दुर्घटना बढेपछि हुलाकी सडकमा ट्राफिक पोष्ट
धनगढी : हुलाकी सडकमा दुर्घटना बढेपछि ट्राफिक पोष्ट स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी ट्राफिक पोष्टको स्थापना गरिएको हो ।
ट्राफिक पोष्टको उद्घाटन सुदूरपश्चिम प्रदेशका सांसद नेपालु चौधरीले गरेका हुन् । हुलाकी सडकमा दैनिक दुर्घटना हुने गरेपछि ट्राफिक पोष्ट राखिएको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख सरोजकुमार ठकुराठीले बताए । ‘हुलाकी राजमार्गमा ओभर स्पिडले गर्दा दैनिक दुर्घटना हुने गरेका छन्’ उनले भने, ‘ट्राफिकको सानो प्रयासबाट अस्थायी पोष्ट स्थापना गरिएकाले दुर्घटना न्युनीकरणमा सहयोग पुग्ने छ ।’
अस्थायी ट्राफिक पोष्ट स्थापना भएको क्षेत्र धनगढीबाट ३० किलोमिटर टाढा पर्छ । अस्थायी ट्राफिक पोष्टमा हवल्दारको नेतृत्वमा दुईजना प्रहरी कार्यरत रहने ट्राफिक प्रमुख ठकुराठीले जानकारी दिए ।