किशोर स्मृति

किशोर स्मृति

नेपाली साहित्यमा कथा, निबन्ध र कवितामा कलम चलाउने विजय सापकोटाको कलम बालसाहित्य र किशोर साहित्यमा पनि चलिरहेको छ। गाउँ खोज्दै जाँदा, काभ्रेली नेपाली साहित्यको रूपरेखा, अनावरण र आमाको माया गरी चारवटा पुस्तक प्रकाशित भइसकेका छन्। उनको पाचौं पुस्तकका रूपमा किशोर उपन्यास उडान आएको छ।

नेपाली किशोरकिशोरीका समस्या, भावना र मनोविज्ञानमा आधारित रहेर किशोरकिशोरीको उमेरजन्य समस्याका साथमा केही शैक्षिक, सामाजिक, सांस्कृतिक अनि व्यावहारिक विषयवस्तु उपन्यासमा समेटिएको छ। त्यसैगरी प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गरी किशोरकिशोरीको शोषण हुने गरेको सन्दर्भलाई पनि उपन्यासमा प्रस्तुत गरिएको छ।

किशोरहरूका लागि अति नै न्यून मात्रामा किताब प्रकाशित भइरहेको सन्दर्भमा यो अभावलाई पूर्ति गर्न ‘उडान’ उपन्यास सफल हुनेमा दुई मत नहोला। नेपालमा प्रौढ साहित्य र बालसाहित्यका धेरै पुस्तक प्रकाशित छन् तर किशोर साहित्यको खडेरी नै परेको बेलामा विजय सापकोटाले लेखेको यो उडानले केही हदसम्म भए पनि परिपूर्ति गरेको महसुस भएको छ।

बालबालिकाको उमेर बढ्दै जाँदा शारीरिक रूपमा परिवर्तन हुन्छ, त्यसबारे उचित ज्ञानको अभावमा गलत बाटोमा लागेका धेरै छन्। उनीहरूका लागि उचित शिक्षा दिनु जरुरी हुन्छ। यस मामलामा विजय निकै सचेत छन्। उनी नेपालमा रहँदा पनि शिक्षण पेसामा थिए, बालबालिकाका क्षेत्रमा काम गरिरहे। नेपाली साहित्यमा सानैदेखि निरन्तर लागिरहे। यसकारण पनि उनले बालमनोविज्ञान राम्ररी जाने बुझेका छन्। उनी कुनै पनि काम हचुवामा गर्दैनन्। हाम्रो समाज, संस्कारको परिधिमा रहेर उचित ज्ञान हासिल गर्ने सुझबुझका साथ कलम चलाउने गर्छन्। चाहे त्यो किशोर साहित्य होस् या प्रौढ साहित्य अथवा बालसाहित्य, उनको कलम जहिले पनि सचेत हुन्छ।

उनले किशोर साहित्यमा केही भए पनि नयाँ प्रयास गरेका छन्। केही मान्छे झुक्किन पनि सक्छन्, अलमलिन सक्छन्, किशोर साहित्य केका लागि ? स्कुल पढ्ने बेलामा उपन्यास पढे उनीहरू कसरी परीक्षामा पास होलान् ? यी आदि कुरा आउन सक्छन्। तर तिनीहरूको समाधान नै यो उडान हुनेछ भन्ने मलाई लाग्छ। सानोमा बच्चाहरू म यो बन्छु, त्यो बन्छु भन्छन् तर उमेर बढ्दै गएपछि उनीहरूका इच्छा पनि मोडिन्छन्। ती इच्छा आकांक्षालाई सही बाटो पहिल्याउनका लागि स्कुले शिक्षाले सम्भव नहोला कि भन्ने कुरा हो। उनीहरूलाई सही बाटो देखाउन एउटा योग्य शिक्षकको भूमिका कस्तो हुँदो रहेछ भन्ने कुरा उडान पढेपछि थाहा हुन्छ।

मलाई लाग्छ, यो उपन्यास किशोरकिशोरीले भन्दा उनीहरूका अभिभावकले पहिले पढेर अनि आफ्ना बच्चाहरूलाई पढाउनुपर्छ भन्ने लाग्छ। हामीले सानामा भोगेका कुरा र अहिलेका बालबालिकाले भोग्ने कुराहरू मिल्दैनन्। अहिले टीभी, मोबाइललगायत थुप्रै चिज छन् बच्चा अलमल्याउन। यस्ता विकृतिहरूलाई निस्तेज बनाएर पढ्न संस्कृतिलाई नियमित बनाइराख्न पनि उडान पढ्नुपर्छ भन्ने लाग्छ। उडानमा लेखकले आफ्नो किशोर अवस्थाका यादहरूलाई उपन्यासमा व्यक्त गरेको हो कि भन्ने पर्न सक्छ नै, तर उनको किशोर अवस्था र अहिलेका किशोरहरूको अवस्थामा धेरै अन्तर छ। बोलीचालीको भाषा, प्रविधि र सञ्चारको विकासका साथै हामी टुकी बालेर पढ्थ्यौं, अहिले झलमल बत्ती बलेका छन्, हामीले ठूलो भएपछि मात्र मोटर गाडीहरू देख्यौं, अहिले गाउँ गाउँमै मोटर गाडीहरू पुगेका छन्। यसले गर्दा उनीहरूको चाहना पनि समयअनुसार बढ्नु राम्रै कुरा हो।

उपन्यासमा मूलतः ग्रामीण जीवनसँग पात्र जोडिएका छन्। पढाइमा कम र फिल्ममा ध्यान बढी दिएर हिरोइन बन्ने सोख राख्ने साथी कसरी गलत मान्छेको संगतमा परेर जीवन बरबाद हुनबाट बच्न सफल हुन्छ र उसको त्यस्तो पात्रलाई सजिलै पुलिसको खोरमा पु¥याउन सफल हुन्छ। यसको सबै भूमिका भने उपन्यासकी मुख्य नायिका गरिमाको हुन्छ। र, उनीहरू स्कुलमा पुरस्कृत हुन्छन्। गरिमा पनि उसको कुराले एक पटक त निकै उत्साहित भएकी थिई।

फिल्म हेर्ने, नयाँ नयाँ स्टाइलका कपडाहरू लगाउने र नयाँ स्मार्ट फोन बोक्ने उसको चाहनालाई बाँधेर राखेकी थिई। आमाले छोरीको आवश्यकता पूरा गर्न सकेकी थिइनन्, बाबु मजदुरी गर्न खाडीमा पसिना बगाउँदै थिए। तर कता कताबाट गरिमा पुनः पहिलेजस्तै बनिन्। उनको यो भूमिकाले उपन्यासको सकारात्मक पाटोले किशोरकिशोरीको उडान सफलताका साथ ल्यान्ड भएको देखिन्छ। यस मानेमा पनि लेखक निकै सचेत भएको स्पष्ट हुन्छ। किशोर साहित्यमा निराशाजनक कुराहरूलाई कहिल्यै पनि प्रोत्साहन गर्नु हुँदैन। उनीहरूलाई त सधैं आशावादी बनाउन सक्नु नै उपन्यासको मूल अभीष्ट हो, यसमा लेखक सफल देखिन्छन्।

स्कुलमा कोर्समात्र पढाएर घोकन्ते शिक्षामा जोड दिन नहुने र एउटा सकारात्मक विचार भएका शिक्षकशिक्षिकाले कसरी विद्यार्थीलाई सही मार्गमा लैजान्छन् भन्ने कुरा नवीन सर र कविता मिसका कुराबाट थाहा पाइन्छ। यसले गर्दा किशोरकिशोरीको चुलबुलिएको मन एकीकृत भएको छ। र, राम्रो नराम्रो छुट्याउन सक्ने भएका छन्। हेरौं एउटा अंश— अब तिमीहरू ठूला भइसक्यौ। तिमीहरूलाई म खुलस्त भन्छु है त। हेर, यौन दुव्र्यवहार भनेको बलात्कार गर्नुमात्र होइन। कसैले तिमीलाई यौनजन्य शब्दहरू बोलेर सताउँछ भने त्यो पनि यौन दुव्र्यवहार हो। यतिमात्र होइन, कसैले तिम्रो अनुमतिबिना तिमीलाई अँगालो हाल्छ, म्वाइँ खान्छ अथवा तिम्रो जीउमा सुम्सुम्याउँछ भने त्यो पनि यौन दुव्र्यवहार हो। त्यसैले यौन दुव्र्यवहार भनेको तिम्रा गोप्य अंगहरू कसैले छुनु, अथवा त्यो नियतले चलाउनुमात्रै होइन।

यसकारण पनि यस्ता किशोर साहित्यको खाँचो छ नेपाली साहित्यमा। हुन त लेखक विजय आफैं किशोरकिशोरीका विज्ञ त होइनन् तर लामो समयदेखि यही क्षेत्रमा काम गरेको अनुभव र नेपाली समाज, नेपाली साहित्यका बारेमा करिब अढाई दशकदेखि निरन्तर चिन्तनमा रहेका साहित्यिक, शैक्षिक योद्धा नै भन्दा पनि हुन्छ उनलाई। यसैको फल हो यो उडान। यस्ता कृतिलाई पाठ्यक्रममा समावेश गर्न सकिन्छ, यसतर्फ सरोकार पक्षको पनि ध्यान जानुपर्ने देखिन्छ। प्रस्तुत पुस्तक शाब्दिक बुक्सले प्रकाशन गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.