गोरखामा ठडिए सालिक

गोरखामा ठडिए सालिक

एक समय थियो, सालिक तोडफोड गर्ने। तिनताका पुरातत्व विभागलाई देशका सालिक जोगाउनै धौधौ थियो। युद्धरत तत्कालीन नेकपा माओवादीले जिल्ला जिल्लाका विशेषगरी शाहवंशीय सालिकहरू धमाधम ढालेका थिए।

गोरखाकै पनि नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको अनावरण नै नभएको सालिक तोडफोड भयो। गोरखा दरबारको पश्चिमतर्फ धर्मचौतारामा रहेको राम शाहको सालिक पनि ढालियो।

ती नमिठो अतीतलाई मेटाउँदै अहिले धमाधम तोडफोड भएका सालिकहरू ब्यूँताउने अभियान सुरु भएको छ। पुरातत्व विभाग, स्थानीय सरकार तथा सामाजिक संघसंस्थाले ऐतिहासिक विभूतिका सालिकहरू धमाधम ब्यूँताउन र जगाउन थालेका हुन्।

पर्यटन विकाससँग जोडेर वा ऐतिहासिक, पुरातातात्विक धरोहरको संरक्षण गर्ने उद्देश्यले ती सालिकहरू स्थापना, पुनःस्थापना गर्न थालिएको हो। गोरखा सदरमुकाममा केही समययता छवटा सालिक स्थापना गरिसकिएको छ। अझै केही अनावरणको चरणमा छन्।

गोरखा बजारको रानीपोखरी परिसरमा पृथ्वीपति शाहको अर्धकदको सालिक छ। राम शाहद्वारा विक्रम संवत् १६९३ मा निर्माण भएको रामेश्वर महादेव मन्दिरअगाडि पृथ्वीपति शाह आफैंले विक्रम संवत् १७३७ मा आफ्नो सालिक निर्माण गरेका हुन्।

पृथ्वीपति शाह नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका जिजुहजुरबुवा हुन्। उनले १७३४ देखि १७७३ सालसम्म गोरखाको राजकाज सम्हालेका थिए। सो सालिक रहेको करिब ५० फिटभन्दा अग्लो स्तम्भ एउटै ढुंगाले बनेको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी बताउँछन्।

द्वन्द्वकालमा ढले-ढालेका सालिक धमाधम उठाइँदै, थप्दै। गोरखा सदरमुकाममा केही समययता छवटा सालिक ठड्याइसकिएको छ। अझै केही अनावरणको चरणमा छन्।

उनको सालिकसँगै गुम्बज शैलीको रामेश्वर महादेव मन्दिर, पुष्करतीर्थ, छाने शैलीको मुरलीधर नारायण मन्दिर, शिखर शैलीको गणेश मन्दिर छन्। यी सबै धार्मिक स्थल राजा राम शाहले निर्माण गरेको स्थानीय नारायणभक्त अर्याल बताउँछन्। यस क्षेत्रमा ठूलो चौर रहेकाले बेलाबेला आमसभा, सम्मेलन, मेला, महोत्सव आयोजना पनि यहाँ हुने गरेको छ। विवाह, व्रतबन्ध लगायतका कर्म पनि हुने गरेकाले यहाँ धार्मिक एवं विविध खाले पर्यटनको सम्भावना प्रचुर छ।

गोरखा संग्रहालय परिसरमा रहेको गोरखा पार्कमा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छ। गोरखा दरबार परियोजना लागू भएपछि निर्माण गरिएको नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सालिक माओवादी युद्धकालमा तोडफोड भएको थियो। शान्ति प्रक्रियापछि पुनर्निर्माण भएको सो सालिक माओवादी सिफारिसमा पर्यटन मन्त्री बनेका रामकुमार श्रेष्ठले २०६९ सालमा अनावरण गरेका हुन्।

गोरखाका राजा भनेर प्रसिद्ध भए पनि जिल्लामै यो उनको एक मात्र सालिक हो। उनले विक्रम संवत् १७९९ देखि १८०१ सम्म गोरखा राज्यको राजकाज चलाएका थिए। उनले १८०१ मा राजधानी नुवाकोट र १८२५ मा काठमाडौं सारेका थिए। उनले १८२५ देखि १८३१ सम्म नेपालमा राज्य गरेको इतिहास पाइन्छ।

अवलोकन भ्रमणका क्रममा गोरखा आइपुगेका जोकोहीले गोरखाको चिनोको रूपमा संग्रह गर्न पृथ्वीनारायण शाहको सालिकसँग तस्बिर खिचाउन बिर्संदैनन्। सो सालिकका कारण पर्यटनमा टेवा पुगेको विश्वास लिन सकिन्छ।

गोरखाको पस्लाङ चौतारामा द्रव्य शाहको सालिक स्थापना गरिएको छ। वि.सं. १६१६ भदौ २५ गते बिहान घाम झुल्किँदाको समयमा नारायणदास अज्र्यालबाट सोही चौतारामा द्रव्य शाहको राज्याभिषेक गरी गोरखा राज्य स्थापना गरिएको थियो। त्यसयता नेपालमा शाहवंशीय राजाको उदय भएको मानिन्छ। उनको राज्याभिषेक भएको ठाउँमा गोरखा उद्योग वाणिज्य संघले २०७५ सालमा सालिक निर्माण गरेको हो।

लमजुङका राजकुमार द्रव्य शाह दौडेर लिगलिगको राजा भएपछि गणेश पाण्डे, नारायणदास अज्र्यालहरूकै सहयोगमा गोरखाको राजा भएको इतिहास छ। उनले विसं १६१६ देखि विसं १६२७ सम्म गोरखामा राज्य सञ्चालन गरेका थिए।

दौडेर राजा भएको सम्झनामा हरेक गोरखा महोत्सवमा यहीँबाट गोरखा दौड सुरु हुने गर्छ। एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत गोरखा उद्योग वाणिज्य संघले पस्लाङ गाउँमा होमस्टे सञ्चालन गरेको छ। चार सय वर्ष पहिलेका राजा द्रव्य शाहको सो सालिकले यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ।

गोरखा दरबारको पश्चिमतर्फ पञ्चे चौतारामा राम शाहको सालिक छ। देशकाल सुहाउँदो थिति बाँधेर न्यायका प्रतिमूर्ति कहलाएका राम शाहले विसं १६७१ देखि विसं १६९३ सालसम्म गोरखामा राज्य गरेको इतिहास छ।

उनको अर्धकदको सालिक गोरखा दरबार परियोजना सुरु भएपछि (विसं २०४२ पछि) निर्माण गरिएको हो। उनको सालिकको सामुन्ने धर्मचौतारा पनि छ। उनले यहीँ रहेर सभा गर्ने, न्याय सम्पादन गर्ने गरेको इतिहासमा पाइन्छ। माना, पाथी, ढक, तराजुको व्यवस्था गरेर लोकप्रिय भएका राजा राम शाहको इतिहासको चासो राख्नेहरू उनको सालिकको अवलोकन गर्न यहाँ पुग्ने गर्छन्।

नगर्चीहरूको आदि थलो पोखराथोकमा बिसे नगर्चीको सालिक राखिएको छ। पर्यटन विकास गर्ने कार्यक्रमअन्तर्गत गोरखा नगरपालिकाको सहयोगमा विसे नगर्ची स्मृति प्रतिष्ठानद्वारा ऐतिहासिक व्यक्तित्व बिसे नगर्चीको सालिक स्थापना गरिएको हो। नेपाली एकीकरण अभियानमा निस्कनुअघि पृथ्वीनारायण शाहलाई एक रुपैयाँ दिएर अर्थ संकलनको मोडल सिकाएको भनेर बिसे नचर्गी इतिहासमा चर्चित छन्।

उनको सालिकसहित सो ठाउँमा नगरपालिकाले स्मृति पार्कको प्रारूप पनि तयार गरेको जनाएको छ। सोही क्षेत्रमा हालसम्मको विश्वकै सबैभन्दा अग्लो २५ फिट अग्लो गोरखनाथको सालिक निर्माण गर्ने योजनामा गोरखा नगरपालिका रहेको नगरपालिकाका मेयर राजनराज पन्त बताउँछन्।

यी दुई सालिकका कारण पर्यटकहरू यस क्षेत्रमा आउने सम्भावना प्रबल रहेको उनी बताउँछन्। गोरखा अस्पताल मार्गमा प्रथम सहिद लखन थापाको सालिक छ। उनको अर्ध कदको सो सालिक नेपाल मगर संघले स्थापना गरेको हो।

लखन थापाको सो सालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरेका हुन्। निरङ्कुश जहानियाँ राणा शासन अन्त्यका लागि पहिलो पटक योजना बुनेको आरोपमा शहीद लखन गाउँपालिका-७, काउले भँगारका लखन थापा र उनका सहयोद्धा जैसिङ चुमी मगरलाई खिर्राको रूपमा झुन्ड्याएर मृत्युदण्ड दिएको इतिहासमा उल्लेख छ। गोरखा सदरमुकामबाट काउलेभँगार जाने बाटोको आरम्भ स्थलमा सो सालिक अवस्थित छ। सो सालिकका कारण इतिहास अध्ययन गर्न चाहने पर्यटक वृद्धि हुने विश्वास गरिएको छ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको सालिक उनकै जन्मस्थल पीपलथोकस्थित भीमसेन पार्कमा स्थापना गरिएको छ। गोरखा नगरपालिका-४, पीपलथोकमा स्थापना भएको यो सालिकले गोरखाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने मेयर राजनराज पन्तको भनाइ छ। पर्यटन विकास गर्ने उद्देश्यले यहाँ यसअघि नै भीमसेन पार्क निर्माण गरिएको थियो।

गोरखा सदरमुकामको विकास ऐतिहासिक र धार्मिक पर्यटनबाट सम्भव हुने महसुस गरेर यी सबै सालिकलाई जोड्ने गरी पर्यटन पदमार्ग बनाएर पर्यटन विकास गर्ने योजना मेयर पन्त सुनाउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.