सहर कुरुप बनाउनेलाई ५८ हजार जरिवाना
काठमाडौं : काठमाडौं महानगरपालिकाले शुक्रबारबाट बजारमा राखिएको होडिङबोर्ड हटाउन सुरु गरेको छ। 'सफा, स्वच्छ र सुन्दर सहर' बनाउने योजना अनुरुप नै विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होडिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायतलाई महानगरले हटाउने प्रक्रिया सुरु गरेको हो।
नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार शुक्रबार मात्रै तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका चार वटा ठूला होडिङबोर्ड हटाएको छ। महानगरले भित्ते लेखन तथा सडकमा जथाभावी माटो खसाल्ने १० कम्पनी र व्यक्तिलाई कारवाही गरेको छ। भोटाहिटी नजिक कालोपत्रे सडकमा माटो खसालेको भन्दै महानगरपालिकाले जेटीसीलाई २५ हजार जरिवाना गराएको जनाएको छ।
त्यसैगरी जथाभावी होडिङबोर्ड र पर्चा-पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र सेन्ट जेभियर्स, गोल्डेनगेट मल्टिपर्पोज, काठमाडौँ जब इम्प्लोइमेण्टलाई ५ हजार जरिवाना तिराएको सापकोटाले जानकारी दिए। पहिलो दिनमै विभिन्न व्यक्ति र संस्थालाई महानगरपालिकाले ५८ हजार जरिवाना तिराएको उनले बताए।
‘नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर हामीले सहर सुन्दर बनाउने अभियानलाई तीब्रता दिन यो अभियान चलाएका हौँ,’ सापकोटाले भने 'काठमाडौंको मौलिकता बचाउनु महानगरको जिम्मेवारी हो। हामी बिगतदेखि नै यस प्रकारका बोर्डको नियमन गर्दै थियौं, अहिले नियमन कार्यलाई तीब्र बनाएका हौं।’
बिहीबार मात्रै पनि गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलसहित बसेको बैठकले सरोकारवाला निकायका अधिकारीबीच सहरी सुन्दरता कायम गर्ने काममा सघाउ पुर्याउन सबै पक्षलाई आग्रह गरेका थिए।