विप्लव पूर्वी कमाण्ड इन्चार्ज उमा भुजेल पक्राउ
धरान : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पूर्वी कमाण्ड इन्चार्ज उमा भुजेल र झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेल पक्राउ परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शेरेचोकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। को ३६ प ६३३५ नम्बरको स्कुटीमा सवार उनीहरु पक्राउ परेका हुन्।
गोर्खा घर भएकी ४१ वर्षीया भुजेल र झापा दमक नगरपालिका २ घर भएका ३० वर्षीय पौडेलले प्रदेश १ का विभिन्न जिल्लामा चन्दा आत्तंक, बम विस्फोट गराई सर्वसाधारणलाई आतंकित पार्न सकिएको भएको सुनसरीका प्रहरी पमुख एसपी यज्ञविनोद पोखरेलले बताए।
पक्राउ परेकाको साथबाट एकथान रिभल्वर पेस्तोल, पाँचथान गोली र स्कथान स्कुटी बरामद गरिएको उनले जानकारी दिए। दुबैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको एसपी पोखरेलले बताए। प्रहरीले आइतबार जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारबही अगाडि बढाउने बताएको छ।
सुनसरीको भरौलबाट अत्याधुनिक हतियार एसएमजी र ९ हजार ९ सय ८२ थान गोली बरामत गरेको थियो। तत्कालीन माओवादीले सेना समायोजन हुनु अगाडि जमिन मुनि गाडेको हतियार फेला पारेपछी विप्लव कार्यकर्ता बराहक्षेत्र प्रवेश गरेको सूचना पाएपछि प्रहरी सक्रिय भएको थियो।
विप्लवका पूर्वी कमाण्ड इन्चार्ज र झापा इन्चार्ज पक्राउ गरेपछी प्रहरीले अन्य कार्यकर्ताको समेत पहिचान गरेर पक्राउ गर्नका लागि प्रदेश १ का १४ वटै जिल्लामा व्यापक प्रहरी परिचालन गरेको छ।