पुलिसलाई हराउँदै एपीएफ फाइनलमा

पुलिसलाई हराउँदै एपीएफ फाइनलमा

धनकुटा : एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै विभागीय टोली एपीएफ क्लब धनकुटामा जारी ‘सहिद रिदामाहाङ– रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता’ उपाधि नजिक पुगेको छ। एपीएफ क्लबले बुधबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोलले हरायो।

एपीएफ क्लबले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र रौतहट फुटबल क्लबबीचको विजेतासँग भिडन्त गर्नेछ। बुधबारको खेलमा तीनवटै गोल एपीएफ क्लबका खेलाडीबाट भएको थियो। खेल सुरु भएको ३२औं मिनेटमा एपीएफ क्लबकी मनमाया लिम्बूबाट आत्मघाती गोल भएपछि पुलिस क्लबले अग्रता लिएको थियो। दोस्रो हाफमा एपीएफ क्लबले उत्कृष्ट पुनरागमन गर्‍यो।

दोस्रो हाफको खेल सुरु भएको पहिलो मिनेटमै सावित्रा भण्डारीले दिएको उत्कृष्ट पासमा एपीएफ क्लबकी कप्तानसमेत रहेकी अनिता बस्नेतले गोल गरिन्। ७०औं मिनेटमा राष्ट्रिय टोलीकी भरपर्दी स्ट्राइकरसमेत रहेकी सावित्रा भण्डारीले गोल गर्दै आफ्नो टोलीलाई २–१ को अग्रता दिलाइन्। उनको गरेको गोल नै एपीएफ क्लबको जितका लागि निर्णायक बन्यो।

सावित्रा जारी प्रतियोगितामा ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा रहेकी छन्। खेलका क्रममा एपीएफ क्लबका रेखा पौडेल, अनिता केसी, अनिता बस्नेत र सावित्रा भण्डारीले गरेको दर्जनौं प्रहारलाई पुलिस क्लबकी गोलरक्षक उषा नाथले विफल पारेकी थिइन्। उक्त खेलमा एपीएफ क्लबकी कप्तान अनिता बस्नेत ‘वुमन अफ दी म्याच’ घोषित भइन्। उनलाई सहिद भूमि गाउँपालिका अध्यक्ष मनोज राईले तीन हजार रुपैयाँ र ट्रफी प्रदान गरे।

एपीएफ क्लबका प्रशिक्षक जनक सिंहले पहिलो हाफदेखि नै विपक्षीलाई दबाबमा राखेर खेलेकाले गोल गर्न सफल भएको प्रतिक्रिया दिए। पुलिस क्लबका रोशन कार्कीले खेलमा पराजित भए पनि आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए। बिहीबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र रौतहट फुटबल क्लबबीच हुनेछ। किराँत आठपहरिया समाज नेपाल धनकुटाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.