हात्ती आतंक : स्थानीय रातभर जाग्राम
राजविराज : सप्तरीमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जंगली हात्तीको आतंक बढदै गएको छ। दिनहुँजसो बस्तीमा पसेर हात्तीले तोडफोड गर्न थालेपछि त्रसित स्थानीय आगो बालेर रातभर जाग्राम बस्न थालेका छन्। पछिल्लो पटक हात्तीले एकै रात खडक र सप्तकोशी नगरपालिकामा १९ वटा घर भत्काउनुका साथै अन्नपात खाएर लाखौं रुपैयाँ बराबरको धनमाल क्षति गरेको थियो।
चार÷पाँच वटाको संख्यामा आउने हात्तीको समूहले घर तोडफोड गरी भण्डारण गरेको धान, गहँु खाने तथा अन्नबाली र तरकारी बाली कुल्चिएर नष्ट गर्दै आएको खडग नगरपालिकाकी सलिता सदाले बताइन्। अन्नपात खाएर, कुल्चिएर नष्ट पार्ने हात्तीले कुन बेला मानिसलाई नै मार्ने हो भन्ने डरले गाउँलेहरू भयभीय हुने गरेको र रातभर आगो बालेर जाग्राम बस्ने गरेको उनले सुनाइन्।
आरक्षबाट आएका हात्तीले खडग र सप्तकोशी नगरपालिकामा घरहरूको पर्खाल, टाँटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको सप्तरी प्रहरीले जनाएको छ। सप्तकोशी नगरपालिका–९ का ललन खंग, भरत यादव, वडा नम्बर ११ का सन्तोषकुमार खंग, दिनेश सरदार, राजेन्द्रप्रसाद साह र अशोकप्रसाद साहको फुसको घर भत्काउनुका साथै अन्नपात पुर्याएको डिएसपी तिलक भारतीले बताए।
यसैगरी खड्क नगरपालिका–४ अमहा टोलमा हात्तीले ऐसा खातुनको घरको पर्खाल भत्काई घरमा रहेको १२ बोरा चामल खाएर नष्ट गर्दा गरेको प्रहरीले जनाएको छ। सोही ठाउँका मखन चौधरी, सिताराम सदा, मुखाइलाल चौधरी, विरेन्द्र सदा, रंजित चौधरी, सुखैर चौधरी, लोलाई सदा, इन्द्रजित सदा, सुरुज सदाको टिनको छानो र बाँसको टाँटी भएको घर हात्तीले भत्काएको छ। खेतमा लगाएको आलु, तोरी बाली समेत हात्तीले कुल्चिएर नोक्सान पुर्याएको उनीहरूले बताए। हात्ती आतंकबाट सप्तरीको उत्तरी भूभागको जनजीवन कष्टकर बनेको छ। दिनहुँ हात्तीले आतंक मच्चाउँदा समेत सम्बन्धित निकायले उपाय निकाल्न नसक्दा स्थानियबासी आक्रोशित भएका छन्।