जयवागेश्वरीमा सर्वसाधारणलाई रोक
काठमाडौं : जयवागेश्वरी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ। मन्दिर भत्काउन अवरोध गरेको भन्दै मन्दिर परिसरमा प्रवेश निषेध गरिएको हो। एक साताअघि मन्दिरभित्रको अर्को मन्दिरको भित्तामा प्राचीन भित्तेचित्र भेटिएको थियो।
भित्तेचित्र भत्काउन स्थानीयले अवरोध गरेको भन्दै पुरातत्व विभागले मन्दिरको ढोका बन्द गरेको हो। ७२ को भूकम्पपछि उक्त मन्दिरको गजुरलाई सबैभन्दा बढी असर पुगेको थियो। पुननिर्माणका लागि मन्दिर भत्काउन मन्दिर परिसर वरवर जस्तापाताले घेरिएको छ। यो मन्दिर विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रभित्र पर्छ। भेटिएको भित्तेचित्र माटोले बनेको गाह्रोमा अवस्थित छ। विभागले मन्दिर भत्काउने क्रममा सो चित्रसमेत नष्ट पार्दैछ। उक्त भित्ता कमजोर अवस्थामा भएकाले सोही ठाउँमा राखेर पुनर्निर्माण गर्न नसक्ने विभागले बताएको छ। प्राचीन चित्रलाई संरक्षण गर्न नयाँ बनाइने मन्दिर सोही पेन्टिङ गरिने विभागले निर्णय गरेको छ।
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव तथा संस्कृतिविद् डा. गोविन्द टण्डन ऐतिहासिक महत्वको उक्त भित्तेचित्र सोही ठाउँमा संरक्षण गर्नुपर्ने बताउँछन्। ‘पुरातात्विक महत्वको चित्र मासेर नयाँ बनाउनुको कुनै अर्थ छैन’, उनले भने, ‘पुरानो भित्तेचित्रलाई सोही ठाउँमा राखेर नयाँ मन्दिर बनाउन सक्ने प्रविधि छ। त्यस विधिलाई प्रयोग गर्नुपर्छ।’ मन्दिरको इतिहास नै मेटिने गरी संरचना भत्काउने कार्य ठिक नभएको उनले बताए।
स्थानीय तथा मन्दिरका मूलपुजारी मृत्युञ्जय कर्माचार्यका अनुसार उक्त भित्ता धरापमा रहेको भन्दै पुरातत्वले भत्काउन लागेको छ। कर्माचार्य भन्छन्, ‘हामी त नभत्काउने पक्षमा छौं तर पुरातत्व र प्राविधिक टिमले भत्काउनै पर्ने तर्क राखेका छन्। उनीहरू यो भित्ता कमजोर भएको र संरक्षण गर्ने स्थिति नरहेको बताउँछन्।’ माटोले बनेको यो मन्दिरसँग जोडिएका इतिहास लिच्छविकालीन भएकाले यसको पुरातात्विक तथा ऐतिहासिक महत्व बढेको हो।
पछिल्लो समय मन्दिर भत्काउने क्रममा भित्तेचित्र भेटिएपछि यो सर्वसाधारमा यो मन्दिरप्रति जिज्ञासा झन् बढाएको छ। संस्कृतिविद् हरिराम जोशीका अनुसार भित्री मन्दिर लिच्छविकालीन समयमा बनेको हो। ‘बाहिरको मन्दिर मल्लकालीन हो,’ उनले भने, ‘भित्री मन्दिर लिच्छविकालीन भएको मानदेवकालीन चाबहिलको अभिलेखबाट प्रमाणित हुन्छ।’
संस्कृतिविद् जोशीका अनुसार जयवागेश्वरी मन्दिर १४ सय वर्ष पुरानो हो। कतिपय विज्ञका अनुसार उक्त मन्दिर किराँतकालमा निर्माण भएर लिच्छवीकालमा पुनर्निर्माण भएको हो। त्यतिबेला मन्दिर पुनर्निर्माण गर्दा माटोले नै बनाइएको थियो।