सेटिङ रेस्टुरेन्टमा, स्लिपिङ गेस्टहाउसमा
‘हेर्नु त, भर्खरै दुई घण्टामा सात हजार कमाएर आएँ नि।’
उनी प्रसन्न देखिन्थिन्।
कलिलै उमेरमा यौनधन्दामा लागेकी देवी (नाम परिवर्तन) गत मंसिरदेखि १६ वर्ष लागिन्। काठमाडौँ, नयाँ बसपार्कमा परिवारसँग डेरामा बस्छिन्। सात कक्षा पूरा नहुँदै उनलाई पढाइमा फिटिक्कै मन जान छाड्यो। पढाइ छाडेपछि केही समय खाली बसिन्। त्यसपछि यत्तिकै बस्न चाहिनन्। लागिन् कामको खोजीमा। न हातमा कुनै सीप थियो, न पढाइ पूरा ! राम्रो लाउने, मीठो खाने, फिल्म हेर्ने, घुम्न जाने आदि रहरहरू भने ज्याद्रा थिए। उनको जिन्दगीको एक मात्र ध्येय थियो– धेरै पैसा कमाउने। त्यही धेरै पैसा कमाउने आकांक्षाले उनलाई शहरको एउटा रेस्टुरेन्टमा पुर्यायो।
देवीकी आमा ज्यामी काम गर्छिन्। बुबा दृष्टिविहीन छन्। दुई छाक टार्नै मुस्किल हुने अवस्थामा आमाले उनका न्यूनतम रहर पनि पूरा गरिदिन सकिनन्। सधैँको अभावले देवीमा पैसाको चर्को भोक पैदा गर्यो। ‘के गर्दा बढी पैसा कमाइन्छ भन्ने कुरा मात्रै सधैँ दिमागमा खेल्ने गथ्र्यो,’ उनी भन्छिन्। रेस्टुरेन्टमा काम गर्ने एक जना साथीको संगतले उनी यो पेशामा आएकी हुन्। ‘ग्राहकसँग बसेर खाएको पैसा पनि नलाग्ने, मासिक तलब र टिप्स पनि आउने अनि ग्राहकलाई खुशी पार्न सके थप पैसा पाइने हुनाले यतातिर लागेँ,’ उनी भन्छिन्।
देवीलाई भविष्यको कुनै चिन्ता छैन। यो पेशाका जोखिमबारे पनि उनलाई हेक्का छैन। ‘सुरु–सुरुमा हल्का डर लागेजस्तो भएको थियो,’ उनी भन्छिन्, ‘अहिले त सबथोक नर्मल लाग्छ।’
आफू काम गर्ने रेस्टुरेन्टलाई देवी ‘मेनु भएको, तर खाना नपाक्ने रेस्टुरेन्ट’ भन्छिन्। ‘यो मेनु भएको, तर खाना नपाक्ने होटल हो,’ उनी भन्छिन्, ‘ग्राहकको अर्डरअनुसार यहाँ बाहिरबाट खानेकुरा मगाइन्छ। ती खानेकुरा सामान्य रेटभन्दा चार–पाँच गुना महँगा हुन्छन्।’
‘मेनु भएको तर खाना नपाक्ने’ रेस्टुरेन्टमा देवी काम चाहिँ के गर्छिन् त ? ‘मेरो काम भनेको ग्राहकहरूसँग बस्ने, खाने र ज्यादाभन्दा ज्यादा पैसा झार्ने हो,’ आफ्नो कामबारे खुलेर बताउँदै देवी भन्छिन्, ‘ग्राहकसँग बस्दा उनीहरूले मलाई अंकमाल गर्ने, चिमोट्छन्, जिस्किन्छन्, मेरा स्तनमा हात पुर्याउँछन्। यो त नर्मल हो। ग्राहकले जे गरे पनि म माइन्ड गर्दिनँ। जिस्किँदाजिस्किँदै मन पराएर कसैले गेस्टहाउस लैजान्छन्, कसैले आफ्नै डेरामा। कसैले धेरै पैसा दिन्छन्, कसैले अलिक थोरै।’
देवीका अनुसार प्रायः रक्सीले मात्तिएका ग्राहकले धेरै पैसा दिन्छन्। ‘रक्सीले मातेको बेला ग्राहकहरू भएभरको पैसा निकाल्छन्,’ उनी भन्छिन्, ‘तर, कसैले त दिएको पैसा पनि पछि चोरेर बाहिरबाट चुकुल लगाएर भाग्छन्।’ देवीको अनुभवमा अधिंकाश ग्राहक जंगली स्वभाव देखाउने खालका हुन्छन्। ‘पैसा तिरेको त हो नि भन्दै टोक्ने, चिथोर्ने र दुःख दिने गर्छन्,’ उनी भन्छिन्, ‘ग्राहकले जंगली पारा देखाउँछन्।’ उनीसँग काम गर्ने पाका उमेरका साथी पनि छन्। तर, ग्राहकले कलिला उमेरकालाई रोज्ने र बढी पैसा दिन तयार हुने उनी बताउँछिन्। ‘त्यही भएर होला, हामीजस्ता कलिला उमेरका केटीहरू होटल र रेस्टुरेन्टका साहूले खोजी–खोजी राख्छन्,’ उनी भन्छिन्। उनी ग्राहकसँग रेस्टुरेन्टमा सेटिङ गरेर गेस्टहाउस जाने गरेको बताउँछिन्।
उनी ठट्टा गर्दै भन्छिन्, ‘हामी ग्राहकसँग रेस्टुरेन्टमा सेटिङ गर्छौं, अनि गेस्टहाउसमा स्लिपिङ गर्छाैं।’
मनोरञ्जन क्षेत्रमा बाल यौनहिंसा
काठमाडौँ, कलंकीस्थित सुकुमबासी बस्तीमा घर भएकी रबिना (नाम परिवर्तन)ले आठ वर्षको उमेरदेखि रेस्टुरेन्टमा काम गर्न थालेकी हुन्। घरमा पाँच दिदीबहिनी भएकाले आमाबुबाले भारी बोकेर परिवार चलाउँथे।
अभिभावकले नै उनलाई सानै उमेरमा रेस्टुरेन्टमा काममा लगाइदिए। ‘सानैमा रेस्टुरेन्टमा काम गर्दा ग्राहकले जथाभावी छुने, काखमा राखी म्वाइँ खाने गर्थे,’ उनी सम्झन्छिन्, ‘माया गरेजस्तो लाग्थ्यो।’ पछि उनले काम गर्ने रेस्टुरेन्टमा आइरहने एक जना अधबैँसे पुरुषले पैसा दिएर घुम्न जाम् भनेर डेरामा लिएर गए। ‘म त्यस्तै १० वर्ष जतिको थिएँ होला,’ रबिना भन्छिन्, ‘उसले डेरामा लगेर जबर्जस्ती गर्यो।’ उनी बलात्कृत भइन्। ‘आमाबाउलाई मेरो वास्ता थिएन,’ उनी भन्छिन्, ‘रेस्टुरेन्टको साहूलाई आफूमाथि भएको अत्याचारबारे बताउँदा उनले ‘कसैलाई भनिस् भने तँलाई त्यस मान्छेले मार्छ’ भनेर उल्टै थर्काए।’
रेस्टुरेन्टका मालिकले सुरुमा ग्राहकसँग राम्ररी बोल्नुपर्छ भनेर सिकाए। पछि ग्राहकसँगै बसेर खान लगाए। ‘रेस्टुरेन्टमा खानेकुरा सबै बाहिरबाटै मगाइन्थ्यो,’ उनी भन्छिन्, ‘ग्राहकसँग बसेर खाने र धेरैभन्दा धेरै अर्डर गर्न लगाउनुपथ्र्याे। मेरो काम नै ग्राहकसँग बढीभन्दा बढी पैसा पैसा झार्नु थियो। मालिकले त्यही सिकाउँथे।’
रबिना थप्छिन्, ‘सँगै बसेर खाँदा उनीहरूले छुने, अँगालो हाल्ने, गालामा टोक्न खोज्ने जस्ता व्यवहार देखाउँथे। सुरुमा अप्ठ्यारो मानेर मालिकलाई भन्थेँ। मालिकले ‘रमाइलो गर्ने र परिवार पाल्ने उमेर यही हो, यिनै ग्राहकमध्ये तिमीले धनी केटा छानेर विवाह गर्नुपर्छ’ भन्थे। पछि मलाई पनि यसमा बानी पर्न थाल्यो । ग्राहकसँग बार्गेनिङ गर्न र गेस्ट हाउसमा जान थालेँ।’ अहिले उनी १५ वर्षकी भइन्। यति कलिलै उमेरमा उनी यस दलदलमा फसिसकेकी छिन्।
रेस्टुरेन्टमा थरी–थरी मान्छे आउने उनी बताउँछिन्। ‘कोही उनलाई फिल्म हेर्न जाऊँ भन्छन्, कोही लुगा किनिदिन्छु भन्छन्,’ उनी भन्छिन्, ‘कोही मोबाइल किनिदिन्छु भन्छन्। कोही धेरै पैसा लिएर बिहानदेखि साँझसम्म बस्ने गरी आउँछन्। मेरै उमेरका केटाहरू पनि घरमा आमाबुबाले खाजा खान दिएको चार÷पाँच सय लिएर आउने गर्छन्।’
ग्राहकको पैसा झारेबापत रबिनालाई होटलको साहूले कमिसन दिन्छन्। खानाको मूल्य धेरै महँगो छ। उनी भन्छिन्, ‘एउटा रेडबुललाई सात सयसम्म पर्छ। एक प्लेट मःमःको छ सय रुपैयाँ पर्छ। एक बोतल बियरलाई सात सय पर्छ। उनीहरूसँगै बसेर मैले यो खान्छु, त्यो खान्छु भन्नुपर्छ। उनीहरू हामीसँग रफ बोल्छन्, संवेदनशीलमा अंगमा छुन्छन्।’
उनले डान्सबारमा पनि काम गरेकी थिइन्। त्यहाँ पनि काम उही थियो। ग्राहकसँग बसेर खाने र ‘कुरा मिल्यो’ भने बाहिर जाने। बाहिर मतलब कुनै होटल वा ग्राहकको डेरा वा घर।
उनका आमाबाबुलाई छोरी के काम गर्छे भन्ने मतलब छैन। ‘उनीहरूलाई पैसा भए पुग्छ,’ रबिना भन्छिन्, ‘पहिले त मैले काम गर्ने होटलमा महिनामा एकचोटि आएर पैसा बुझेर जाने गर्थे। अहिले भने बेला–बेला पैसा दिने गरेकी छु।’
उनले अहिलेसम्म ग्राहकबाट सबैभन्दा बढी पाएको रकम चार हजार हो। ‘एक जनाले रातको चार हजार दिएको थियो,’ उनले भनिन्, ‘पछि उसैले आफ्ना साथीहरू लिएर आउन थाल्यो।’
०००
नेपालको संविधान २०७२ को धारा ३९ अन्तर्गत बालबालिकाको हक शीर्षकको चार नम्बर बुँदामा बालबालिकालाई कलकारखाना, खानी वा अन्य कुनै पनि जोखिमपूर्ण काममा लगाउन पाइनेछैन भनी उल्लेख गरिएको छ। संविधानले १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ।
ग्राहकलाई गीत, संगीत, नृत्य तथा शारीरिक आरामका सेवाहरू (मसाज, स्पा आदि) का साथसाथै खानपिनको सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित व्यवसायहरू मनोरञ्जन तथा सत्कार व्यवसाय हुन्। यसअन्तर्गत दोहोरी, रोधीघर, डान्सबार, मसाज पार्लर, स्पा, गेस्टहाउस लगायतका रात्रिकालीन तथा दिवाकालीन सेवा पर्छन्। श्रम ऐन तथा बालश्रम ऐन र बालबालिकासम्बन्धी ऐनले यस्ता पेसा तथा व्यवसायमा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउन निषेध गरेको छ।
प्रमुख कारणः कमजोर आर्थिक अवस्था
घरमा आमा बिरामी भएको र दाजुभाइले आमालाई नहेरेपछि बाध्यतावश यो पेशामा आएको बताउँछिन्, नुवाकोट स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी सानुमाया (नाम परिवर्तन), १७। काम खोज्दै जाँदा उनी एउटा खाजाघरमा पुगिन्। त्यहाँ वेटरका रूपमा काम गर्न थालिन्। त्यहाँ उनकै उमेरका र अझ कलिला अरू चारपाँच जना पनि काम गर्न गर्छन्।
खाजाघरमा आउने ग्राहकलाई खाजा, बियर लगिदिने, ग्राहकसँगै बसेर खाने, महँगा खानेकुरा अर्डर गर्ने आदि काम उनीहरू गर्छन्। साहूले उनीहरूलाई प्रयोग गरेर सस्ता खानेकुरा महँगोमा बेच्ने गर्छन्।
सानुमायाको जस्तै वर्षा (नाम परिवर्तन) को कथा पनि उस्तै छ। छ जना भाइबहिनीसहितको ठूलो परिवारमा हुर्केकी वर्षाका बुबा सधैँ रक्सी खाएर घर आउँथे। एक्ली आमालाई घर धान्न मुस्किल पथ्र्यो। दैनिक गुजारा गर्न अरूको घरमा भाँडा माझ्न जान्थिन्। नौ वर्ष पुगेकी वर्षाले काम गरिदिएर दुईचार पैसा कमाइदिऊन् भन्ने आमाको चाहना थियो। ‘चिनेकी एक जना दिदीलाई भनेर आमाले मलाई एउटा सानो होटलमा भाँडा माझ्ने काममा लगाइदिनुभयो। केही समय मैले भाँडा माझेर बसेँ। पछि बिस्तारै साहूले खाना अर्डर गर्ने र ग्राहकलाई लगिदिने काम दिए। त्यतिबेला मेरो तलब बढाएर तीन हजार पुर्याइदिए। सबै पैसा घर पठाउँथेँ।’
काममा सिपालु भइसकेकी वर्षाले राम्रो पैसाको खोजीमा होटल परिवर्तन गरिन्। सुरुमा त्यहाँ आउने ग्राहकसँग खाजा अर्डर गर्ने काम गरिन्। उनलाई अचम्म लाग्थ्यो, खाना नपाक्ने होटलमा अर्डर गर्नेबित्तिकै खाजा आइपुग्थ्यो। ‘खाजा आएपछि त्यहाँ आएका ग्राहकले सँगै खान आऊ भन्थे र साहूले पनि जाऊ, केही हुँदैन भन्थे,’ वर्षा सम्झन्छिन्, ‘साहूको ग्राहकसँगै बसेर खाने गर्न थालेँ। ग्राहकले मलाई जथाभावी छुने, जिस्कने गर्थे। साहूलाई भन्दा ‘तिमीलाई राखेकै यसकै लागि हो’ भनेर हप्काउँथे। एक जना ग्राहकले बेस्सरी मेरो छाती चिमोट्यो। म रुन थालेँ। तर, साहूले वास्तै गरेनन्।’
त्यो घटनापछि उनले काम छोड्न नखोजेकी होइनन्। दुई महिनादेखि तलब पाएकी थिइनन्। ‘तलब माग्दा र ग्राहकसँग बस्दिनँ भन्दा साहूले हप्काउनेदेखि कुट्नेसम्म गरे,’ वर्षा भन्छिन्, ‘त्यसपछि चुपचाप त्यहीँ काम गर्न थालेँ। म राम्री थिएँ। ग्राहकहरूले मन पराउँथे।’
ग्राहकहरू उनलाई पैसाको लोभ देखाउँदै ‘घुम्न जाऊँ’ भन्थे। सुरु–सुरुमा उनले अस्वीकार गरिन्। एक दिन साहूले उनलाई एक जना भारतीय नागरिकसँग पठाइदिए। ‘उसले मलाई गेस्टहाउसमा लग्यो,’ उनी सम्झन्छिन्, ‘त्यो रात मैले सर्वस्व गुमाएँ। भोलिपल्ट साहू मलाई लिन गेस्टहाउसमै पुगेका थिए। उनले ‘अब तिम्रो दुःखको दिन सकियो’ भने।’ त्यस घटनापछि उनको बाहिर जाने क्रम बढ्दै गयो। ‘अब त यही पेशा ठीक लाग्न थालेको छ,’ उनी भन्छिन्।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आर्थिक अवस्था कमजोर र परिवारको उचित रेखदेख नहुने कारण बालबालिका मनोरञ्जन क्षेत्रमा प्रयोग भइहेको स्विकार्छन। भन्छन्, ‘घरायसी अवस्था राम्रो नभएका बालबालिका यो क्षेत्रमा काम गर्न बाध्य हुन्छन्। बालबालिकाको प्रयोग यदाकदा पाइने गरेको छ। महानगरीय प्रहरी यसलाई रोक्न निरन्तर लागिपरेको छ।’
विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले बालबालिका यो क्षेत्रमा आउनुलाई आर्थिक कारण प्रमुख मान्छिन्। भन्छिन्, ‘२०७२ सालको भूकम्पछि नुवाकोट, दोलखा, सिन्धुपाल्चोकतिरका बालबालिका यो क्षेत्रमा बढी देखिएका छन्।’
बदलिँदो बाल यौन शोषणको शैली
पहिले–पहिले बालबालिकालाई घर सफा गर्ने, भाडा माझ्न लगाउने, दैनिक ज्यालादारीको काममा बढी प्रयोग गरेको पाइन्थ्यो। घरभित्र नै यौन शोषण हुने गरेका घटना पनि सुनिन्थे। हिजोआज बाल यौन हिंसाको शैली र स्थान फेरिएको छ।
सिन्धुपाल्चोक घर भएकी स्मिता (नाम परिवर्तन) ले १४ वर्षको उमेरमै क्याटरिङमा काम गर्न सुरु गरिन्। ठूलीआमाको होटलमा पनि काम सघाउन पुग्थिन्। क्याटरिङको काम गाह्रो र कम पैसा पाइने हुनाले ठूलीआमाको पसलमा रक्सी लिन आउने दिदीलाई काम खोजिदिन भनिन् र तिनले एउटा होटलमा काम लगाइदिइन्। ‘होटलमा काम खासै गर्नु पर्दैनथ्यो,’ स्मिता भन्छिन्, ‘तर, ग्राहकसँग टाँसिनुपथ्र्यो, उनीहरूको अँगालोमा बेरिनुपथ्र्याे, सँगै बसेर जुठो खानुपथ्र्यो, ‘मेरो बूढा, मेरो ब्वाइफ्रेन्ड भन्नुपथ्र्यो। सुरुमा असजिलो लाग्यो। बिस्तारै त्यसमै रमाउन थालियो।’ ग्राहकसँग बसेर खाँदा उनलाई गेस्टहाउस, रुम, फ्ल्याटमा जाने अफर आउन थाल्यो। उनी पनि जान थालिन्। ‘नेपालीसँग मात्र होइन, चिनियाँ, भारतीय र पाकिस्तानी ग्राहकसँग पनि जान थालेँ,’ स्मिता भन्छिन्, ‘ग्रुपमा पनि जान्थेँ।’
१७ वर्षीया स्मिता अहिले यौनधन्दाको नर्कमा जाकिइसकेकी छिन्। ग्राहकसँग उनी काठमाडौँबाहिर पनि जाने गरेकी छिन्। ‘ट्रकका ड्राइभर र खलासीसँग चितवन र धादिङसम्म पुगेकी छु,’उनी भन्छिन्, ‘ट्रकमै सेक्स हुन्छ।’ उनले किसिम–किसिमका ग्राहक बेहोरेकी छिन्। ‘कोही त अचम्मका हुन्छन्,’ उनी भन्छिन्, ‘सेक्स गर्दैनन् तर मलाई अश्लील र फोहारी शब्द भन्न लगाउँछन् र आनन्द लिन्छन्।’
चेन्ज नेपालकी बाल संरक्षण अधिकृत वर्षा लुइँटेल विवाहित र पाको उमेरका पुरुषहरूको रोजाइमा यौनकर्मका लागि कलिला बालिका र किशोरी पर्ने बताउँछिन्। भन्छिन्, ‘पेशा छाड्न चाहेर पनि कतिपयले छाड्न सक्दैनन्। एक त साहूले तलब रोकेर राखिदिएका हुन्छन्, अर्काे कुरा उनीहरूलाई आड–भरोसा दिने कोही हुँदैन।’
विश्वास नोपालकी अध्यक्ष भण्डारी खाजाघर नामको बार्ड झुन्ड्याएर थुप्रैले किशोरी र बालिकालाई यौनधन्दामा लगाउने गरेको बताउँछिन्। ‘बाहिर खाजाघर लेखिएको हुन्छ, भित्र अर्कै क्रियाकलाप भइरहेको हुन्छ,’ उनी भन्छिन्, ‘गेस्टहाउसतिर पनि ‘गेस्ट रिलेसन’ भनेर कलिला बालिकालाई यौनधन्दामा लगाउने काम भइरहेको छ।’
केन्द्रीय बालकल्याण परिषद्की नमुना भुसाल भन्छिन्, ‘यही क्षेत्रमा काम गर्ने महिला धनीजस्तो बनेर आफ्नो गाउँठाउँमा जान्छन् र राम्रो काम लगाइदिन्छु भन्दै कलिला बालिका लिएर आउने गर्छन्। जसबापत होटलवालाले उनीहरूलाई कमिसन दिन्छन्।’
कथा–व्यथा लगभग उस्तै
बाग्लुङ घर भएकी मञ्जु (नाम परिवर्तन), १८, चार वर्षअघि बिहे भएको थियो। उनी सानै छँदा बुबा बितेका थिए। १४ वर्षकै उमेरमा उनको बिहे भयो। बिहेको डेढ वर्ष नबित्दै श्रीमान्ले दोस्रो बिहे गरे। ‘त्यसपछि श्रीमान्ले मलाई कुटपिट गर्न थाले,’ उनी सम्झन्छिन्, ‘घरबाट निस्की भनेर शारीरिक र मानसिक यातना दिन थाले। सासू–ससुराले पनि हेलाँ गरे।’ उनी माइत बस्न थालिन्। भाउजूले पनि राम्रो व्यवहार गरिनन् र एक जना विवाहित पुरुषसँग पुनः विवाह गरेर पठाइदिइन्। त्यो घरमा पनि उनी हिंसाको शिकार हुनुपर्यो। मध्यरात घरबाट निकालिइन्। त्यसपछि एक जना आफन्तको सहयोगमा काठमाडौँ आइपुगिन्। तिनै आफन्तले एउटा होटलमा काममा लगाइदिए। ‘काम मैले गर्थें, तर पैसा भने सबै आफन्त भनाउँदाले लिएर जान्थे,’ मञ्जु भन्छिन्, ‘पैसाको अभाव हुन थाल्यो। त्यसपछि होटलमा आउने ग्राहकसँग डिल गरेर गेस्टहाउससम्म पुग्न थालेँ।’
कलंकी, सुकुमबासी बस्तीमा घर भएकी शान्ता (नाम परिवर्तन), १७, को तीन वर्षअघि प्रेम विवाह भएको थियो। सासू–ससुराको दैनिक कचकच सहन नसकेर उनी श्रीमान्सँग कलंकी चोकनेर डेरामा बस्न थालिन्। डेरामा बस्न थालेको दुई महिनापछि उनका श्रीमान् अचानक हराए। ‘माइती जाऊँ भागेर विवाह गरेकी थिएँ,’उनी भन्छिन्, ‘घर जाऊँ आफैँ निस्केर हिँडेकी थिएँ। त्यसपछि म होटलमा काम गर्न पुगेँ र बिस्तारै ग्राहकसँग रात बिताउन थालेँ।’
केन्द्रीय बालकल्याण परिषद्की भुसाल पारिवारिक कारण र सरसंगतले गर्दा पनि कलिला किशोरी यो पेशामा आउने बताउँछिन्।
सरकारसँग छैन तथ्यांक
भुसाल भन्छिन्, ‘सरकारसँग मनोरञ्जन क्षेत्रमा कति बालबालिका छन् भन्ने यकिन तथ्यांक छैन। यो पेशाका बालबालिका ठाउँ परिवर्तन गरिरहने, पेशाबारे खुल्न नचाहने र मनोरञ्जन व्यवसायीले पनि सकभर कुरा लुकाउने कारण तथ्यांक संकलनमा कठिनाइ रहेको छ।’
विश्वास नेपालले सन् २०१३ मा गरेको अध्ययनअुनसार काठमाडौँमा मात्र १३ हजार बालबालिका मनोरञ्जन क्षेत्रमा काम गरिरहेका थिए। सन् २०१७ मा काठमाडौँ उपत्यकामा गरिएको एक अध्ययनअनुसार मनोरञ्जन क्षेत्रमा १० प्रतिशत श्रमिक १८ वर्षभन्दा कम उमेरका रहेका थिए।
‘प्रहरीको एक्लो प्रयास पर्याप्त हुँदैन’
डीएसपी होबिन्द्र बोगटी ,प्रवक्ता, महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौं
कलिला किशोरीहरू साथीहरूले फेसनेबल कपडा लगाएको, राम्रो जीवन बिताएको, बाहिरबाट हेर्दा राम्रो मोबाइल समाएको, रातो–खैरो कपाल बनाएर हिँडेको देख्छन्। आर्थिक अवस्था कमजोर भएको परिवारका बालिका र किशोरीहरू राम्रो लाउने र मीठो खाने सपना बोकेर शहर आउँछन्। शहरमा आइसकेपछि आफूले सोचेको जस्तो हुँदैन। बिस्तारै गलत काममा प्रवेश गर्छन्।
मनोरञ्जन क्षेत्रमा बालबालिका प्रयोग गरेको कुरा यदाकदा आउँछन्। कसैको उमेर १३÷१४ वर्षको हुन्छ, तर १९÷२० वर्ष भएको नागरिकता बनाएर ल्याउँछन्। हामीले हेर्ने भनेको प्रमाणपत्र अथवा फ्याक्ट हो। प्रमाणपत्र हेर्दा उमेर पुगेको हुन्छ, तर शारीरिक रूपमा हेर्दा कलिलै हुन्छन्। यसमा प्रहरीलाई कारबाही गर्न जटिल हुन्छ। कागजी रूपमा युवती भएको देखिन्छ। तर, शारीरिक रूपमा बालिका नै हुन्छन्। श्रम शोषण रोक्नका लागि यस्तो समस्या हामीकहाँ छ।
मनोरञ्जन क्षेत्रमा बालबालिकालाई काम लगाइएको हामीले हाम्रो मनिटरिङमा भेटेका पनि छौँ। हामी पहिले कन्जरभेटिभ तरिकाले कारबाही गथ्र्यौं। खाजाघर, रेस्टुरेन्टमा छिथ्र्यौं। जो–जो भेटिन्छन्, झ्यापझुप उठाउने, थुन्ने काम गथ्र्यौं। अहिले हाम्रो पोलिसी फरक छ। अहिले प्र्रमाणका आधारमा कारबाही गर्छौं। त्यसरी समाएर ल्याउने हो भने त्यहाँ बालबालिका झन् भिक्टिमाइज हुने देखियो। उनीहरूको मनोविज्ञानमा त्रास उत्पन्न हुने र खराब काममा लाग्ने गरेको पायौँ।
यदि कसैले होटेल, खाजाघर, रेस्टुरेन्टमा महिला तथा बालबालिकालाई यौन व्यवसाय गर्ने उद्देश्यले पुलका रूपमा काम गर्छ भने हामी होटल सञ्चालकलाई मानव बेचबिखनमा जाहेरी लिएर कारबाही गर्छौं। उद्धार गरेका बालबालिकालाई पुनःस्थापना कार्यालय र उनीहरूका अभिभावकको जिम्मा लगाउँछौँ। उनीहरूलाई काउन्सिलिङ पनि गर्छौं। सुधारगृहमा पठाएर पढाउने व्यवस्था पनि गर्छौं। परिपक्व उमेरकालाई विभिन्न संस्थाका माध्यमबाट सीपमूलक तालिम दिएर अन्य क्षेत्रमा स्थापना गराउने गर्छौं। तर, प्रहरीको एक्लो प्रयासले यो सम्भव हुँदैन। पछिल्लो समयमा बालबालिकाको रेस्टुरेन्टमा शोषण गर्ने, बस तथा गाडीमा श्रमशोषण हुने, घरेलु कामदारका रूपमा बालबालिकालाई लगाउने काम एकदम कम भएको छ। त्यस्तो सूचना आयो भने हामी तत्काल एक्सन लिन्छौँ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने बालबालिका ७५ प्रतिशतभन्दा बढी आर्थिक अभाव, आमाबाउको असावधानी, पारिवारिक कलह आदि कारणले आउँछन्। आमाबाबु गुमाएका, आमाबाबु हुँदाहुँदै पनि संरक्षकत्व नपाएका, घरेलु हिंसामा परेका बालबालिका शहर आएका देखिन्छन्।
अचेल यौन शोषणका शैली र स्थान फरक छन्। घर र फ्ल्याट भाडामा लिएर यौनधन्दा चलाउने भेटिएका छन्। तिनलाई हामीले कारबाही गरेका छौँ। विदेशीले प्रलोभनमा पारेर पनि कलिला बालिका र किशोरीको यौन शोषण गरेको दखिन्छ। हामी सूचनाका आधारमा कारबाही गर्छौं।
‘ड्राइभरदेखि नेतासम्म ग्राहक’
तारा भण्डारी, अध्यक्ष, विश्वास नेपाल
हामी मनिटरिङ गर्न जाँदा कुनै बच्चालाई उसको घर कहाँ हो ? आमाबुबा को हो ? थर के हो ? केही थाहा हुँदैन। मनोरञ्जन क्षेत्रमा आउने अधिकांश बालबालिका आर्थिक अवस्था कमजोर भएको परिवारका हुन्छन्। गरिबी, सौतेनी आमाबुबाको व्यवहार, सरसंगत आदि कारण छन्। मूल कारण भनेको गरिबी नै हो।
०७२ सालअघि सिन्धुपाल्चोक, नुवाकोट, दोलखाका थुप्रै बालबालिका मनोरञ्जन क्षेत्रमा काम गर्थे। ०७२ सालको भूकम्पपछि गोरखा र सिन्धुपाल्चोकबाट एकदमै धेरै बालबालिका आएर यो क्षेत्रमा काम गर्न थाले।
ती किशोरी र बालिकाका ग्राहक स्वदेशीबाहेक भारतीय, पाकिस्तानी र चिनियाँ हुँदा रहेछन्। ड्राइभरदेखि नेतासम्म उनीहरूका ग्राहक हुन्छन्।
अहिले बालबालिकाको यौन शोषणको शैली नै फरक छ। कसैलाई ललाईफकाई काम गराइन्छ। आफन्त, सम्पर्क र एजेन्टका माध्यमले बालिका र किशोरी मनोरञ्जन क्षेत्रमा काम गर्न आइपुग्छन् र उनीहरूको यौन शोषण हुने गर्छ। त्यसलाई हामी आन्तरिक बेचबिखनका रूपमा परिभाषित गर्छौं।
पहिलेका क्याबिन रेस्टुरेन्ट अहिले खाजाघरमा परिणत भइसकेका छन्। बाहिर खाजा घर भनेर लेख्छन्, तर भित्र काम–कुरो अर्कै छ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने बालबालिकाको तलब भनेको ३५ सयदेखि छ हजारसम्म हुन्छ। यो क्षेत्रमा लाग्नेहरूको मोबिलिटी धेरै हुने भएकाले यकिन तथ्यांक निकाल्न सकिँदैन। यस्ता बालबालिका जुनसुकै स्थानमा भेटिन्छन्। कोटेश्वर, दरबारमार्ग, कलंकी, ठमेलमा धेरै भेटिन्छन्।
अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2679)