भुइयाँफाटामा सीमा सुरक्षा पोष्ट
धनगढी : कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाटामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना भएको छ। भारतसँग सीमा जोडिएको कैलारी गाउँपालिका वडा नम्बर १, २, ३, ५, ७ र ८ हेर्ने गरी बीओपी क्याम्प खडा गरिएको हो। क्याम्पको प्रदेशसभा सांसद विरमान चौधरीले उद्घाटन गरेका हुन्। भारतसँग जोडिएको कैलालीको १ सय १ किलोमिटिरमा सुरक्षा क्याम्प कम हुँदा समस्या भएको सुदूरपश्चिम सशस्त्र प्रहरी प्रमुख गोविन्द क्षेत्रीले बताए। ‘स्थापना भएका नयाँ क्याम्पले केही हदसम्म सीमा सरक्षा गर्नमा सहयोग पुग्नेछ’, उनले भने।
सीमा सुरक्षा तथा सीमाबाट हुने चोरी निकास रोक्ने उद्देश्यले कैलालीमा चौथो बीओपी क्याम्प स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिउसिनाले जानकारी दिए। यसअघि कैलालीका खक्रौला, भजनी र फूलबारी गरी ३ वटा मात्र बीओपी क्याम्प थिए। ‘कैलालीमा थप वटा बीओपी क्याम्प राख्ने अनुमती आएको छ’, सशस्त्र प्रहरी उपरीक्षक तिउसिनाले भने, ‘धेरै ठाउँमा क्याम्प राख्न जग्गा अभाव छ।’
भारतसँग सीमा जोडीको कैलालीमा बङगारा कटान, जुगेडा, श्रीलङका टापु, खनपुर र हिक्मतपुरमा थप सुरक्षा क्याम्प राख्ने तयारी छ। ‘कम्तीमा १० किलोमिटरमा बीओपी रहने गरी ६ वटा क्याम्प थप्ने तयारी भएको छ’, सशस्त्र प्रहरी उपरीक्षक तिउसिनाले भने। उनका अनुसार भविष्यमा ७ किलोमिटरभित्र रहने गरी बीओपी क्याम्प राख्ने योजना रहेको उनले बताए। कैलालीसँग सीमा जोडिएको भारतको भुभागमा १ सय १ किलोमिटर क्षेत्रमा २३ वटा बीओपी क्याम्प रहेको उनले जानकारी दिए।
२०६४ सालमा कैलालीमा आएको बाढीले भुइयाँफाटाको बस्ती अन्त्यै सरेपछि बन्द राष्ट्रिय माविका खाली भवनलाई सदुपयोग गर्दै सशस्त्रको बीओपी राख्न दिइएको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताए। ‘भुइँयाफाटामा सीमा सुरक्षादेखि चोरी डकैती बढी हुने भएकाले. स्थानीय त्रसित थिए’, उनले भने, ‘बीओपी क्याम्प स्थापनाले सरेको बस्ती पुनः बस्ने वातावरण बनेको छ।’ भुइयाँफाटामा क्याम्प स्थापना भएपछि स्थानीय पनि खुशी भएका छन्। दार्चुलालगायत विभिन्न जिल्लामा भारतसँग सीमा विवाद भएपछि सरकारले १ सय १४ ठाउँमा बीओपी राख्ने अनुमती दिएको हो।