तमु ल्होसारमा ओली र प्रचण्डको शुभकामना
काठमाडौं : तमु ल्होछारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन्।ल्होछारका अवसरमा प्रधानमन्त्रीले मंगलबार जारी गरेको शुभकामना सन्देशमा तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षा गरेको बताएका छन्।
'हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पुँजीको रूपमा रहेका छन्। एकता र सहिष्णुताको यस पुँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ। विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्,' प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, 'नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपी, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो। यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं।'
यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि तमु ल्होछारको अवसरमा शुभकामना दिएका छन्।
'तमु (गुरुङ) समुदायको पर्व तमू ल्होछार÷ल्होसार-२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदी-बहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु,' प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।'
'पुरानो वर्ग (वर्ष)को विदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमु (गुरुङ) समुदायले विशेष उत्साह र उमंगतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको छ । सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन्,' प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्,' राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नती र समृद्धि निर्भर रहेको हुन्छ । यस्ता मौलिक चाडपर्वहरुले नेपालीहरु बीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँदछ । नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ।२१ औं शताब्दीमा नेपाली पहिचान सहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो।यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा सहित तमु समुदायलगायत समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।'