त्यो समय

त्यो समय

आजभन्दा ४३ वर्षअघि डिसेम्बर ३०, १९७६ (पुस १६, २०३३) को बिहान पटनाबाट एउटा हवाईजहाज काठमाण्डूमा अवतरण ग‍र्‍यो। चिसो न चिसो, अनि डम्मै कुहिरो लागेको बिहानी वातावरणलाई चिर्दै ओर्लेको त्यो विमानले नेपालको राजनीतिक वातावरणचाहिँ मज्जैले ततायो। र, सम्भवतः त्यही उष्णताले गर्दा लोकतन्त्रको बीजांकुरित भयो, मुना पलायो।

त्यो जहाजमा सवार थिए नेपाली राजनीतिका दुई शिखर पुरुष बीपी कोइराला र गणेशमान सिंह। भारतमा राजनीतिक शरणार्थीको जीवन बिताएर आफ्ना केही साथीसँग उनीहरू आठ वर्षपछि पहिलो पटक मातृभूमि फर्कंदै थिए। उनीहरूउपर थुप्रै संगीन अपराधका आरोप थिए, जुन प्रमाणित भएमा उनीहरूलाई फाँसी हुन्थ्यो। अनि, पञ्चहरूले त्यही चाहेका र जोडतोडले माग गरिरहेका थिए। तर, जे होला सो होला भन्दै उनीहरू जीवन दाउमा राखेर अँध्यारोमा हाम फालेका थिए।

महेन्द्रले सन् १९६० मा बलात् खोसेको जनतन्त्र पुनःस्थापन गर्न सकिन्छ कि भनेर बीपीहरू निर्वासनमा गएका हुन्। सन् १९६० देखि आठ वर्ष जेलमा बिताएर छुटेलगत्तैजसो उनीहरू भारततर्फ लागेका थिए। तर, उनीहरू जे सोचेर भारत गएका थिए, त्यो भएन। उनीहरूका सबै प्रयत्न (शान्तिपूर्ण हुन् वा हिंसात्मक) राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिका कारण असफल भए।

बीपीहरू निर्वासनमा जाँदा इन्दिरा गान्धी भर्खर-भर्खर प्रधानमन्त्री भएकी थिइन्। जसरी भारतमा अहिले दोस्रो पटक चुनाव जितेपछि नरेन्द्र मोदीमा मदान्धता देखिएको छ, त्यसैगरी त्यतिखेर इन्दिरा गान्धी पनि बिस्तारै मदोन्मत्त हुन थालेकी थिइन्। अर्को निवार्चनमा पनि विजयी भइसकेपछि त झन् उनमा एकछत्र शासन गर्ने रहर जागेको थियो। 
आफ्नो मुलुक मात्रै होइन, छिमेकी मुलुकतर्फ पनि उनले आँखा गाडेकी थिइन्। यही घटनाक्रमको सिलसिलामा सन् १९७१ मा बंगलादेशको जन्म भएको थियो। त्यसको दुई वर्षपछि सिक्किमउपर इन्दिरा गान्धीले आक्रमण गरेकी थिइन्। सन् १९७५ मा औपचारिक रूपमै भारतको २२औं राज्य घोषणा गरिएपछि सिक्किमले आफ्नो स्वतन्त्रता सदाका लागि गुमाएको थियो।

यी घटनाक्रमलाई नजिकबाट नियालिरहेका बीपी र उनका सहयात्रीले गुमेको जनतन्त्र फिर्ता ल्याउन त परै जाओस्, आफ्नै मुलुकको स्वतन्त्रता पो गुम्ने हो कि भन्ने भय देखे। खास गरी रोगले गाँजिएको बिरामी शरीर बोकेका बीपीलाई मर्नै परे अर्काको मुलुकमा शरणार्थी भएर र आफ्नो मुलुकको स्वतन्त्रता खोसिएको टुलुटुलु हेरेर बिस्तारै बिस्तारै मर्नुभन्दा मुलुकभित्रै गएर स्वदेशी दुश्मनकै हातबाट मरूँ भन्ने लागेको देखिन्छ।

 सकिन्छ- सम्झाएर, बुझाएर र हात मिलाएर साझा दुश्मनलाई परास्त गरौं; सकिँदैन- जहाँ बसे पनि आखिर मर्नु त छँदै छ भन्ने सोच उनीहरूमा पलाएको बुझिन्छ। त्यसैले सबै कुरा बिर्सेर आफ्नो परम शत्रु राजसंस्थासँग राष्ट्रहितका खातिर लत्रिएर, एक हिसाबले त्वं शरणम् गर्दै ‘राष्ट्रिय एकता र मेलमिलाप’को नारासाथ बीपी-गणेशमान नेपाल फर्किए, यहीँ अन्तिम प्रयत्न गरौं भनेर।

उनीहरू नेपाल फर्किएपछि कथम् बीपी र नेपाली कांग्रेसले नेपाली राजनीतिमा ‘स्पेस’ पाइहाल्छन् कि भन्ठानेर सत्तामा हालिमुहाली चलाएर बसेका पञ्चहरूलाई औडाहा भयो। सबै छोटे-बडे पञ्चहरू ‘मेलमिलाप’लाई ‘सेबोटाज’ गर्न लागिपरे, फाँसी देऊ भन्दै सडक-सदन तताए- चाहे ती कथित ‘राष्ट्रवादी’ मूल पञ्च कीर्तिनिधि विष्ट होऊन् वा कथित ‘उदारवादी’ बडे पञ्च सूर्यबहादुर थापा।

अरू त अरू, सरकारी हन्डीमा हुर्केका पत्रिकाहरू सामान्य मूल्यमान्यता बिर्सेर बीपी र कांग्रेसमाथि आक्रमणमा उत्रिए। त्यसरी बीपीलाई सत्तोसराप गर्नेमध्ये एक थिए, रमेशनाथ पाण्डे र उनको पत्रिका ‘नयाँ सन्देश’, जो बहुदल आइसकेपछि रङ बदलेर आफूलाई बीपीको ‘प्रमुख विश्वासपात्र’का रूपमा चिनाउँदै हिँडे, अद्यापि हिँड्दैछन्।

बीपी-गणेशमान नेपाल फर्किएलगत्तै घटनाक्रममा फटाफट नाटकीय परिवर्तन भयो, जुन उनीहरूको कल्पनाभन्दा बाहिरको कुरा थियो। अजेय देखिएकी इन्दिरा गान्धीलाई अदालती निर्णयले अप्रत्याशित झड्का लागेको थियो। उनको लोकसभा सदस्यको निर्वाचनलाई चुनौती दिँदै राजनारायणले दायर गरेको मुद्दाको फैसलामा अदालतले इन्दिरालाई हराइदियो। उनको लोकसभा सदस्य निर्वाचनलाई अवैध तुल्याइदियो। त्यसपछि उनी आपत् काल घोषणा गरेर रणचण्डी बनिन्।

यो सब देखेभोगेका बीपी-गणेशमानहरू डिसेम्बर (१९७६)को अन्त्यमा नेपाल फर्किए। तर त्यसको तीन हप्तापछि नै भारतमा लोकसभाको नयाँ निर्वाचनको मिति घोषणा भयो। मार्च महिना (१९७७)मा सम्पन्न निर्वाचनमा जनगणले इन्दिरा गान्धीलाई, उनको दललाई लोप्पा ख्वाइदिए। बीपीलाई माया गर्नेहरू, उनका नजिकका मित्रहरू भारतमा सत्तामा पुगे। जनता पार्टीको नेतृत्वमा सरकार बन्यो। त्यसको प्रभाव नेपालको राजनीतिमा पनि प‍र्‍यो। सम्भवतः पञ्चहरूले बीपीहरूलाई फाँसीमा चढाएरै चैन लिन्थे होलान्, तर भारतमा आएको परिवर्तनले गर्दा उनीहरूको ज्यानै लिने हिम्मतचाहिँ गर्न सकेनन्। बीपी-गणेशमानहरू बाँचे।

जम्माजम्मी ६ महिनाभन्दा कम समयमा यी सबै परिवर्तन भएका थिए। यी परिवर्तनको मिहिन अभिलेख राखेका छन् ईश्वर बरालले। नेपालको पहिलो पुस्ताका मूर्धन्य साहित्यिक समालोचक र इतिहासकारमध्येका एक ईश्वर बराललाई नचिन्ने नेपाली साहित्यमा रुचि राख्नेहरू कमै होलान्। प्रजातन्त्रको पुनःस्थापनापछि उनी प्रज्ञा-प्रतिष्ठानको उपकुलपतिसमेत भएका थिए। तर धेरैलाई थाहा नहुने कुरा के हो भने यिनै ईश्वर (यिनको अफिसियल नाम एल.एस. बराल हो) जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापकसमेत थिए। र, उनले पञ्चायत कालमा लेखेका प्राज्ञिक लेखहरू नेपालको पञ्चायती व्यवस्थाका विभिन्न पहलु जान्न, पञ्चायतले कसरी काम गथ्र्यो भनेर बुझ्न निकै उपयोगी छन्।

बीपी-गणेशमानको नेपाल आगमनपछिको घटनावलीको सिलसिलेवार चर्चा गर्ने ईश्वर बराल लिखित यो लामो रिपोर्ट आफ्नो समयको प्रभावशाली भारतीय हिन्दी म्यागेजिन ‘दिनमान’ साप्ताहिकमा छापिएको थियो। नेपालसम्बन्धी राजनीतिक समाचार भएकाले अरू बेलामा झैं दिनमानको यो अंक पनि नेपालमा बेच्न निषेध गरिएको थियो।

दिनमानमा छापिएको सोही ६ पेज लामो रिपोर्टको अनुवाद तपाईंहरूसामु प्रस्तुत छ। यो जस्ताको तस्तै अनुवाद होइन। धेरै हदसम्म भावानुवाद पनि हो। स्थानाभावले गर्दा रिपोर्टलाई ठाउँठाउँमा छोट्ट्याइएको छ, जसले गर्दा केही महत्वपूर्ण सूचना, जानकारी र विश्लेषण छुटेका पनि छन्।

यो रिपोर्टले नेपाली राजनीति र कमोबेसी भारतीय राजनीति पनि, बुझ्न चाहनेलाई त सघाउँछ नै; खासगरी राष्ट्रिय मेलमिलाप र त्यसको तात्कालिक सन्दर्भबारे बुझ्न यसले मद्दत गर्छ। त्यस्तै पञ्च, पञ्चायत र पत्रकारिताबारे पनि यसले थोरै शब्दमा धेरै कुरा बताउँछ। अझ मूल कुरा त बीपीले अदालतमा दिएको बयान नै हो।

राज्य र शासन व्यवस्था निरंकुश हुँदा त्यसलाई परिवर्तन गर्न प्रयत्न गर्न पाउने जनताको सर्वोपरि अधिकारको उनले वकालत गरेका छन्। दोस्रो अत्यन्त गहन कुरा उनले गरेका छन्- जिम्मेवारीको, जवाफदेहिताको। आफ्नो प्रत्यक्ष संलग्नता नभए पनि आफ्नो अभिप्रेरणाले कसैले कुनै गतिविधि गरेको छ भने त्यसको नैतिक जिम्मेवारी आफ्नो भएको उनले उद्घोष गरेका छन्। चानचुने कुरा होइन यो। सारा राज्यव्यवस्था उनीहरूको ज्यान लिन उद्यत थियो। यो बुझेरै पनि उनीहरू भनिरहेका थिए- हो, नैतिक जिम्मेवारी हाम्रै हो। ज्यान लिन्छौ, लेऊ।

उनका अभिव्यक्तिलाई यो कालखण्डका नेतासँग, तिनका अभिव्यक्तिसँग दाँजेर हेरौं। कति पुड्का, कति निम्छरा देखिन्छन् हाम्रा अहिलेका नेताहरू !

(पराजुलीले प्रत्यूष वन्तसँग मिलेर ईश्वर (एल.एस.) बराल लिखित पुस्तक ‘अटोक्र्याटिक मोनार्की ः पोलिटिक्स इन पञ्चायत नेपाल’ सम्पादन गरेका छन्। यो पुस्तक अन्नपूर्ण पोस्ट् (फुर्सद)ले गरेको नन फिक्सन पुस्तक सर्वेक्षणमा पनि छानिएको थियो।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.