साधनाले हुर्काएको सांस्कृतिक सम्पदा
श्रीगुरु वृहस्पतियाः भजननी याय
आदिमदुः अन्तमदुः रूपजुल प्रभु या
जोगराशि नक्षेत्रयाः मालिक छलपोल
रोगसोग दुःखजिगुः नासयाङा बिवः प्रभु।
यो गुरु वृहस्पतिका सम्झनामा नेपाल भाषामा लिखित भजन अंश हो। यी र यस्तै भजनहरू विभिन्न देवीदेवताका नाममा नित्य गाइन्छन् मध्यपुर ठिमी नगरपालिका-६ स्थित सिद्धिकाली गणेश मन्दिरअगाडिको सत्तलमा। सत्तलका भित्तामा राधा-कृष्ण, सीता-राम, राम-हनुमान, शिव-पार्वती, लक्ष्मी-विष्णु, श्रीगणेश, सरस्वती, भद्रकाली, जीवित देवी कुमारी र विभिन्न मठमन्दिरका तस्बिरहरू सजाइएका छन्। भुईंमा सुकुल, कार्पेट बिछ्याइएका छन्। मानिसहरू वरिपरि बसेर कर्ताल, डमरु, शंख, झ्याम्टा, ढोलक, हार्मोनियम भजनको लयअनुसार बजाइरहेका छन्।
सत्तलका बीचमा हस्तलिखित भजनग्रन्थका पाना फिँजाइएका छन्। मसीमा चोपेर निगालाका कलमले ठूला अक्षरमा नेपालभाषामा हरिशरण साहुद्वारा नेपाल संवत् १०५७ मा लिपिबद्ध त्यो भजन ग्रन्थभन्दा अगाडि दीप प्रज्ज्वलित गरिएको छ भने पछाडि बसेका छन् एकान्नब्बे वर्षका लक्ष्मीकृष्ण चक्रधर, छयासी वर्षका रत्नबहादुर लामा प्रजापति, एकासी वर्षका बद्रीमान चक्रधर, उनान्सत्तरी वर्षका रत्नकाजी प्रजापतिसहित दर्जनौं मानिसहरू। उनीहरू पाना पल्टाउँदै भजनकीर्तन गरिरहेका छन्। त्यहाँको वस्तुस्थिति देख्दा विरलै पुग्ने मानिसलाई लाग्नेछ- यहाँ अखण्ड यज्ञ चलिरहेछ।
उदार मन र सामूहिक प्रतिनिधित्वको भावना राखेर निरन्तर साधना भइरहेकाले लिच्छवी तथा मल्लकालीन सम्पदा आजसम्म बाँचिरहन सकेका छन्।
बाजेदेखि नाति पुस्तासम्मका पाइला सिद्धिकालीतिर बढ्छन् हरेक दिन क्षितिजमा उज्यालो नखस्दै। घडीको सुइले चार नबजाउँदै उनीहरू थालिसक्छन् त्यही सत्तलमा भजनकीर्तन। मुटु कमाउने पुसको जाडो होस्, निथ्रुक्क भिजाउने बर्खाको मुसलधारे दर्के पानी र झरी होस्, मान्छे नै उडाउने चैत-वैशाखको हावाहुरी आओस्, यस सत्तलमा अखण्ड रूपमा बिहान चार बजेदेखि ८ बजेसम्म वर्षको तीन सय पैसट्ठी दिनसम्म निरन्तर यहाँ भजनकीर्तन चलिरहन्छ।
नेवा रहनसहन, भेषभूषा, कला र संस्कृतिका पर्याय तिनका शिरमा भादगाउँले र ढाकाका टोपी छन्। खुट्टामा सुरुवाल, शरीरमा कमिज र स्टकोट लगाएका अनि निधारमा टीका र कानमा फूल सिउरिएका उनीहरूमा फराकिलो छाती र उदार मन छ। भगवान्प्रतिको भक्ति र श्रद्धा अथाह छ। एकअर्काप्रति प्रेम छ। तिनका मनका अन्तरकुन्तरमा कतैतिर उचनीच भावना भेटिँदैन। सबैमा सेवाको भावना छ। ईश्वरी भजन र भक्तिद्वारा साधना गर्न र अरूका सेवा गरेर आनन्दित हुन जानेका छन्। लिच्छवी तथा मल्लकालदेखि प्रचलित जात्रा, पर्वहरूलाई आजपर्यन्त जीवन्त राख्ने संकल्प देख्दा लाग्छ- तिनका हृदय कति विशाल होला?
सिद्धिकाली गणेश मन्दिरको स्थापना कसले गराएका हुन्? भजनकीर्तनको सुरुवात कसरी भयो भन्न उनीहरू सक्दैनन्, तर सिद्धिकालीको पौराणिकताका बारेमा रत्नकाजीको भनाइ छ, ‘दक्षप्रजापतिको यज्ञकुण्डमा हामफालेर प्राण त्याग गरेकी सतीदेवीको लास बोकेर हिँड्दा महादेव यहाँ पनि आइपुगेका र सतीदेवीका गाला पतन भएकाले यस ठाउँको नाउँ सिद्धिकाली रहेको स्वस्थानी कथामा पाइन्छ।’
आफ्ना बाउबाजेले यस ठाउँमा आएर भजनकीर्तन गर्दै आएको प्रत्यक्ष अनुभव भने उनीहरूसँग छ। बीस वर्षको उमेरदेखि भजन गाउँदै आएका बद्रीमान चक्रधर एकासी वर्षका भइसक्दा पनि उस्तै जोसका साथ गाइरहेका देखिन्थे। उनी भन्छन्, ‘यहाँ आएर भजन गाउँदाको आनन्द अर्कै छ।’ छयासी वर्षको भइसकें, हरेक दिन एकपटक यहाँ नआएसम्म मनले मान्दैन भन्छन् रत्नबहादुर लामा प्रजापति पनि। उनी भन्छन्, ‘यहाँ आउन पाउँदा बडो आनन्द लाग्छ। मन प्रफुल्लित हुन्छ।’
हरेक दिन बिहान उठ्नेबित्तिकै आऊँआऊँ लागिरहन्छ, कहिलेकाहीं यहाँ आउन नपाउँदा दिनभरि खल्लो भइरहन्छ भन्छन् हर्षबहादुर प्रजापति। उनी भन्छन्, ‘दिनभरि केही हराएजस्तो केही बिराएजस्तो लागिरहन्छ।’ यहाँ आएर भजनकीर्तन गरेर आनन्दित हुने लतै बसिसकेको छ भन्छन् अर्का तेजबहादुर प्रजापति पनि। भजनकीर्तनले मनमा रहेका पिर, चिन्ता, डर भय भगाएको छ भन्छन् कृष्णहरि प्रजापति। बुवा काजीबहादुरका हात समातेर यहाँ आउने गरेको बाल्यकाल सम्झँदै मोहनकृष्ण प्रजापति भन्छन्, ‘अखण्ड भजनकीर्तनले हामीलाई आनन्द त मिलेको छ नै, दिवंगत बाउबाजेहरूका आत्माले शान्ति, आदर र सम्मान पनि पाएका छन्।’
भजनकीर्तनलाई निरन्तर चलाउन कसरी सम्भव रह्यो त भन्ने प्रश्नमा रत्नकाजी भन्छन्, ‘उदार मन र सामूहिक प्रतिनिधित्वको भावना राखेर भगवत् कर्ममा लागेपछि असम्भव भन्ने नै नहँुदो रहेछ।’ हामीले यस मन्दिरलाई फराकिलो र व्यवस्थित बनाउने र नयाँ स्वरूप दिएर पवित्र तीर्थस्थलका रूपमा खडा गर्ने इच्छा ग¥यौं र काम पनि सुरु गरेका थियौं भन्छन् सिद्धिकाली संरक्षण तथा विकास समितिका पूर्वअध्यक्ष श्रीकृष्ण प्रजापति। उनी भन्छन्, ‘यो कुरा थाहा पाएका सिंगो ठिमीवासी र यहाँका संघसंस्थाले सहयोगका हात फिँजाइदिए। यसमा कोरियन नेपाल मैत्री अस्पताल, मध्यपुर ठिमी नगरपालिकाको पनि हार्दिक सहयोग रह्यो।’ तिनका सहयोगले यस तीर्थस्थललाई पूर्णता दिनका लागि कस्सिएको गाँठो फुक्यो। हामीले मन फुकाएर काम गर्यौं।’
सिद्धिकालीदेखि हात्ती महाकालसम्मको बाटो फराकिलो हुने गरी इँटा ओछ्याउनका लागि मध्यपुर ठिमी नगरपालिकाले ५० लाख रुपैयाँ रकम निकासा गरिसकेको बताउँछन् सिद्धिकाली संरक्षण तथा विकास समितिका अध्यक्ष दिलकृष्ण प्रजापति। उनी भन्छन्, ‘अबको बिस्केट जात्राअगाडि नै काम सम्पन्न गरिनेछ।’ उनका अनुसार सिद्धिकाली गणेश मन्दिरको गजुरमा सुनको थाली राख्नका लागि नगरपालिकाले एक करोड ५० लाख रुपैयाँ निकासा गरिसकेको छ। मन्दिर क्षेत्रका पाटीपौवा, इनार, धारा निर्माण गरेर थप व्यवस्थित पारिनेछ। उनी भन्छन्- ठिमीवासीहरूको इच्छाअनुसार यस मन्दिर क्षेत्रले फराकिँदै र नयाँ रूप पाउँदै छ।
स्थानीयको हार्दिक सहयोगबारेमा हर्षबहादुर थप्छन्, ‘हामी भजनकीर्तन गरिरहेका हुन्छौं, हाम्रा लागि कोही बिस्कुट, कोही चिनी, कोही दूध बोकेर आइपुग्छन्। दुई प्याकेट दूध र दुई दर्जन बिस्कुट दिएर फर्किन लागेकी गंगालक्ष्मी श्रेष्ठ भन्छिन्, ‘भजन चलिरहोस् भन्नका लागि हो।’ भजनप्रेमीलाई पाउरोटी बाँडिरहेका अग्ला कदका वृद्ध भन्छन्, ‘खुसीका लागि बाँडेको हुँ।’ डेढ दशकदेखि आज पनि निरन्तर सहयोग गर्दै आउनुभएका रत्नकाजी भन्छन्, ‘न गुठीको एक पैसा खर्च गरिएको छ, न हामीले उहाँहरूलाई ल्याइदेऊ भनेका हौं।’ उनी भन्छन्, ‘भगवत् भजनले भक्ति र प्रेम बढाउँदो रहेछ। भक्ति र प्रेम फैलिएपछि मन फराकिँदो रहेछ। जहाँ फराकिलो मन भेटिन्छ, तिनले दिन जानेको हुँदो रहेछ। दिएरै आनन्दित हुन मन लाग्दो रहेछ। यसरी सबै कुरा आफ से आफ जुट्दै जाँदो रहेछ।’
लक्ष्मीकृष्ण भन्छन्, ‘हामी ठिमीवासीहरूमा साधना शक्ति छ। त्यसैले सिद्धिकाली गणेशप्रति अगाध प्रेम र आस्था छ। उनी फेरि भन्छन्, ‘हरेक दिनको भक्ति र अखण्ड भजनकीर्तनले भगवत् प्रेम गहिरिएको छ हृदय फराकिलो भएको छ।’ सिद्धिकाली गणेश मन्दिर आसपासका सत्तल देखाउँदै मोहनकृष्ण भन्छन्, ‘यी सबैप्रति हाम्रो अपार प्रेम छ। व्यापार व्यवसाय गर्ने यी कामकाजी पुरुष हुन् या भान्सामा पस्ने यी दिदीबहिनी र आमाहरू हुन्, उनीहरूले काम सुरु गर्छन् सिद्धिकाली गणेशको पूजा तथा दर्शनपछि।’
बाउबाजेले हुर्काएको नेवा कला, संस्कृति र रहनसहनलाई जीवन्त राख्ने दायित्व हाम्रोजस्तै तिमीहरूको पनि हो भनेर युवा पुस्तालाई सिकाइरहेका छौं भन्छन् बद्रीमान। दुढताका साथ उनी भन्छन्, ‘यसप्रति युवा पुस्ताले पनि चासो राख्न थालेका छन्। ‘समय बदलिइरहेको छ। पश्चिमा संस्कृतिको प्रभाव र नयाँनयाँ चालचलन आइरहेका छन्। यस अवस्थामा पनि हामीले भजनकीर्तन अखण्ड रूपमा सञ्चालन गरिरहेका छौं र गरिरहने छौं’, उनी भन्छन्।
भजनबारेमा बद्रीमान फेरि भन्छन्, ‘यहाँ थुप्रै टोल छन्। टोल-टोलमा मन्दिर छन्। यस मन्दिरमा मात्र होइन, घरघरमा पनि हरेक साँझ-बिहान भजन हुन्छ। भजन सबैभन्दा पहिला श्रीगणेश, श्रीकृष्ण, नारायण, बुद्ध, रुद्र, शिव, ब्रह्मा, विष्णुलगायत देवीदेवताको गरिन्छ। यहाँ त बिहान चारबजेदेखि आठ बजसेम्म भजन चलिरहन्छ। यसबीचमा नीतिभजन, शास्त्रीय भजन र विभिन्न भाषाका भजन हुन्छ। हामी बूढापाका शास्त्रीय भजन गाउँछौं।’
अन्त्यमा सिद्धिकाली संरक्षण कोषका आजीवन सदस्य रत्नकाजी सिद्धिकाली गशेणप्रति हात जोड्दै विनम्रतापूर्वक भन्छन्- यस पवित्र तीर्थस्थलमा सबैले हार्दिक सहभागिता जनाउन पाउँछन् र गणेशको पूजाआजा गर्न र यहाँ बसेर भजन गाउन पाउँछन्। पवित्र मन राखेर भगवत् धाममा आएर फूल मात्र चढाए पनि त्यो ऐश्वर्य चढाएबराबर हुन्छ। जजसले यहाँ आएर साधना गर्छन्, उनीहरूले जे चिताए पनि पुग्छ। पुगेको छ। पुगोस्। सिद्धिकाली गणेशले पुर्याउनेछन्।