दस बालपुस्तक लोकार्पण
काठमाडौं : शुक्रबार साँझ ललितपुरको बखुन्डोलस्थित इन्ट्रान्स क्याफेमा ‘रुम टु रिड’ले आयोजना गरेको एक कार्यक्रममा बालसाहित्यकार तथा चित्रकारहरूको घुइँचो थियो। त्यो साँझ बालसाहित्यप्रेमीका लागि कुनै उत्सवभन्दा कम थिएन। सबै उत्साहित देखिन्थे। यहाँ १० लेखकका १० बालकथाका पुस्तक लोकार्पण भए।
कार्यक्रममा हरिवंश आचार्यको ‘जुरे’, डा. ध्रुव घिमिरेको ‘खरायोको सिङ’, शाश्वत पराजुलीको ‘मीठो नमीठो’, सिर्जना शर्माको ‘नौरंगी छाता’, पुरुषोत्तम घिमिरेको ‘जताततै स्कुल’, हरिहर तिमिल्सिनाको ‘बरको रहर’, यशु श्रेष्ठको ‘मोनुको मोजा’, भवसागरको ‘रधिया र शिवगज’, सजनी नौबागेको ‘मेघाको घैला’ र जीवन कार्कीको ‘के किन्ने के’ लगायतका पुस्तक लोकार्पण भए।
यी पुस्तकमा क्रमशः सुमन महर्जन, सोनाम तामाङ, प्रज्ज्वल थापामगर, दीपक थामी, केदार दाहाल, नम्रतासिंह, विनीता बुद्धाचार्य, अशोक श्रेष्ठ र उजेली सागरले चित्र कोरेका छन्। सम्पादन अनन्त वाग्लेले गरेका छन्।
रुम टु रिडका साक्षरता कार्यक्रम निर्देशक नेत्र दाहालले साक्षरता कार्यक्रमका लागि गुणस्तरीय पठन सामग्री विकास गर्ने उद्देश्यले सन् २००३ देखि नै संस्थाले पुस्तक प्रकाशन गर्दै आइरहेको जनाए।
हालसम्म रुम टु रिडले तीन सय ६१ शीर्षकका पुस्तक प्रकाशित गरिसकेको छ। कार्यक्रममा रुम टु रिड नेपालका डाइरेक्टर पुष्करलाल श्रेष्ठले बालबालिकाका लागि सबैको योगदान हुन आवश्यक रहेको बताए।