ सय पाडी वितरण गर्दैछ।
नगरपालिकाले यो वर्ष वडा नम्बर १ मा ४२, वडा नम्बर २ मा ३५, वडा नम्बर ३ मा ३०, वडा नम्बर ४, ५, ६, ८, ९, १०, ११ मा २० र २० वटा, वडा नम्बर ७ मा ३ वटा र वडा नम्बर १२ मा सबै भन्दा धेरै ५० पाडी वितरण गरिदै छ।
पाडी वितरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईले नगरपालिकाले नमुना काम सुरु गरेको उल्लेख गरे।
पनौतीका मेयर भीम न्यौपानेले वैदेशिक रोजगारीमा जाने परम्परा बढ्दै गएको कारण त्यसलाई रोकथाम गर्न यस्तो अभियान सुरु गरेको बताए। अघिल्लो आर्थिक वर्षबाट नगरपालिकाले सुरु गरेको भैंसी भत्ता ५ सय ६७ भैंसीपालक कृषकले प्राप्त गरेका पनौती नगरपालिका पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिए।
बाँझोपन रह्यो भने प्राविधिक समितिको सिफारिसका आधारमा विक्री गर्ने र अर्काे खरिद गर्न सकिने नगरपालिकाले जनाएको छ। नगरपालिकको आन्तरिक स्रोतबाट ९० लाख र ३ सय किसानबाट ५ हजारका दरले १५ लाख गरी एक करोड ५ लाख रुपैयाँ बराबरको रकमबाट पाडी वितरण कार्यक्रम सञ्चालन गरेको हो।