बुढीगण्डकी आयोजना : जग्गा एउटाको, मुआब्जा अर्कैलाई

बुढीगण्डकी आयोजना : जग्गा एउटाको, मुआब्जा अर्कैलाई

धादिङ : जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाअन्तर्गत डुबानमा पर्ने जग्गाको मुआब्जा दिँदा एक व्यक्तिको जग्गाको मुआब्जा अर्कै व्यक्तिलाई दिएको पाइएको छ। साविकको सल्यानटार गाउँ विकास समितिका जीवन गिरिको जग्गाको मुआब्जा सोही ठाउँमा कृष्ण, शिव, गुरु र राम उप्रेतीको नाममा गएपछि विवाद उत्पन्न भएको हो ।

डुबानमा पर्ने जग्गाको सूची गोरखापत्रमा निकाल्दा जीवनको गिरिको जग्गाको कित्ता नम्बर ३ (क) १४२ नम्बर उल्लेख गरिएको थिएन । गिरिले डुबानमा पर्ने आफ्नो अन्य जग्गाको मुआब्जा बुझिसक्दा कित्ता नम्बर १ सय ४२ नम्बरको जग्गाको मुआब्जा छुटेपछि खोजबिन गर्दै जाँदा मुआब्जा रकम नै उप्रेती परिवारको नाममा गएको भेटिएको जिवनका छोरा भोज गिरिले बताए ।

यसरी गयो अर्कोको नाममा

जीवन गिरिको कित्ता नम्बर १४२ मा १ रोपनी १४ आना जग्गा रहेको छ । तर उप्रेती परिवारले आफ्नो बाबुको जग्गाबाट अंशवण्डा गरी जग्गा कित्ताकाट गरेर लिने बेलामा मालपोत कार्यलय धादिङको लापरवाहीको कारण ३४२ नम्बरको जग्गा कित्ताकाट गर्नुपर्नेमा जीवन गिरिकै १ सय ४२ नम्बर कित्ताको जग्गा कित्ताकाट गरिदिएपछि गिरिको जग्गा उप्रेती दाजुभाइको नाममा पुगेको हो ।

मालपोतको रेकर्डमा हेर्दा १ सय ४२ नम्बरको जग्गा जीवन गिरिकै नाममा देखिएको छ भने त्यही जग्गालाई कित्ताकाट गरेर ६२२, ६२३, ६२४ र ६२५ नम्बर कित्तामा गएको देखिएको छ ।

पछि बुढीगण्डकी आयोजनाको डुबानमा पर्ने भएपछि आयोजनालाई सोही लालपूर्जा उप्रेती परिवारले बुझाएको र उनीहरुकै नाममा जग्गा देखिएपछि बुढीगण्डकी आयोजनाले पनि मुआब्जा उप्रेती दाजुभाइकै नाममा हालिदिएको हो।

आफ्नो १४२ नम्बर कित्ताको मुआब्जा छुटेको भनेर खोजबिन गर्दै जाँदा अरुले नै मुआब्जा बुझिसकेको फेला परेको जीवनका छोरा भोज गिरिले बताए । उनले भने, 'मालपोत कार्यालयको सवैखाले रेकर्डमा हेर्दा जग्गा हाम्रो हो भन्ने प्रमाण छ, तर मुआब्जा लिने बेलामा चाहि उप्रेती परिवारले बुझिसकेछन् ।'

उक्त जग्गाको मुआब्जा करिब १० लाख ५० हजार रुपैयाँ आउने भोजले बताए।मालपोत कार्यलय धादिङले भने जग्गा कित्ताकाट गर्ने बेलामा प्राविधिक कारणबस गल्ती भएको देखिएको र त्यसलाई सच्याइसकिएको बताएको छ । उप्रेती दाजुभाइको नाममा पुगेको १ सय ४२ नम्बर कित्ताको जग्गा जीवन गिरिकै रहेकाले बुढीगण्डकी आयोजनालाई पत्र लेखेर जानकारी गराइसकिएको मालपोत कार्यलय धादिङका प्रमुख पुरुषोत्तम भण्डारी बताए । उनले भने, '२०४० सालदेखिकै कागजपत्र हेर्दा १ सय ४२ कित्ता नम्बरको जग्गा जीवन गिरिकै देखिन आयो, पहिले भएको गल्ती सच्याएर हामीले बुढीगण्डकी आयोजनालाई पत्र लेखेर मुआब्जा जीवन गिरिलाई नै दिन अनुरोध गरिसकेका छौं।'

उप्रेती परिवारको जग्गाको पनि मुआब्जा दिनुपर्ने अवस्थाको भए उनीहरुलाई पनि मुआब्जा दिन र १ सय ४२ नम्बर कित्ताको जग्गाको मुआब्जा जीवन गिरिलाई नै उपलब्ध गराउन पत्र पठाइएको भण्डारीले बताए ।अरुको जग्गाको मुआब्जा समेत आफूहरुले बुझिसकेका उप्रेती परिवारले जीवन गिरिको जग्गाको मुआब्जा फिर्ता दिन भने आनाकानी गरिरहेका छन् । बुढीगण्डकी आयोजनाले पटकपटक छलफलका लागि बोलाउँदा समेत उप्रेती परिवारले आनाकानी गरिरहेको जीवनकी श्रीमती विष्णु गिरिले बताइन् । उनले भनिन्, 'मुआब्जा फिर्ता लिनको लागि दिनहुँजसो छलफल हुन्छ तर फिर्ता दिन्छु भन्दैनन्, सबै समस्या मालपोत र आयोजना कार्यलयमा पनि सुनाइसकियो तर पनि कहिँबाट सुनुवाइ भएको छैन ।'

१ सय ४२ नम्बर कित्ताको जग्गाको मुआब्जा रकम आफूहरुले पाउनुपर्ने भन्दै गाउँपालिकामा समेत उजुरी गरिएको विष्णुले बताइन् । मालपोतबाट जग्गाधनी प्रमाणीत भएर आएका लालपुर्जाको नाममा मात्रै मुआब्जा वितरण गरिने भएकाले जसको नाममा लालपूर्जा कायम भएर आउँछ, उसैलाई मुआब्जा पठाइएको बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण कार्यलयका प्रमुख कृष्ण कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.