सबै मन्त्रालयलाई गृहको पत्र : ‘पर्यटक भिसावाहक विदेशीलाई काममा नलगाउनू’
काठमाडौं : गृह मन्त्रालयले पर्यटक र आश्रित परिवारका हैसियतले प्रवेशाज्ञा (भिसा) लिएका विदेशीलाई काममा नलगाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ। पर्यटक भिसा लिएका कतिपय विदेशीलाई सरकारी निकायले काम लगाएको पाइएपछि गृहले आइन्दा त्यस्तो नगर्न/नगराउन भनेको हो।
अध्यागमन नियमावली २०५१ अनुसार पर्यटक र आश्रित परिवार भिसा लिएका विदेशीले काम गर्न पाउँदैनन्। नियमावलीको नियम (२०)को उपनियम (१) मा पर्यटक र परिवारको सदस्यको हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारि श्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने उल्लेख छ। सोही नियमको उपनियम (२)मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका निमित्त भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाइनेछैन भन्ने उल्लेख छ।
विभिन्न मन्त्रालय र निकायहरूले जथाभावी कार्यसहमतिका लागि विदेशीको नाम सिफारिस गर्न थालेपछि मंसिर १३ को गृहमन्त्रीस्तरीय निर्णयले त्यस्ता गैरकानुनी गतिविधि रोक्न भनेको हो। पर्यटक भिसाको दुरुपयोग भएपछि गृहले त्यस्ता कार्यलाई रोक्न अग्रसरता लिएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, लगानी बोर्डको कार्यालयलगायत निकायले प्रवेशाज्ञाको मर्मविपरीत विदेशीलाई काम लगाएका छन्। गृह मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘पर्यटक र आश्रित परिवारका सदस्यलाई सरकारी निकायले नै काममा लगाएर अध्यागमन नियमको खिल्ली उडाएको पाइयो। त्यसलाई रोक्न सबै मन्त्रालयलाई गृहको निर्णय पठाइएको हो।’
नियमावलीमा स्पष्ट व्यवस्था हुँदाहुँदै कतिपय सरकारी निकायले पर्यटक भिसा लिएका विदेशीलाई काममा लगाएको गृहको दाबी छ। यद्यपि, गृहले त्यस्ता सरकारी निकायबारे कुनै जानकारी दिएको छैन।
विदेशीले काम गर्न चाहे गृहबाट कार्यसहमति अनिवार्य लिनुपर्ने हुन्छ। केही मन्त्रालय र तिनका निकायबाट कार्यसहमतिका लागि लेखी पठाउँदा पर्यटक र आश्रित परिवार सदस्यका रूपमा भिसा लिएका व्यक्तिको समेत सिफारिस गरेको गृह स्रोतले बताएको छ। यो कार्य गैरकानुनी हो।
गृहले कार्यसहमतिका लागि सिफारिस भएका विदेशीको सूक्ष्म अनुसन्धान गर्दा त्यस्ता विदेशीले विभिन्न स्थानमा काम गर्ने गरेको पाएको थियो। गृहले कार्यसहमति दिनुअघि सिफारिस भएका विदेशीको अनुगमन गर्दा पर्यटक भिसावाहकलाई काम लगाएको पाइएको थियो।
गृहले सूक्ष्म अनुसन्धानका क्रममा पर्यटक भिसावाहक धेरै विदेशीले काम गरेको पाएको थियो। सम्बन्धित मन्त्रालय र सरकारी निकायले कार्यसहमतिका लागि सिफारिस गर्दा पनि अध्यागमन नियमावलीविपरीत गरेको पाइएको छ।
नियमविपरीत कार्य गर्ने विदेशीलाई अध्यागमन ऐन र नियमावलीअनुसार नेपालबाट निष्काशन गर्ने व्यवस्था छ। गैरकानुनी ढंगले विदेशीलाई काममा लगाउँदा विभिन्न मन्त्रालयमातहतका आयोजना÷परियोजना, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एवं विभिन्न प्रतिष्ठानको कार्यमा असर पुग्ने र राष्ट्र विकासमा बाधा आउन सक्ने गृहले पठाएको पत्रमा उल्लेख छ। राष्ट्र विकासमा असर नपार्ने गरी नियमपूर्वक कार्यसहमतिका लागि विदेशीको नाम सिफारिस गर्न गृहले भनेको छ।
गृहले विदेशीको प्रवेशाज्ञा हेरेर नियमपूर्वक भए मात्र कार्यसहमतिका लागि सिफारिस गर्न सबै मन्त्रालय र निकायलाई पत्र पठाएको हो। कुनै निकायले नियमावलीविपरीत कार्यसहमतिका लागि सिफारिस गरे सम्बन्धित मन्त्रालय र निकायका सचिव, विभागीय प्रमुख र आयोजना प्रमुख पूर्णरूपमा जिम्मेवार हुने गृहको पत्रमा उल्लेख छ।