कसैसँग बोल्न नपरोस् भनेर अन्तिम बेन्चमा लुकेर बस्थेँ
स्कुलमा मलाई कुराकानी गर्न एकदमै समस्या भयो। मलाई नेवारी भाषा मात्र आउँथ्यो। स्कुल गएपछि एक्कासि अर्कै दुनियाँमा पुगेको जस्तो महसुस भयो। मैले बोलेको अरूले नबुझ्ने, उनीहरूले बोलेको मैले नबुझ्ने। अनि म कसैसँग बोल्न नपरोस् भनेर अन्तिम बेन्चमा लुकेर बस्थेँ। यसैले गर्दा मेरो स्वभाव पनि लजालु र नबोल्ने खालको भयो।
सम्पूर्ण भाइबहिनीलाई मेरो नमस्कार छ है। आज तिमीहरूसँग यसरी प्रत्यक्ष रूपमा कुराकानी गर्न पाउँदा मेरो मन मगन भएको छ। हुन त सबै भाइबहिनीले मेरो गीत पक्कै पनि सुनेकै छौ होला। तर, मलाई चिन्छौ या चिन्दैनौ थाहा छैन। आज म तिमीहरूसँग गीतसंगीतभन्दा पनि तिमीहरू जस्तै हुँदाको मेरो बाल्यकालका केही तीता मीठा कुराहरू सुनाउन चाहन्छु ।
मेरो नाम दीपक वज्राचार्य हो। मेरो जन्म २०३१ साल भदौमा ललितपुरको पाटनस्थित भिन्चेबहालमा सामान्य परिवारमा भएको हो। मेरो सम्पूर्ण बाल्यकाल त्यहीँ बित्यो। तर, २० वर्ष अघिदेखि म ग्वार्कोमा बस्दै आइरहेको छु। परिवारमा हामी चारजना दाजुभाइ, दिदीबहिनी छौं। यीमध्ये म कान्छो छोरा हुँ। म गीत गाउँछु। म अहिले ‘रिदम’ ब्यान्डको नेतृत्व गरिरहेको छुँ। मैले गीत गाउँदा यही ब्यान्डका साथीहरूले मलाई साथ दिन्छन् ।
मेरो घरको वातावरण खासै शिक्षित थिएन। सायद त्यसकै प्रभावले होला ममा पनि पढाइतिर त्यति लगाव थिएन। तर, आमाबुवाले आफू नपढेका कारणले होला हामीलाई पढ्नका लागि धेरै घचघचाउनु हुन्थ्यो। विशेषगरी आमाले। त्यतिबेला सबैले सस्तो विद्यालयमा भर्ना गर्ने चलन थियो। तर, मेरो आमाले बुवासँग जिद्दी गरेर मलाई अलि महँगो (बोर्डिङ) स्कुलमा भर्ना गरिदिनुभयो ।
पाँच वर्षको उमेरमा मेरो भर्ना महालक्ष्मीस्थानस्थित अरनिको बोर्डिङ स्कुलमा केजी कक्षामा भयो। यहीबाट मेरो औपचारिक शिक्षा सुरु भयो। त्यो स्कुलमा मेरो समुदायका साथीहरू निकै कम थिए। त्यो महँगो स्कुल भएकोले लाहुरे परिवारका, हुनेखाने परिवारका छोराछोरीहरू मात्र पढ्थे। हाम्रै टोलको एकजना काकी त्यही स्कुलमा पढाउनुहुन्थ्यो। उहाँले नै मलाई दिनदिनै हात समातेर स्कुल लैजाने र ल्याउने गर्नुहुन्थ्यो ।
स्कुलमा मलाई कुराकानी गर्न एकदमै समस्या भयो। मलाई नेवारी भाषा मात्र आउँथ्यो। स्कुल गएपछि एक्कासि अर्कै दुनियाँमा पुगेको जस्तो महसुस भयो। मैले बोलेको अरूले नबुझ्ने, उनीहरूले बोलेको मैले नबुझ्ने। अनि म कसैसँग बोल्न नपरोस् भनेर अन्तिम बेन्चमा लुकेर बस्थेँ। यसैले गर्दा मेरो स्वभाव पनि लजालु र नबोल्ने खालको भयो। मेरो कन्फिडेन्स लेभल नै जिरो भयो। मलाई स्कुल जान फिटिक्कै मन लाग्थेन। घरबाट लगेको टिफिन ब्याग अगाडि राखिन्थ्यो। म पछाडि बसेर सोचिरहन्थेँ, ‘अगाडि राखेको टिफिन ब्याग कसरी माग्ने होला ? ’ देउ भन्न पनि नसक्ने अनि म रुन्थेँ। सरहरूले ‘के भयो ? किन रोएको ? के चाहियो भन ? ’ भनेर सोध्नुहुन्थ्यो। तर, मैले बुझ्थिनँ। फेरि रुन्थेँ। मलाई स्कुल लैजाने काकीले मैले बोलेको सरलाई बुझाउन र सरले बोलेका मलाई बुझाउन दोभाषेको काम पनि गर्नुहुन्थ्यो। त्यसैले भाइबहिनी हो, म तिमीहरूलाई र तिमीहरूको अभिभावकलाई सानैदेखि नै आफ्नो मातृभाषाबाहेक अरू (अंग्रेजी, नेपाली वा अन्य) भाषा पनि सिक्दै÷सिकाउँदै जानुपर्छ भन्न चाहन्छु ।
यसरी मलाई ३÷४ कक्षासम्म निकै गाह्रो भयो। म लजालु र कमजोर भएको कुरा आमाले पनि महसुस गर्नुभयो सायद। ‘यो निकै डरछेरुवा भयो’ भन्ने लागेर उहाँले मेरो आत्मविश्वास बढाउनको लागि ‘मार्सल आर्ट’ मा भर्ना गरिदिनुभयो। मार्सल आर्टको रुल भनेकै कसैसँग नडराउने भन्ने हो। सिकेको दुई वर्षमा म निकै परिवर्तन भएँ। हुँदाहुँदै झगडालु स्वभावको भएँ। कसैले जिस्काएपछि म मार्सल आर्टमा सिकेको कुरा उसैमाथि प्राक्टिकल गर्थें। स्कुलका साथीहरू पनि डराउन थाले। आफूभन्दा ठूला कक्षाका साथीहरू पनि मिल्न थाले। कहिलेकाहीँ उनीहरूको बोस जस्तो फिल हुन्थ्यो। एकाएक मेरो कन्फिडेन्स लेभल बढेको देखेर सरले पनि मलाई कक्षाको लिडर बनाइदिनुभयो। तर, विडम्बना यता कन्फिडेन्स लेभल बढ्यो उता पढाइको लेभल खत्तम भयो। हिरो बन्नतिर मात्र ध्यान जान थाल्यो। यो बेला सरहरूको कुटाइ पनि खाएँ ।
त्यो बेलामा मलाई गीतसंगीतप्रति पनि रुचि जागिसकेको थियो। दार्जिलिङका एकजना राजेन्द्र सर हुनुहुन्थ्यो। उहाँले मलाई ‘तिमी गीत सुन्छौ है ? तिमीसँग स्कोरपियन, मेटालिकाको गीत छ ? एल्बम छ ? कसैले थाहा नपाउनेगरी देऊ है’ भनेर गीत एल्बम माग्नुहुन्थ्यो। मैले पनि खोजीखोजी दिन्थेँ। झन् चासो बढ्यो। जर्ज माइकलको एउटा ‘ह्वाएम’ नामक ब्यान्ड थियो। उसको हेयर स्टाइल खत्रा लाग्थ्यो। कहिलेकाहीँ त्यस्तै बनेर स्कुल जान्थेँ। । एकदिन प्रिन्सिपलले कुरेर बस्नु भएको थियो। लामो कपाल समातेर तीन राउन्ड घुमाइदिनुभएको थियो। यस्तै उट्पट्याङ गर्दा म कक्षा ६÷७ मा फेल नै भएँ। यसैगरी लटरपटर जेनतेन गरी मैंले २०४७ सालमा एसएलसी पास गरेँ ।
एसएलसीपछि म पाटन मल्टिपल कलेजमा आईकम पहिलो वर्षमा भर्ना भएँ। स्कुलमा देखाउन नपाएको गीतसंगीतको भूत यहाँ आएर देखाउने मौका पाएँ। घरमा आमाबुवालाई पनि छरछिमेकीले छोरा बिग्रियो भनेर खुब कुरा लगाउँथे। उहाँहरूले पनि मलाई यस्तो नगर्न भन्नुहुन्थ्यो। बुवाले जहिले पनि व्यापार गर्न भन्नुहुन्थ्यो। तर, मलाई त्यता कुनै रुचि थिएन। उहाँले ठमेलमा ह्यान्डिक्राप्टको पसल पनि राखिदिनुभयो। म बिहान जान्थेँ तर दिउँसोभरि साथीलाई पसलमा बसालेर आफू गीत गाउन जान्थेँ। यहीबेला केही साथीहरू जम्मा पारेर एउटा ‘लिटलन्स’ नामक ब्यान्ड तयार गरेँ ।
मैले आईकम पहिलो वर्षको परीक्षा छोडेर २०४७ सालमा पहिलो एल्बम ‘छोडी गयांै प्रिय’ बोलको पहिलो गीत रेकर्ड गरेँ। त्यसपछि ‘कालीकाली हिस्सी परेकी’। जुन निकै चर्चित भयो। यसले मलाई दर्शकमाझ चिनायो। हामीले थुप्रै ठाउँमा कन्सर्ट गर्दै दिनभरि ६÷६ घण्टासम्म पनि गाउँथ्यौँ। पछि त्यो ब्यान्ड टुक्रियो। तर, एक्लैले पनि संगीत गर्न सकिन्छ भनेर ‘ओ अमिरा’ गीतले प्रमाणित गरिदियो। आजसम्म मैले पाँच सयभन्दा बढी गीत गाइसकेको छुँ। अहिल मेरो नयाँ गीत ‘मन मगन’ निकै चर्चित छ ।
मेरो यो गीत चार वटा भाषा (नेवारी, नेपाली, हिन्दी, अंग्रेजी) मा पनि डबिङ भइसकेको छ। अझै संसारका विभिन्न भाषामा हुने सम्भावना छ ।
अन्त्यमा मेरा प्यारा भाइबहिनीहरूलाई के भन्न चाहन्छु भने तिमीहरूमा के खुबी छ त्यसलाई पहिले पहिचान गर। अनि निरन्तर अभ्यास गर। त्यसमा अवश्य तिमी सफल हुनेछौ। तर, पढाइ भने छोड्नु हुँदैन। मैले मेरो जीवनमा गीतसंगीतलाई कहिल्यै छोडिनँ। त्यसैले म आज यो स्थानमा छु ।
(गायक वज्राचार्यसँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित)