नेताहरू आफ्नै अघिल्ला अध्याय गम्भीरतापूर्वक अध्ययन गरून्

नेताहरू आफ्नै अघिल्ला अध्याय गम्भीरतापूर्वक अध्ययन गरून्

झापाको धुलाबारीमा २०३६ सालमा जन्मेका निरोज कट्टेल एक दशकदेखि ‘गतिशीलताका लागि निरन्तर अध्ययन’ नामक मुल ध्येयसित सम्बद्ध छन्। कला, साहित्य, राजनीति, इतिहास, एवं सामाजिक जीवनका विविध आयाममा छलफल–बहस चलाउँदै आएका कट्टेल रिडर्स झापासित आबद्ध छन्। हुनलाई उनी सरकारी सुब्बा साहेब पनि हुन् तर उनको लेखपढसित सरकार–ई साइनो भने छैन। प्रस्तुत छ, उनीसितको पठन-वार्ता :

यहाँलाई फुर्सद कत्तिको हुन्छ ?

अफिस, घर, सामाजिक संघसंस्था एवं पारिवारिक जीवनमा आइपर्ने अनेकौँ काम गर्दागर्दै समय यसै बितिदिन्छ। फुर्सद एकदम कम हुन्छ तर पनि गर्नुपर्ने महत्वपूर्ण कामका लागि समय निकाल्ने गरेको छु।

के गर्नुहुन्छ फुर्सदमा ?

फुर्सदमा किताब पढ्दिनँ। किताब पढ्नलाई नियमित समय छुट्ट्याएको छु।

 पछिल्लोपटक पढेको किताब ?

गीताको यथारूप पहिलोपटक र कार्ल मार्क्स÷फेड्रिक ऐंगेल्सले लेखेको कम्युनिस्ट घोषणापत्रचाहिँ दोहोर्‍याएर पढेँ।

कस्तो लाग्यो ?

दुवै किताब मन पर्‍यो।

किन ?

दुवै किताबका आआफ्नै विशेषता छन्। गीता आध्यात्मिक दर्शनको एक महत्वपूर्ण कृति हो। पूर्वीय ज्ञान र चिन्तन प्रणालीमा अध्यात्मको स्थान किन यति धेरै शक्तिशाली भयो भन्ने बुझ्न पनि गीता पढ्नैपर्छ। गीताले आत्माको अमरता र भौतिक वस्तुसँगको सम्बन्धलाई व्याख्या गरेको छ। जीव तथा प्रकृति अनि काल र कर्मको पनि व्याख्या गरेको छ। कम्युनिस्ट पार्टीको घोषणापत्र संसारमा बाइबलपछि धेरै भाषामा छापिएको र धेरै मानिसले पढेको कृतिमध्ये एक हो।

एक सय ७१ वर्षअघि लेखिएको भए पनि अहिले पढ्दा पनि हाम्रै युगको व्याख्या गरिएजस्तो लाग्छ। पुँजीवादले निर्माण गरेको निजी स्वामित्वसम्बन्धी अवधारणाले वैश्विक परिवेशलाई कसरी नियन्त्रण गर्छ ? र पुँजीवादले धनी र गरिबीचको असमानता बढाउँदै लान्छ भन्ने व्याख्या अहिलेको वैश्विक व्यवस्थालाई हेर्दा पनि पुष्टि हुन्छ। यसले गर्दा पनि घोषणापत्रको सान्दर्भिकता अझ देखिन्छ। आध्यात्मिक दर्शन बुझ्न गीता र मानव समाजकोे सम्पूर्ण अवयव त्यसको भौतिक परिस्थतिले निर्माण गरेको हुन्छ भन्ने बुझ्न कम्युनिस्ट घोषणापत्र उपयुक्त छ। त्यसैले यी किताब मन पर्‍यो।

 तपाईंको सिरानीमा किताब ?

कहिलेकाहीँ रहन्छ। प्रायः कुर्सीमै बसेर पढ्छु।

हातमा भएको किताब ?

नेपालमा सहरीकरण एक विविध आयाम।

थाती राखेको किताब ?

बालकृष्ण पोखरेलको खस जातिको इतिहास

धेरैपल्ट पढेको किताब ?

केही किताब दोहोर्‍याएको छु तर सिँल्भा लेभीको (नेपाल) हिन्दू अधिराज्यको इतिहास भाग १ र २ चाहिँ किताब तेस्रो पटकसम्म पढेको छु।

 पहिलो (बच्चाको) किताब ?

अकबर र वीरबलको कथा

धेरैपल्ट उपहार दिएको किताब ?

साथीहरूलाई किताब उपहार दिनेभन्दा पनि फलानो किताब पढ्दा राम्रो भन्ने सल्लाह दिने गरेको छु। आजकाल छोरीहरूलाई किताब उपहार दिन्छु।

धेरैपल्ट उपहार पाएको किताब ?

त्यस्तो खासै छैन।

पढ्न मन लागेर नपाएको किताब ?

गृष्मबहादुर देवकोटाको नेपालको राजनीतिक दर्पण।

कहाँ किन्नुहुन्छ ?

कामविशेषले भारतका सहरहरू दिल्ली, कलकत्ता गएको बेला यता नपाइने किताब किनेर ल्याउँछु। अरू बेला त काठमाडांै गएको बेलामै किन्ने गरेको छु।

कुन समय धेरै किताब पढ्नुभयो ?

मैले कलेज जान छोडेपछि अलिक पढ्न थालेको हुँ। आफ्नै नेतृत्वमा झापाको धुलाबारीमा ५७÷५८ सालतिर सानो क्लब खोलिएको थियो। सोही क्लबले पुस्तकालय⁄वाचनालय सञ्चालन गरेको थियो। त्यति खेरदेखि अहिलेसम्म केही न केही पढिरहेकै छु। पछिल्लो एक दशकदेखि रिडर्स झापाले इतिहास, साहित्य, समाजशास्त्र, अर्थराजनीतिका विविध विषयमा अध्ययन शृंखला चलाउन थालेपछि अध्ययन अलिक गहकिलो बन्दै गएको हो र धेरै पढेको पनि हो।

मन परेको पुस्तकालय ?

पहिलोपटक महेन्द्र मोरङ कलेज विराटनगरको पुस्तकालय भव्य देखेको हुँ। आज पनि त्यो पुस्तकालय आँखामा आइरहन्छ।

पुस्तक समीक्षाहरू लेख्नुहुन्छ ?

झापाबाट प्रकाशित हुने स्थानीय पत्रिकाहरूमा कहिलेकाहीँ लेख्ने गर्छु।

पढ्दै गर्दा मन परेको, नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने, पन्ना दोबार्ने गर्नुहुन्छ कि ?

अन्डरलाइन नगरी त किताब पढेको जस्तै लाग्दैन। अन्डरलाइन गरेका विषयहरू डायरीमा सारेर राख्ने गर्छु।

अक्सर कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?

बिहान बेलुका घरमै पढ्छु।

 यहाँसँग भएको दुर्लभ पुस्तक ?

खासमा दुर्लभ किताब त छैन तर नरेन्द्रप्रसाद बाँस्तोलाको संस्मरण ‘पूर्वाञ्चलमा सात सालको क्रान्ति’ भन्ने पुस्तक छ। नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको सशस्त्र आन्दोलनको मेची अञ्चल कमान्डर भैरवप्रसाद आचार्य थिए। उक्त समूहमा रहेकामध्ये नरेन्द्रप्रसाद बास्तोला पनि मेची अञ्चलमा सक्रिय थिए। उनको उक्त संस्मरण कुनै चल्तीको प्रकाशकले नभएर लेखक आपैmंले प्रकाशित गरेका हुन्। पुस्तक पूर्वाञ्चलको तत्कालीन राजनीतिक र सामाजिक अवस्था बुझ्न उपयुक्त छ। खास गरेर नेपालको राजनीतिक आन्दोलनको अध्ययन र अनुसन्धान गर्ने अध्येताका लागि उपयुक्त छ। उक्त संस्मरण बजारमा किन्न नपाइने हुँदा मात्र दुर्लभ भनेको हुँ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?

उहाँहरूको जीवन आफैं पुस्तकजस्तै छ। तर पछिल्लो अध्याय पढ्दै गएपछि अघिल्लो अध्याय बिर्सेजस्तो गरिरहनुभएको छ। त्यसैले उहाँहरूलाई कुनै पुस्तक सिफरिस गर्नुभन्दा पनि आफ्नै जीवनका अघिल्ला अध्याय गम्भीरतापूर्वक अध्ययन गर्न सुझाव दिन्छु।

किनेको सबैभन्दा महँगो पुस्तक ?

पारिजातका संकलित रचनाहरू पच्चीस सय हालेर किनेको हुँ।

 बढ्ता होहल्ला भएको औसत पुस्तक ?

आत्मकथाका नाममा केही हावादारी किताबले नेपालको बजारमा चर्चा पाउँदैछन्। नाम लेख्दा धेरै होलान्।

कम होहल्ला भएको गज्जबको पुस्तक ?

त्यस्तो खासै छैन।

रोजाइमा कुन विधा ? साहित्य कि गैरसाहित्य ? आख्यान कि गैरआख्यान ?

आख्यान कम गैरआख्यान अलिक बेसी।

 कहिल्यै कुनै किताब चोर्नुभएको छ ?

साथीहरूसँग माग्दा नदिएको किताब केही त चोरियो पनि।

पढिसकेका किताब कसरी व्यवस्थापन गर्नुहुन्छ ?

किताबको र्‍याकमा खोजेको बेला भेट्ने गरी राख्छु।

किताबमा गाता हाल्नुभो ? अहिले पनि हाल्नुहुन्छ ? प्लास्टिक, पत्रिका वा कागजको ?

स्कुले जीवनका किताबमा बाहेक गाता हालिएन।

किताब मनमनै पढ्नुहुन्छ कि सस्वर ?

मनमनै।

भेट्न चाहिरहेको लेखक ?

खासै छैनन्।

लेखिरहेको पुस्तक ?

झापा विद्रोहमाथि किताब लेख्दै गरेको केही वर्ष भयो तर पूरा हुन केही वर्ष लाग्नेवाला छ।

लेख्न चाहिरहेको पुस्तक ?

कुनै समयमा जमिनमाथि निजी स्वामित्व भएका झापाका स्थानीय सतार, उराव, राजवंशी समुदायका धेरै मानिस विस्तारै चिया बगान, भौतिक निर्माणको क्षेत्र र कलकारखानाका ज्यालादारी मजदुरमा परिणत भएका छन्। यसको बहुआयामिक ढंगले अध्ययन गरेर पुस्तक लेख्न मन छ तर तर स्रोतसाधनको अभावले यो काम मुस्किल देखिरहेको छु।

झापा के पढिरहेको छ ?

झापा पहिला खुब पढ्थ्यो रे। तर आजकाल झापा ढुंगा, गिटी, बालुवा, ठेक्कापट्टा, अखण्ड पुराण, गौ पुराण एवं भ्यु टावरमा अल्झेको छ। त्यही भएर झापाले त्यति धेरै पढ्दैन। तर पनि युवामा क्रमशः आलोचनात्मक चेतका लागि पढ्नुपर्छ भन्ने भावना विकास हुँुदै गएको छ। त्यही भएर अलिअलि पढ्न थालेको भानचाहिँ हुन्छ।

किताबबारे कुनै एउटा रोचक घटना ?

माओवादीको आरोपमा शाही सेनाले पक्राउ गर्छ भन्ने डरले संकटकाल लागेको बेला धेरै मूल्यवान् किताब जमिनमुनि गाडियो। केही किताबका गातामा हनुमान चालिसा, चण्डी पुराण र भगवान्को फोटाका खोल हालियो पनि।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.