स्याङ्जामा बजार अनुगमन : प्रशोधित पानी र तेल गुणस्तरहीन भेटिएपछि उद्योगमा शिलबन्दी
स्याङ्जा : गण्डकी आयल मिल प्रालिबाट उत्पादित कोशेली र साधना ब्राण्डको शुद्ध तोरीको तेल गुणस्तरहीन भेटिएको छ । स्याङजा सदरमुकामका केही पसलमा गरिएको अनुगमनपछि पठाइएको नमूना परीक्षणमा खाने तेल, पिउने पानी र सुनमा पनि गुणस्तरहीन भेटिएको छ।
तेल र पानीको नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंमा पठाइएको र परीक्षणपछि गुणस्तरहीन पाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिए । उनले भने, 'यहाँ उत्पादिन पानी शुद्ध छैन। सुनमा पनि मिसावट छ ।'
पानीको नमूना परीक्षणका लागि र ३ वटा पसलबाट पठाइएका सुन गुणस्तर तथा नापतौल विभागमा पठाइएको थियो। अर्को आदेश नभएसम्मका लागि तेल उद्योग रोक्का राख्न प्रशासन कार्यालय कास्कीलाई पत्राचार गरेको छ। अहिले तेल उद्योग शिलबन्दी गरिएको छ । स्याङजाको पानी उद्योगमा समेत शिलबन्दी गरिएको छ । उद्योगलाई कालो बजार तथा केहि सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्र्तगत कारबाहीको प्रक्रिया अघि बढाइएको प्रजिअ कुरुम्वाङले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय स्याङजाले कालाबजारी गर्ने व्यवसायी एवं व्यापारिविरुद्ध कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । प्रमुख जिल्ला अधिकारीले ठगी गर्ने व्यापारीविरुद्ध कारवाहीको प्रक्रिया सुरु गरेको बताए।
केही महिनाअघि मात्र सरुवा भई स्याङजा आएका प्रजिअ कुरुम्वाङले जिल्लामा आउने वित्तिकै सबैभन्दा पहिला बजार अनुगमन गरे। अनुगमनबाट तेल, खानेपानी, सुनलगायतका केही खाद्य सामाग्रीको नमूना गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएका थिए ।
गत महिनादेखि उपभोक्ता हित संरक्षणका लागि बजार अनुमगन तथा निरीक्षण जिल्लामा तीव्र पारिएको छ । बजार व्यवसाय प्रतिकुल रहेको जनाउँदै म्याद नाघेका खाद्यवस्तु, मूल्य सूची नरहेका, लेवल नभएका सामाग्री जफत गरि नष्ट गरिएको छ।
जिल्लाका व्यापारिक केन्द्रमा हप्ताको एकपटक स्थानीय तह, उपभोक्ता, व्यवसायी, उद्योग व्यापार र मिडियाको सहभागितामा बजार अनुगमनलाई अभियानकै रुपमा अगाडि बढाएने र व्यवसायी दर्तागरी संचालन गर्न समेत जिल्ला प्रशासन कार्यालय स्याङजाले सूचित गरेको छ ।