पर्यटकीय नगर बनाउँछौं

पर्यटकीय नगर बनाउँछौं

दैलेखको चामुण्डाविन्दासैनी नगरपालिकाले विकास निर्माणका गतिविधिलाई तीव्रता दिएको छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधार विकाससँगै नगरवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको नगर प्रमुख सूर्यबहादुर शाही बताउँछन्। कृषि, फलफूल तथा पशुपालन व्यवसायबाट नगरवासीलाई आत्मनिर्भर बनाउनुका साथै पर्यटकीय नगर बनाउने योजना रहेको नगर प्रमुख शाहीको भनाइ छ। नगरले हालसम्म गरेका गतिविधि र भावी योजनाबारे नगर प्रमुख शाहीसँग अन्नपूर्णकर्मी नन्दराम जैसीले गरेको कुराकानी :

तपाईं निर्वाचित हुनुपूर्व र अहिले नगरपालिकाको अवस्था कस्तो छ ?

सर्वप्रथम म निर्वाचित भइसकेपछि नगर विकासका लागि नगरको प्रोफाइल तयार गर्न लगाएँ। त्यसका आधारमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनको चरणमा छौँ। त्यस्तै, अपुग भौतिक पूर्वाधार निर्माण तीव्र पारेका छाँै। अहिले नगरका सबै वडामा सडक पुगेको छ। शिक्षा, स्वास्थ्य, कृषि, विद्युत् र सञ्चार सेवामा सुधार आएको छ। आठ मिटर फराकिलो नगर गौरवको सडक आयोजना, मजुवा, जम्बोकाँध, कर्णाली लिप्ट खानेपानीका आयोजना, कर्णालीमै पहिलो पटक नगर बसपार्क, नगर बससेवाजस्ता योजना कार्यान्वयन हुँदै छन्। देशमै नयाँ कार्यक्रमका रूपमा एक निर्वाचित जनप्रतिनिधि एक संरक्षित जंगल, हरेक वडामा आयमूलक जैविक जंगल निर्माण र कृषि तथा फलफूल पकेट क्षेत्रका रूपमा विकास गर्दै छाँै। दूध उत्पादन वृद्धि कार्यक्रम र रैथाने जडीबुटी तथा वनस्पति संरक्षणजस्ता कार्यक्रम गरिरहेका छौँ। त्यसैले पहिलेको तुलनामा अहिले धेरै विकास भएको छ। तर, सोचेअनुसार काम हुन सकेको छैन।

विकास निर्माणका सिलसिलामा के–कस्ता चुनौती सामना गर्नुपर्‍यो ?

पहिले सर्वदलीय संयन्त्रमा बसेर जसले जसरी विकासको नाममा आएको पैसा खान्थे। अहिले पनि अरूलाई त्यसरी सोच्ने गर्दा विकासका काममा अप्ठ्यारो भएको छ। नयाँ प्रणालीमा काम गर्नुपर्ने भएकाले पनि केही अनुभवको कमीले चुनौती छ। जनताका चाहना धेरै छन्। साधन, स्रोत र जनशक्ति अभावले काम गर्न चुनौती छ। जनताका चाहना र आवश्यकताका आधारमा विस्तारै विकासे गतिविधि अगाडि बढाएका छौँ। तर, सधँै विरोध गर्नेहरूका लागि काम गरेरै देखाउनेछौँ।

शैक्षिक क्षेत्रका समस्या न्यूनीकरणमा केही प्रयास भएका छन् ?

पहिलेको तुलनामा शैक्षिक क्षेत्रका समस्या सुधार हुँदै गएका छन्। यहाँका विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य गरेका छाँै। चामुण्डा माध्यमिक विद्यालयमै आईएसीएजी अध्ययन गर्ने व्यवस्था छ। हरेक विद्यालयमा शिक्षक र विद्यार्थीको नियमितता बढेको छ। स्थानीय पाठ्यक्रम बनाएर व्यावहारिक कृषि खेती अध्ययन गराउने तयारीमा छौं। नगरभित्रका गरिब, जेहेनदार विद्यार्थीलाई एमबिबिएस र इन्जिनियर पढ्न छात्रवृत्ति दिने व्यवस्था गरिएको छ।

जनप्रतिनिधि सुविधाभोगी मात्र भए भन्ने आरोपबारे के भन्नुहुन्छ ?

त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ। भन्नेलाई त सजिलै हुन्छ। काम गर्दा सुविधा पनि लिनुपर्छ। तर, धेरै सुविधाभोगी हुनु हुन्न। व्यक्तिगत रूपमा भन्नुपर्दा मैले सरकारले दिएको सवारी सुविधासमेत उपभोग गरेको छैन। त्यसको सट्टा एम्बुलेन्स खरिद गरेको छु। अहिले एम्बुलेन्सबाट फरक क्षमता भएका नागरिक र ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य सेवा दिएका छौं। एउटा वडामा दुईवटा स्वास्थ्य क्लिनिक सञ्चालन गरेका छौं। आफूलाई चढ्न एउटा स्कोरपियो गाडी किन्न ५० लाखभन्दा बढी खर्च हुन्छ। त्यसमा फ्युल खर्च, सवारी चालक खर्च जोड्दा वर्षमा कम्तीमा पनि एक करोड पुग्छ। त्यसैले अहिलेको आवश्यकता भनेको बाटो नपुगेको ठाउँमा बाटो पुर्‍याउने हो। त्यसैले मचाहिँ सुविधाभोगीभन्दा विकासप्रेमी बनेको दाबी गर्छु।

तर, जनप्रतिनिधिले त भ्रमण र अवलोकनको नाममा विकास बजेट खेर फालिरहेका छन् नि ?

यस विषयमा म पनि दुईपटक भारत र एकपटक चीन भ्रमण गएको छु। मलाई के लाग्छ भने भ्रमण, अवलोकन पनि शिक्षा हासिल गर्नकै लागि हो। यसले पनि व्यवहारमा परिवर्तन ल्याउँछ। त्यसैले भ्रमण अवलोकन गर्नु सकारात्मक पक्ष हो। कुनै पनि देशले आफ्नो आवश्यकता, जनसंख्या, भूगोल र उपलब्ध स्रोत–साधन तथा प्रविधिअनुसार संरचना बनाएको हुन्छ। अतः भ्रमण अवलोकनबाट त्यहाँको मिहिनेत, लगनशीलता र काम गर्ने शैली सिक्ने हो।

जनप्रतिनिधिमाथि व्यापक भ्रष्टाचारको आरोप लाग्दै आएको छ नि ?

कागजमा योजना बनाउने, रकम कुम्ल्याउने र रातारात घर बनाऊँ भन्ने सोचाइका केही मान्छेले अहिले समस्या सिर्जना गरेका छन्। भ्रष्टाचार त अन्त्य भएको छैन। तर, त्यसरी कुम्ल्याउने समय अहिले छैन। ठाडो भ्रष्टाचारको सम्भावना छैन। अहिले हरेक सचेत वर्ग, पत्रकार, अख्तियारलगायतले प्रत्यक्ष निगरानी गर्छन्। नागरिक समूहले दबाब दिन्छन्। केही स्थानका जनप्रतिनिधिबाट केही कमजोरी पनि भएका छन्। तर, त्यसलाई जोडेर सबै जनप्रतिनिधि भ्रष्टाचारी भए भन्नु उपयुक्त होइन।

बाँकी कार्यकालमा गर्नै पर्ने केही योजना छन् ?

मेरो बाँकी कार्यकालभित्रै पर्यटकीय नगर घोषणा गर्ने योजना छ। त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्दै छौँ। प्रदेशकै ठूलो नगर पार्क, म्युजियम, सहिद पार्क, फन पार्क, घण्टस्थललगायत योजना कार्यान्वयन हुँदै छन्। मैदानै मैदानको पालिका बनाउने रणनीति छ। पर्यटकीय नगर बनाउनुका साथै बाँकी योजनाले पनि निरन्तरता पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.