श्याम श्वेत

श्याम श्वेत

प्रसंग

‘हेर न ! त्यो कुर्ता कस्तो राम्रो।’

‘स्त्री’जस्तै देखिने निर्जीव डमीमा पहिर्‍याइएको थियो त्यो कपडा। म तानिएकी मात्र थिएँ। सँगै भएकी साथीले भनिन्, ‘तँलाई त त्यो सुहाउँदैन। तँ काली छेस्, तेरो छालाकै रङसँग म्याच गर्दैन।’

अनुहारको रङ उडेर चेहरा नीलो भइहाल्यो। म गोरी हुन्थेँ भने रातो हुन्थ्यो होला। साथीले बोलेको कुराले पसलमा बस्ने कपडा व्यापारीले बोल्ने वाक्य सम्झायो, ‘तपाईं त गोरो हुनुहुन्छ, जस्तोसुकै रङ पनि सुहाउँछ तपाईंलाई।’

कसैले आफ्नो पहिरनको चाहना मात्रैलाई पनि निश्चित ‘सीमारेखा’भित्र कैद गर्नु परे के होला ? आफू सामान्य भनिएको ‘समूह’मा नअटाएमा कसैले के गर्न सक्छ ? चाहे त्यो कपडाको छनोटकै विषयमा किन नहोस्, वा जीवन जिउने मान्छेको छनोटको विषयमा। छाला ‘कालो’ हुनुलाई कोही कसैको ‘सर्वस्व’ नै ‘कालो’ जोडियो भने के होला ?

 ‘गोरोपन’ अर्थात् ‘सम्पूर्णता’

एक छिमेकी दिदी छिन्, जो नेपालमा चर्चामा रहेका ‘डेटिङ एप’ टिन्डर चलाउँछिन्। उनले त्यहाँ राख्ने फोटोमा विभिन्न मोबाइल एप्सले दिएका ‘फिल्टर’को प्रयोग अत्यधिक देखिन्छ। अनौपचारिक गफमा उनले भनेकी थिइन्, ‘अलिकति गोरो र अलिअलि शरीर ‘सेक्सी’ भएको फोटो हाल्न मात्रै पर्छ, कति धेरै म्याच आउँछन्।’ उनको मोबाइलमा त्यति ‘कन्ट्याक्ट’ छैनन्, जति ‘फोटो एडिटर’ एप्सहरू छन्। र ती अधिकांश फोटो एडिटर एप्सको विशेषता, त्यहाँका सबै फिल्टरमा गोरोपनलाई ‘मुख्य गुण’को रूपमा राखिएको देख्न सक्नुहुन्छ। ती दिदी भन्छिन्, ‘राम्रो हुनु भनेको त गोरो हुनु पो हो त। फिल्टर युज नगरी त के हाल्नु फोटो ? ’

तपाईं आफ्नो साथी सर्कल सम्झनुस्, चिया गफमा हुने मजाक सम्झनुस्। मजाकको विषय याद गर्नुस्। सबैभन्दा धेरै पटक हाँसोको विषय के रहेको छ ? हाँसोको पात्र को बनेको छ ? केही अपवादलाई छाड्ने हो भने अधिकांश मजाक मान्छेको ‘रङ’लाई जोडेर बनिरहेका हुन्छन्। तपाईंको आक्रमणले हरेक दिन ‘कालो’ र ‘काली’ साथीलाई नै हाँसोको पात्र बनाएको छैन र ? कहिलेकाहीँ तपाईं कालो वर्णलाई भद्दा मजाक बनाएर भनिदिनुहुन्छ, ‘यस्तो कालो अनुहार भएकीसँग कसले विवाह गर्छ ? ’

किन सुन्दरतालाई ‘गोरोपन’को पर्याय बनाइएको छ, कहिल्यै सोच्नुभएको छ ? किन पंक्तिकारले उद्धृत गरेकी युवती फिल्टर नराखी फोटो हाल्न डराउँछिन् ? विचार गर्नुभएको छ ? या भनौं, किन ‘फोटो एडिटर’ भनिएका एप्समा किन ‘गोरोपन’ बढाउने वा ‘कालोपन’ छुपाउने ‘फिल्टर’ मात्रै हुन्छन् ?

एकछिन नेपाली पत्रपत्रिकामा छापिने ‘वर्गीकृत डिस्प्ले’का विज्ञापनलाई हेरौं न। त्यहाँ दिइएका विवाहका विज्ञापनमा लेखिएको हुन्छ— गहुँगोरो वर्णकी सुन्दर युवती चाहियो। त्यसको छेवैमा अर्को विज्ञापन हुन्छ, जहाँ ‘गोरोपन’ बढाउने क्रिमको उत्पादक फेयर एन्ड लब्ली भन्छ, ‘१५ दिनमा आफ्नो छालालाई गोरो बनाउनुहोस्।’

परम्परागत मूल्यमान्यताबाट निर्देशित सामाजिक संरचनाकै एक हिस्सा बनिसकेको छ, सुन्दरताको संरचना। स्थापित मान्यताले भन्छ— सुन्दरता अर्थात् गोरोपन वा गोरोपन अर्थात् सुन्दरता। यसो भनिरहँदा एकछिनलाई लाग्छ, ‘काला’ जति सबै कुरूप हुन्, ‘कालो’ रङ नै कुरूपताको प्रतीक हो।

१८औं शताब्दीमा ‘गोरा’को क्षेत्र अर्थात् युरोपमा औद्योगिक क्रान्ति भयो। विश्वव्यापी रूपमा सुन्दर अर्थात् गोरो भन्ने सोच फस्टाउँदै गयो। गोरो रङ अर्थात् सुन्दरताको प्रतीक। औद्योगिक क्रान्तिले स्थापित गरेको मान्यता सुन्दरताको पर्यायका रूपमा मात्रै पनि सीमित छैन। अहिले गोरो हुनु भनेको शक्तिशाली हुनु हो। ‘गोरो’ हुनुलाई व्यापारको रूप बनाएपछि झन् यसले विश्वलाई आफ्नो उपनिवेशमा पार्‍यो। २०औं शताब्दीमा भारतले स्वतन्त्रता पाएपछि ‘गोरो’ हुनु भनेको सुन्दर हुनु हो भन्ने मान्यताले दक्षिण एसियालाई पनि छपक्कै छोप्यो। सुन्दरताको ‘त्यो मान्यता’लाई अनुसरण गर्दै थुप्रै कम्पनी खुले। तिनले झन् बढावा दिए, सुन्दर अर्थात् गोरो हो भन्ने कुरामा। अहिले बजारमा हेर्ने हो भने गोरो बनाउने क्रिमदेखि पाउडर, जेल हुँदै विभिन्न पिल्स, इन्जेक्सनसम्म उपलब्ध भइसकेका छन्।

यी सबै कुराले देखाएको तर्क एउटै छ— कालो हुनु भनेको सुन्दर नहुनु हो। कालो छाला हुनेलाई योभन्दा ठूलो संघर्ष के होला ? जहाँ इतिहासदेखि वर्तमान सबै कुरा उसको विपरीत हुन्छन्। यी मान्यताअनुसार विवाह गर्नका लागि कसैको योग्यता कम र उसको छालाको रङ बढी महत्वपूर्ण हुन्छ। सम्पूर्ण हुनु छ वा कुनै कुरामा पूर्ण हुनु छ भने तपाईं ‘गोरो’ हुनुपर्छ भन्ने ‘मान्यता’ महत्वपूर्ण छ।

गोरोपनको भोक

भर्खरै मात्र हलमा चलेको भारतीय सिनेमा ‘बाला’मा अभिनेत्री ‘काली’छन्। चलचित्रका अभिनेतालाई उनको फोटो गोरो बनाउन लगाइन्छ। मोबाइलमा ‘ब्राइट’ बनाएर उनको अनुहारको ‘कालोपन’लाई छोपी गोरो बनाएर विवाहका लागि विभिन्न ठाउँमा त्यो फोटो उनकी अभिभावकले पठाउँछिन्।

भारतीय विभिन्न सिनेमादेखि गीतहरूमा यस्ता प्रसंग सजिलै भेट्न सकिन्छ। नेपाली कलासाहित्यमा पनि यी कुराको प्रभाव कम छैन। कतिसम्म भने सामान्य विद्युतीय चिमको विज्ञापनलाई पनि मानिसको (अझ बढी महिला)को गोरोपनसँग जोडेर प्रस्तुत गरिन्छ। पौराणिक कथालाई हेर्दा पनि कृष्णलाई छाडेर हेर्दा अधिकांश ‘देवीदेवता’को ‘गोरोपन’को वर्णनलाई पाउन सकिन्छ भने दानवलाई ‘कालो’ वर्णको रूपमा परिभाषित गरिएको भेट्न सकिन्छ। दक्षिण एसियाका देशहरूमा ‘रङ’को वर्णसँग मानिसको वर्गलाई हेर्ने कुरा त झन् सभ्यताजस्तै पुरानो छ। छालाकै रङका आधारमा जातीय दर्जादेखि सामाजिक वर्गसम्म छुट्याउने चलन यहाँ सामान्य छ।

अर्कातिर, सौन्दर्य प्रतियोगिताले पनि मानिसमा गोरोपनको भोकलाई बीजारोपण गरिरहेको छ। सामाजिक सञ्जाल फेसबुकमा भेटिने मोडलिङका विज्ञापनहरूमा पढाइ, योग्यतासँग मतलब गरिएको हुँदैन। मात्रै, ‘हाइट’ यतियति र ‘गोरो’ हुनुपर्ने विज्ञापन दिइएको हुन्छ। पछिल्लो समय मिस नेपालमा भाग लिन गएकी प्रतिस्पर्धीलाई यस्तै ‘गोरोपन’ बढाउने भनिएका कृत्रिम उत्पादनहरू प्रयोग नगरेका कारण निर्णायकले गरेको व्यवहार पनि चर्चित भएको थियो। नेपालमा २०औं शताब्दीबाट सुरु भएको सौन्दर्य प्रतियोगितामा अधिकांश विजेतालाई हेर्ने हो भने उनीहरूको छालाको रङ ‘गोरो’ छ। मात्रै, २०१७ को ताज मारवाडीकी छोरी ‘निकिता चन्डकले पाइन्। तर, त्यसले पनि चर्चाभन्दा बढी ‘व्यंग्य’ खेप्नु पर्‍यो। सामाजिक सञ्जालमा उनको अनुहारको रङलाई लिएर ‘मिम’ बने, उनी ट्रोलको सिकार भइन्। उनीसँगै भाग लिनेहरू ‘सुन्दर’ थिए भनियो। तर, त्यो ‘सुन्दर’को अर्थ गोरोपन थियो। कसैले पनि त्यो प्रसंगमा निकिताको बौद्धिकता, निकिताको योग्यतालाई वास्ता गरेन्। मात्र, सबैको ध्यानको केन्द्रबिन्दु थियो, उनको छालाको रङ। कतिसम्म भने, कतिपयले त उनलाई ‘भारतीय’को ट्याग लगाए। के २०१९ भन्दा अगाडि गोरोपनकै आधारमा ‘मिस नेपाल’को ताज पहिर्‍याइएको थियो ? त्यो प्रश्न भने कसैले कसैलाई सोधेनन्।

हामीले देख्ने, हामीले भोग्ने गरेका सबै कुरामा गोरोपनलाई सुन्दरता भनिएपछि स्वाभाविक रूपमा गोरोपनको भोक मानिसमा जाग्ने नै भयो। सौन्दर्य प्रतियोगितामा ‘कालो’ वर्णको कसैले ताज पहिरिँदाँ आलोचना गर्ने समूहले खोजेको के थियो ? निकिताको आलोचना हुनुको कारण के थियो ? यी प्रश्नको जवाफ खोजिएन्। खोजिएको कुरा केवल उनको अनुहारमा, गोरोपन थियो। जतिले उनको आलोचना गरेका थिए, छालाको रङलाई उनको योग्यतासँग जोडेर हेरेका थिए, उनीहरूमा भोक थियो केवल, गोरोपनको। सिनेमादेखि विज्ञापनसम्ममा पनि गोरोपनलाई नै केन्द्रमा राखिनुको कारण पनि यस्तै नै हो। सिनेमादेखि विज्ञापनमा कतै न कतैबाट ‘पुँजी’ जोडिएको छ। त्यसका लागि गोरो छाला देखाएर दर्शकलाई आकर्षण गर्न आवश्यक छ।

तर, यसमा दोष कसलाई दिने ? आफू हुर्किएको ‘जग’ले सिकाएको मान्यताविपरीत भएर हिँड्यो भने मान्छे एक्लिन्छ। यसले गर्दा अहिले बजारको कुनै सामान्य कस्मेटिक पसलमै गएर हेर्ने हो भने पनि मानिसमा गोरोपनको भोक कति छ भन्ने प्रस्ट हुन्छ। ‘काला छाला’ भएकाहरू ती कस्मेटिक पसलमा ‘गोरोपन’ भेट्न निकै आतुर छन्। उनीहरूलाई कालो छालाले शारीरिक रूपमा हानि नगरेपछि भावनात्मक रूपमा विभिन्न समस्यामा पुर्‍याएको अनुभव सुन्न सकिन्छ। उनीहरू गोरोपनलाई सुन्दरता मान्न सक्दैनन्। सामाजिकदेखि व्यक्तिगत रूपमा पनि एक्लिने भयका कारण उनीहरू ‘गोरोपन’लाई अँगाल्ने लालसामा हुन्छन्, आफ्नो शरीरको रङ स्वीकार्न सक्दैनन्। सोच्नुस् त, विगतका शृंखला खतिवडा वा अनुष्का श्रेष्ठजस्ता मिस नेपालहरूको अनुहारको रङ कालो भएको भए उनीहरू कहाँ हुन्थे होला ? तर, यसलाई एउटा ‘संयोग’ नै मान्नुपर्छ, यसपटक विश्वका दुई ठूला सौन्दर्य प्रतियोगितामा ‘काला’ वर्णकाहरूलाई ताज पहिर्‍याइयो। यसको अन्तर्कथा बेग्लै होला तर ‘गोरोपन’ हुनैपर्ने ‘अघोषित सैद्धान्तिक’ मान्यताको उपज ‘सौन्दर्य प्रतियोगिता’हरूमा यस्ता दृश्य विरलै देखिन्छन्।

‘गोरो’ रङलाई जुन रूपमा सुन्दरताको ‘पर्याय’ बनाएर स्थापित गरियो, त्यसरी नै यसको मानकत्व टुट्न अर्को क्रान्ति आवश्यक होला। तर, सामान्य चेत भएको व्यक्तिले ‘हरेक रङ प्रकृति हो, हरेक रङ सुन्दर छन्’ भन्ने मात्रै बुझिदियो भने धेरै कुरा यथास्थितिभन्दा फरक अवश्य हुन्छ। पूर्वनिर्मित तथा पूर्वसिर्जित साहित्य, सिद्धान्त, धार्मिक मान्यतालाई तत्कालै परिवर्तन असम्भव कुरा हो। तर, त्यसको विपरीत आफूलाई निखार्नु भने सम्भव हो। जुन पुस्ता हुर्किसकेको छ, त्यसमा परिवर्तनको हावाले नछुन सक्छ। तर, हुर्किरहेको र हुर्किने पुस्तामा परिवर्तनको हावाले ‘आँधी’को रूपमा छाप छोड्न सक्छ। नत्र, गोरोपनलाई सर्वस्व मान्ने जमातले ‘कालो’ रङलाई अँध्यारोका रूपमा परिभाषित गरिरहन्छ। र फेरि, कहिले ‘विवाह कसले गर्ला ? ’ त कहिले ‘जागिर के काममा खाली ? ’ र कहिले ‘हाम्रो ग्रुप फोटोमा तिमी भयौ भने त फिल्टर युज गर्नुपर्छ’जस्ता थुप्रै प्रश्न सोधिन्छन्।

यस्ता प्रश्न आफैंलाई म बेलाबेला सोध्छु र थुप्रै ‘कहिलेकाहीँ’का प्रसंग मस्तिष्कमा आउँछन्। र ती ‘कहिलेकाहीँ’मा म सबैभन्दा बढी आफ्नो बाल्यकाल सम्झिन्छु। वरपरका साथीभाइसँग खेल्दा कालो रङ भएकाहरूलाई हामीले नै बोक्सी, राक्षसको रूप लिन लगाउँथ्यौं। किनकि, हाम्रो हुर्काइ त्यहीँ थियो। बाल्यकालसँगै अहिले मस्तिष्कमा नमज्जाले खलबल्याउने कुरा हो, समाजले त्यो बेला बालमस्तिष्कमा रोपिदिएको मूल्यमान्यता।

घरमा पाहुना आउँदाको बखतमा गफका अधिकांश विषयमा आफू पर्नु, त्यसमा पनि मेरो भाइ (जसको छालाको रङ निकै गोरो छ) र मेरो समानता र भिन्नताको कुरा हुनु। बाल्यकालमा पाहुना आएकाहरूले मलाई जिस्क्याउँदै, ‘छोरा त नम्बरी छ। छोरी काली छे, कसले बिहे गर्ला र ? ’ भन्ने गरेको कुराले त्यही बेला नमीठो छाप छाड्यो। चेतनाको स्तर विकास नहुँदासम्म घरमा पाहुना आउँदैछन् भन्ने थाहा पाउनेबित्तिकै आमाले दराजमा राखेको पाउडर ‘असाधारण’ तरिकाले दल्थे।

उनीहरूको अभिव्यिक्ति भलै हँसिमजाक थियो, तर त्यसले एउटा बालिकाको मनमा कति असर गथ्र्यो, त्यो कसैले सोचेनन्। अहिले पनि उनीहरूले यो कुरा सोचेका नहोलान्। कुनै ठाउँमा कसैका आफन्तले मलाई बाल्यकालमा भनेको जस्तै कुनै ‘कालो’ वर्णको बालक÷बालिकालाई त्यसरी नै प्रश्न गरिरहेका होलान्। र ती ‘काला’ बालक÷बालिकाहरू आफ्ना भाइबहिनी÷दाजुभाइसँग दाँजिएको पल आफू र आफ्नो जीवनलाई नै कालो वर्णको भएका कारण ‘अँध्यारो’ ठानिरहेका होलान्। तर, लेखक आहुतिले आफ्नो कवितामा भनेजस्तै,

‘कालोको अर्थ अँध्यारो होइन,

अँध्यारोको त कुनै रङ हुँदैन।

गोरो हुनु भनेको उज्यालो हुँदै होइन।’

-लेखक नेपाल ल क्याम्पसमा स्नातक अध्ययनरत छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.